उद्योग नखोल् पार्टी खोल्

तँ उद्योग खोल्लास् ऊ पार्टी खोल्छ
तँ बैंक ऋण लेलास् ऊ चन्दा–फिरौती लिन्छ
तँ मजदुर भर्ना गर्लास् ऊ कार्यकर्ता भर्ना गर्छ
तँँ सामान बनाऊँ भन्लास्, ऊ देशै बनाउँ भन्छ
ए बाबु ! कुरो बुझ है,
उद्योग नखोल्ल् पार्टी खोल् ।

तँ प्रविधि आयात गर्लास् , उ राजनीति आयात गर्छ
तँ नमुना विदेशी सामान देखाउलास्, ऊ नमुना विदेशी नेता देखाउँछ
तँ भएको नीति नियम मानौं भन्लास् ऊ संबिधान नै फेरौं भन्छ
तँ उद्योग बलियो बनाऊँ भन्लास्, ऊ पार्टी बलियो बनाऊँ भन्छ
जनतालाई धनी बन्न कसले दिँदैन ? बुझ हैं,
उद्योग नखोल् पार्टी खोल् ।

तँ कर्तव्यका कुरा गर्लास् उ अधिकारका कुरा गर्छ
तँ काम सिकाउलास्, ऊ सिद्धान्त सिकाउँछ
तँ अनुशासन खोज्लास् उ त्यसमा दमन र दासत्व भेट्छ
तँ व्यक्ति व्यवस्थाका कुरा गर्लास् ऊ राज्य व्यवस्थाका कुरा गर्छ
ए बाबु, घुस र करको चेपुवामा परेर मर्लास् है,
उद्योग नखोल् पार्टी खोल् ।

तँ उत्पादन बढाउँ भन्लास् ऊ आन्दोलन चर्काऊँ भन्छ
तँ काम गर्न बोलाउलास्, ऊ जुलुसमा उफ्रन बोलाउँछ
तँ सामान निर्यात गर्ने भन्लास, ऊ श्रमिक नै निर्यात गर्छ
तँ विदेशीसँग प्रतिस्पर्धा गर्लास्, ऊ विदेशीको चाकडी गर्छ
ए बाबु, जे जे सिद्धान्त पढिस् बिर्सिदे है,
उद्योग नखोल् पार्टी खोल् ।

तँ आफूलाई उद्योगी भन्लास् उ तँलाई गरिबमारा शोषक भन्छ
तँ मानिसलाई क्षमता अनुसार वर्गीकृत गर्लास्, उ सबै समान भन्छ
तँ मजदुरको जात, वर्ग, लिङ्ग विभेद नदेख्लास् उ त्यही मात्रै देख्छ
तँ २०८०, ९० र २१०० का कुरा गर्लास्
ऊ २००७, १७, ३६, ४६ र ६२ का कुरा गर्छ
काम लाग्ने सिद्धान्त सिक्न आमसभामा जाने गर् है बाबु,
जुलुस आन्दोलन र क्रान्तिमा भाग लिन जाने गर है बाबु
उद्योग नखोल् पार्टी खोल् ।

तँ सबैको गाली खालास् ऊ सबैको ताली खान्छ
तँ आफ्नो उद्योगमा ताला देख्लास् उ आफ्नो गलामा माला भेट्छ
तँ टाट उल्टिएलास् ऊ धनाढ्य पल्टिएला
तँ खोरमा पस्लास्, उ दरबारमा पस्छ ।
अनि तेरो बुद्धी फिर्ला–
तँ उसको कार्यकर्ता बन्नै पर्ने अवस्था होला, ऊ तेरो नेता बन्ला
तँ पार्टीको बँधुवा मजदुर बन्लास् ऊ तेरो मुक्तिदाता सामन्त बन्ला
तँ सडक तताउलास्, ऊ कुर्सी तताउला
तँ अज्ञात सहिद बन्लास् ऊ महान नेता बन्ला
जनता गरिब र आफू धनी हुने बाटो हिँड है बाबु,
उद्योग नखोल पार्टी खोल्
भनेको मान है बाबु,
उद्योग नखोल् पार्टी खोल् ।

सोमबार, ०७ पुष, २०७६, बिहानको १०:०५ बजे

सम्बन्धित खवर