८७ प्रकारका मतपत्र प्रयोगमा ल्याइने

 दमक /   निर्वाचन आयोगले ८७ प्रकारका मतपत्र प्रयोगमा ल्याइने जनाएको छ। प्रमुख आयुक्त दिनेश कुमार थपलियाले हरेक जिल्लामा फरक फरक मतपत्र हुने जानकारी दिए।

“७७ जिल्लाका ७७ किसिमका मतपत्र हुन्छन् र काठमाण्डू उपत्यका भित्रका भक्तपुरका चार वटा नगरपालिका सहित ६ वटा महानगरपालिकाको १७ गते उम्मेदवारीको अन्तिम नामावली प्रकाशित गरेपछि त्यसलाई प्रिन्ट गरेर पठाउने तयारी आयोगले गरेको छ,” थपलियाले भने।

आयोगले उम्मेदवारको टुङ्गो लागिसकेपछि मात्रै मतपत्र प्रकाशन गरेर सबै स्थानीय तहमा पठाउन सम्भव नभएको दाबी गर्दै उम्मेदवार नै नभएका चिन्ह समेत मतपत्रमा रहन सक्ने जनाएको छ। निर्वाचन सुरक्षाका लागि एक लाख म्यादी प्रहरी भर्ना गरिएको छ। त्यस बाहेक सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट थप एक लाख ६८ हजार जनशक्ति निर्वाचन प्रयोजनका लागि परिचालन हुने बताइएको छ।

अघिल्लो पटक विसं २०७४ सालमा तीन चरणमा गरिएको स्थानीय तह निर्वाचन यो पटक देशैभरि एकै चरणमा हुन लागेको छ। चुनावका लागि त्यसको अघिल्लो दिनसम्म १८ वर्ष पूरा भएका एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहेका छन्। तीमध्ये ८७ लाख ४१ हजार ५३० जना महिला, ८९ लाख ९२ हजार १० जना पुरुष र १८३ जना अन्य मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ।

मतदानमा सहभागी हुन निर्वाचन आयोगले जारी गरेको मतदाता परिचयपत्र अनिवार्य गरिएको छ। मतदाता नामावलीमा दर्ता भएका नागरिकले निर्वाचनको दुई दिन अघिबाट मतदान केन्द्रहरूमा आफ्नो परिचयपत्र लिन सक्ने आयोगले जनाएको छ। सात प्रदेशका कुल ७५३ स्थानीय तहअन्तर्गत छ महानगर, ११ उपमहानगर, २७६ नगरपालिका तथा ४६० वटा गाउँपालिकामा ४० हजारभन्दा बढी जनप्रतिनिधि चुनिनेछन्।

निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको दफा ३६ मा स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदानप्राप्त संस्थामा सुविधा प्राप्त गर्ने गरी बहाल रहेको निर्वाचित वा मनोनीत पदाधिकारीले उम्मेदवारको मनोनयन दर्ता गर्नु अगावै पदबाट राजीनामा गर्नुपर्ने प्रावधान छ।

आइतबार, ११ बैशाख, २०७९, बिहानको ०७:२० बजे

सम्बन्धित खवर