नेपाली चलचित्रको बजार हिन्दी फ्ल्मिले खाएको गुनासो

दमक/ चलचित्र निर्माता तथा हास्य कलाकारहरुले नेपाली चलचित्रको बजार हिन्दी फ्ल्मिले खाएको गुनासो गरेका छन् । हास्य कलाकारहरु किरण केसी र शिवहरी पौड्यालले नेपालका चलचित्र हलहरुमा हिन्दी चलचित्रले बजार लिएपछि नेपाली चलचित्र छायाँमा पर्ने गरेको गुनासो पोखेका हुन् ।
हास्य कलाकार शिवहरी पौड्यालको डेब्यू निर्देशनमा बनेको फिल्म ‘लक्का जवान’ को प्रचारमा शनिवार दमक आइपुगेका केसी र पौड्यालले वैशाख २३ गतेबाट प्रदर्शन हुने बताउँदै ‘लक्का जवान’ को प्रचार प्रसारमा हिँडिरहेकोले प्रचारात्मक सहयोग गरिदिन संचारकर्मीलाइ आग्रह गरेका छन् ।
उनीहरुले यो चलचित्रले नेपाली माटोको मायाँ बोलेको र पारिवारिक भएकाले आगामी दशवर्षसम्मपनि पुरानो नहुँने दावी गरे । फिल्ममा पारिवारिक कथालाई ४० बढी कलाकारहरुको व्यंग्यात्मक रूपमा प्रस्तुत रहेको छ, निर्देशक पौड्यालले भने ।
दमकको पाथीभरा चलचित्र मन्दिर परिसरमा भएको पत्रकार भेटघाट कार्यक्रममा कलाकारले हिन्दी चलचित्रले नेपाली चलचित्रको बजार विस्थापित गरिरहेकोले हल सञ्चालकहरुपनि गम्भिर बन्नुपर्ने भनेपछि पाथीभरा चलचित्र मन्दिर सञ्चालक चैतन्य बराल कलाकारतिरै फर्किए । उनले भने– ‘शुरु शुरुमा हल चर्चामा ल्याउन कलाकारहरुले नै हिन्दी चलचित्र चलाउन सल्लाह दिने अनि अहिले समस्या आएपछि हल सञ्चालकलाई दोष थोपर्न पाइन्छ र ? हाम्रो त ब्यापार हो, बजारमा टमाटर किन्न आउनेलाई आलु देखाएर ब्यापार हुन्छ र ? उनले प्रतिप्रश्न गरे । कलाकारकै कमजोरीका कारण नेपाली चलचित्रको बजार विग्रिएको बरालको बुझाई छ ।
दुईकरोडबढी लगानी भएको फिल्ममा प्रियंका कार्की, दिलिप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, शिवहरी पौड्यालको मुख्य भूमिका छ भने अन्य कलाकार सुरेन्द्र केसी, दिवंगत जयनन्द लामा, सरोज खनाल, अन्सुया श्रेष्ठ, सावित्री गुरुङ, अन्जु महर्जन, नरेन्द्र कंशाकर लगायतका कलाकारको पनि अभिनय रहेको छ ।
निर्देशक पौड्यालकै कथा र पटकथामा रहेको फिल्मलाई अन्सुया श्रेष्ठले निर्माण गरेकी हुन् । पुरुषोत्तम प्रधानले छायांकन गरेको फिल्ममा धुर्व वन्तको प्रस्तुति रहेको छ भने आमा बंगलामुखी फिल्म्सको ब्यानरमा बनेको हो ।

आइतबार, ११ बैशाख, २०७९, बिहानको ०६:५२ बजे

सम्बन्धित खवर