आकृति डोटेल

बिएससी वातावरण विषय दोस्रो वर्ष पढ्दै गर्दा यही विषय सम्बन्धी काम गर्न पश्चिम नेपालको जिल्लाहरू- कैलाली र सुर्खेत जाने अवर मिल्यो। हुन त मेरो जन्मस्थान काठमाडौंदेखि पश्चिम स्याङ्जा भए पनि कर्णाली र सुदूरपश्चिम जाने मौका भने मिलेको थिएन।

रात्रि बसको टिकट काटेर मेरो यात्रा काठमाडौंदेखि सुदूरपश्चिमतिर सुरु भएको थियो। मनमा कुराहरूको बादल मडराइरहेको थियो। यति लामो यात्रा अनि म! बसमा यात्रा गर्ने धेरै मानिसहरू भए पनि कहाँ जाने भनेर गन्तव्यको टुङ्गो हुँदाहुँदै पनि मेरो मनले भने एक्लोपन महसुस गरिरहेको थियो।

तीन दिनको लगातार वर्षाले गर्दा भएको मुग्लिनको जाम, त्यहीमाथि यो बढ्दो मौसमी गर्मीले मेरो यात्रामा बाधा पारिरहेको थियो। सबै अन्जान मानिसको बीचमा म, अरुबेला यो मुखबाट धेरै शब्दहरू फुटे पनि त्यो दिन भने केही बोल्न सकिरहेको थिइनँ।

मभन्दा अलिक ठूली देखिने एक महिला मसँगै यात्रा गरिरहनु भएको थियो। उहाँसँग संवाद कसरी अगाडि बढाउने भनेर मनमा धेरै कुराहरू खेलिरहेको थियो। यसै बीचमा जामको कारण बस जंगलको बीचमा अडियो।

चारैतिर अँध्यारो र सुनसान, मसँग समय बिताउन‌ छेउमा बसेकी महिलासँग कुराकानी गर्नु बाहेक अरु विकल्प पनि थिएन। अनि हाम्रो सम्वाद आ-आफ्नो परिचयबाट सुरु भयो। दुवैको सोच र कुराहरूको वर्षात यति निरन्तर भयो कि जाम र गर्मीको क्षण बितेको पत्तै भएन। यसरी गफ गरी बिहानी समयमा कैलालीको चिसापानीमा पुगेको थिएँ।

चिसो हावा, मनलाई छुने रमणीय दृश्य, वारि कैलाली र पारि बर्दिया अनि बीचमा कर्णाली। साँच्चीकै मेरो कल्पनाभन्दा बेग्लै सुन्दर सुदूरपश्चिमको दृश्य थियो। महेन्द्र राजमार्गभन्दा तीन/चार किलोमिटर टाढा एउटा गाउँमा मैले पाँच दिन बिताएको थिएँ। राजमार्गको त्यति नजिकको स्थानमा अझै पनि बिजुली, स्वास्थ्य लगायतका विकासका पूर्वाधार भने पर्याप्त थिएनन्। त्यहाँका मानिसहरू धेरै सेवाहरूबाट वञ्चित थिए।

यसैबीच म सुर्खेतको विभिन्न ठाउँहरूमा पनि गएको थिएँ। सबै ठाउँ राम्रो थियो तर सुर्खेतको उत्तरपश्चिम भेगको हरियाली र सुन्दर पहाडहरूले मेरो आँखाको सेरोफेरो रङ्गिएको थियो। पहाडको टुप्पोमा रहेको त्यस ठाउँको बयन गरेर नसकिने सुन्दर थियो।

सहरी परिवेशबाट अन्जान त्यहाँको मानिसहरूको बोलिचाली, भेषभुषा, रहनसहन नै भिन्न थियो। सडको राम्रो सुविधा नभएर होला त्यति उत्कृष्ट ठाउँ पर्यटकीय क्षेत्र बन्नबाट ओझेलमा परेको थियो। त्यही ठाउँमा बस्ने क्रममा नजिकको स्कुलको अतिरिक्त कार्यक्रम अन्तर्गत छाउपडी प्रथाको शीर्षकमा वादविवादको हिस्सा हुने अवसर पाएको थिएँ।

