माओवादी सम्मेलनमा विगतका कमी कमजोरीको गम्भीर समिक्षा हुने

काठमाडौं, पुस ८ / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस ११ देखि सुरु हुने पार्टीको राष्ट्रिय सम्मेलनमा पेश गर्ने दस्तावेज लेखनको काम अन्तिम चरणमा पुर्याएका छन् । अध्यक्ष प्रचण्ड झण्डै १५ दिनदेखि राष्ट्रिय सम्मेलनमा पेश गर्ने दस्तावेज लेखनमा जुटेका थिए ।

‘फाट्फुट लेख्न सुरु गरेको त १५ दिन जति नै भयो, तर मिहिन ढंगले अघि बढेको तीन चार दिनमात्र भयो’, प्रचण्ड निकट एक स्थायी समिति सदस्यले रातोपाटीसँग भने, ‘बिहीबार बेलुकासम्म अध्यक्षको डकुमेन्ट तयार हुन्छ भन्ने बुझिएको छ ।’ ती सदस्यका अनुसार दस्तावेज लेख्ने काम प्रचण्ड आफैले गरेका छन् । ‘नेता र विज्ञहरुसँग सरसल्लाह र छलफल त हुने नै भयो, तर राइटिङको काम उहाँ आफैले गर्नुभएको छ’, ती सदस्यको भनाइ छ ।
नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माण गर्ने सोचअनुरुप प्रचण्डले दस्तावेज तयार गरेको बुझिएको छ । प्रचण्डले दस्तावेज तयार गरिसकेपछि स्थायी कमिटी बैठकमा छलफल गर्ने माओवादीको तयारी छ । त्यसका लागि शुक्रबार पार्टीको स्थायी कमिटी बैठक बोलाउने तयारी भएको माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।

माओवादी प्रवक्ता कृष्ण बहादुर महराले पुस ११ देखि सुरु हुने सम्मेलनमा विगतका कमी कमजोरीको गम्भीर समिक्षा गर्दै भावी योजना र कार्यक्रम बनाउने जानकारी दिए । ‘सम्मेलनको मुख्य उदेश्य क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माण गर्नु नै हो, त्यसक्रममा हामीबाट विगतमा के के कुरामा कमजोरी हुनपुग्यो र पार्टी यो अवस्थामा पुग्यो गहिरो विश्लेषण हुन्छ’, प्रवक्ता महराको भनाइ छ ।

बिहिबार, ०८ पुष, २०७८, दिउँसोको ०१:५१ बजे

सम्बन्धित खवर