बाबुराम भट्टराई मृत भेटिए

  विराटनगर /  मोरङको केराबारी गाउँपालिका–८ का २६ वर्षीय बाबुराम भट्टराई हराएको १२ दिनपछि मृत भेटिएका छन् । उनको शव आइतबार चारकोशे जंगलमा फेला परेको हो ।

खोर्साने केराबारी सडकको आमजुंगी विश्वकर्मा मन्दिरदेखि झण्डै २ किलिमिटर पूर्व देवीझोडा जाने भित्रि सडकदेखि १ किलोमिटर उत्तर चारकोशे जंगलभित्र ढलेको रुखको जराभित्र लुकाई राखेको अवस्थामा शव सडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । भट्टराई गत पौष २७ गतेदेखि हराईरहेका थिए ।

केराबारी भोगटेनी रामपुर चल्ने सार्वजनिक बसमा सहचालक रहेका भट्टराई मच्छिन्द्र मेला लागिरहेको समयमा पुस २८ गते बेलुकादेखि हराएका थिए । उनी सम्पर्कमा नआएपछि हुलियासहित हराएको उजुरी प्रहरीमा दिएको दाजु भुपेन्द्र भट्टराइले बताए ।

पुस २३ देखि २९ सम्म लागेको मच्छिन्द्र मेलामा २८ गते मंगलबार दिउँसोसम्म मेला गएको उनलाई देखेको स्थानीयको भनाइ छ । मेला झगडा भएको र हत्या गरेपछि शव लुकाउन जंगलमा फालेको हुनसक्ने भएकोले प्रहरीले गहन रूपमा अनुसन्धान गरि घटनाको सत्यतथ्य बाहिर ल्याएर दोषिलाई सार्वजनिक गरि कारबाही गरिनुपर्ने आफन्तको माग रहेको छ ।

गाईवस्तु चराउन गएका केराबारी–८ का रामबहादुर खत्री र मनोरथ कोइरालाले दुर्गन्ध आएपछि हेर्न जाँदा कुहिएको अवस्थामा रुखको जराभित्र लुकाई राखेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको प्रकृति हेर्दा उनको हत्या गरी फालिएको हुनसक्ने प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालले बताए । ‘घटनाको सबैकोटबाट अनुसन्धान भइरहेको छ,’ उनले भने ।

सोमबार, १० माघ, २०७८, साँझको ०५:३४ बजे

सम्बन्धित खवर