समाजमा लामो समयदेखि चल्दै आएका कतिपय कुप्रथाहरू हट्दै गए पनि हाम्रो देश नेपालको अछाम, बाजुरा, बझाङ, डोटी, दार्चुलालगायत अन्य जिल्लाको ग्रामीण क्षेत्रहरूमा भने छाउपडीले जरा गाढेर बसिरहेको छ।

रजश्वला भएको बेला घरबाट केही टाढा, कसैले छुन नहुने एउटा गोठमा गएर बस्नुपर्ने परम्परालाई छाउपडी भनिन्छ। छाउपडी गोठमा बस्नु पर्ने सो समयमा घरको आँगन, धारो, बाटो टेक्न नहुने, दूध, दही, घ्यू खान नहुने, सामाजिक बन्धन छ।

पहिलो राजस्वला हुने बालिका ११ देखि १५ दिन, अरु केटीले ५ दिन, विवाहित महिलाले ४ दिन, सुत्केरीले ११ दिन बस्ने चलन छ। यसरी घरबाट बाहिर बस्दा जनावरहरूको आक्रमणलगायत बलात्कारको शिकार भएर धेरै महिलाहरूले आफ्नो ज्यान गुमाएका छन्।

यो प्रथा रोक्नको लागि सर्वोच्च अदालतले २०६२, वैशाख १९ गतेको फैसलाले नेपाल सरकारलाई आदेश दिएको थियो। नेपाल सरकारले समेत छाउपडी प्रथा उन्मुलन प्रथा निर्देशिका, २०६४ लागु समेत गरेको छ।

यसरी छाउपडीको अन्त्य जतिसुकै कडा कानुनले पनि गर्न सक्दैन किनकी यो प्रथालाई मानिसहरूले आआफ्नो संसकार, परम्परा र धर्म सम्झिन्छन्। साँच्चीकै छाउपडी हटाउने हो भने त्यस ठाउँका यो छाउपडी कुनै धर्म वा संस्कृतिसँग जोडेर होइन, अन्धविश्वास र कुप्रथा मात्र हो भन्ने चेतना बोध विशेष कार्यक्रम लागु गर्नुपर्छ।

उज्वल भविष्य कोर्न शिक्षाको आवश्यकता भएर विद्यालय आएका स-साना भाइबहिनीहरू अहिलेको डिजिटल प्रविधिहरूबाट टाढा भए पनि छाउपडी निर्मुलन प्रतिको विचार भने अति राम्रो थियो।

म बस्ने घरको छेउमा सानो ढोका नभएको कोठा देखेँ। त्यो के रहेछ भनेर जान्ने जिज्ञासा लाग्यो र प्रश्न गरेँ। जवाफमा छाउघर भएको पाएँ। दिनभरि विद्यालयमा त्यति उत्कृष्ट सोच र भनाइ केवल बोलीमा मात्र सीमित रहेछ। व्यवहारमा भने त्यस गाउँमा अझै अन्त्य भएको थिएन।

यसरी धेरै दिनसम्म त्यही बसेपछि लामो यात्रामा गुड्न लागेको नाइट बसको हर्न बज्यो र अन्य यात्रुहरूसँग म पनि काठमाडौंतिर अगाडि बढेँ। जाँदा जस्तो एक्लो र मनमा डर थिएन। विभिन्न ठाउँको मन चोर्ने दृश्य, भिन्न संसकार संस्कृति, भाषा र धेरै अनुभवहरू बटुलेर सपना जस्तो यात्रा र नहुलो परिभेषको समापन गर्दै आफ्नो पुरानो काठमाडौंको जीवनमा फर्किए।

म भौगोलिक रुपमा जतिसुकै टाढा र अलग हुँदै गए पनि पश्चिम नेपालको प्राकृतिक स्नेहले मलाई बाँधिरहेको हुन्छ।

Facebook Comments Box