गौरीगञ्जमा ४६ करोड बजेट पारित

असार १०, दमक/  झापाको गौरीगञ्ज गाउँपालिकाको नवौं गाउँ सभाले आगामी बर्षको नीति र बजेट पारित गरेको छ ।
शुक्रबार गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठको अध्यक्षतामा शुरु भएको सभाले गाउँपालिका उपाध्यक्ष दिपिन्द्र थापाद्धारा प्रस्तुत कूल ४६ करोड बढीको बजेट तथा नीति पारित गरेको हो ।
गाउँ सभामा प्रस्तुत नीति र ४६ करोड भन्दा बढीको बजेट दिनभरको छलफल पश्चात पारित भएको हो भने कार्यक्रमहरुका बिषयमा गाउँ सभा सदस्यहरुबीच छलफल जारी रहने बताइएको छ । बजेट तथा नीतिमा गाउँपालिकाका सभासदहरुले व्यापक छलफल गरी पारित गर्नुभएको छ, प्रस्तावित कार्यक्रमहरु भने संशोधनका लागि छलफल जारी रहनेछ – गाउँपालिकाका योजना अधिकृत चँदराले निष्कर्ष न्यूजसंग भने असार १७ गते बस्ने गाउँ सभा बैठकले त्यसबारे अन्तिम निर्णय लिनेछ । गाउँपालिका अन्तर्गतका ६ वटै वडाहरुको सिलिङ बजेट समेत पारित भएको छ । जस अनुसार वडा नं १ ले सबैभन्दा धेरै कूल ८० लाख रुपैयाँ बजेट पाउन सफल भएको छ भने वडा नं २ ले ७२ लाख, वडा नं ३ र ६ ले ६४÷६४ लाख र ४ तथा ५ नम्बर वडाले ६०/६० लाख रुपैयाँका दरले बजेट पाएका छन ।

कालोपत्रे सडक निर्माणमा जोड
यसैबीच पूर्वाधार विकास सम्बन्धिको विद्यमान नीतिमा आशिंक परिवर्तन गर्दै सडक बिकासका लागि निश्चित मापदण्ड तय गर्ने नीति लिएको छ ।
गाउँपालिकाले गाउँपालिकाको आफ्नैै श्रोतमा निर्माण हुन सक्ने सडकहरुमा जनसहभागिता समेत जुटाएर प्राथमिकताका आधारमा कालोपत्रे सडक निर्माणमा जोड दिने नीति लिएको हो । सडक कालोपत्रेका लागि गाउँपालिका भित्रका सडक अब कम्तीमा ४० फिट चौडाई, स्तरोन्नतीका लागि ३० फिट र ग्राभेलका लागि न्यूनतम २० फिट चौडाई कार्यान्वयन गराउने गाउँपालिकाको आज ( बिहिबार) शुरु भएको नवौं अधिवेशनमा प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ ।
त्यसैगरी गाउँपालिकाले उपभोक्ता समितिबाट सञ्चालन गरिने पूर्वाधार विकास योजनाको निर्माणमा उपभोक्ता समितिसँग न्यूनतम् दश प्रतिशत नगद सहभागिता अनिवार्य गर्ने पनि नीति लिएको छ । सरकारी कार्यालय, मसानघाट, सामुदायिक भवन, मठमन्दिर, महाराजथान, गुम्बा, चर्च, मस्जिद र विद्यालयको भौतिक पूर्वाधार निर्माणमा भने नगद सहभागिता अनिवार्य गरिएको छैन । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका उपाध्यक्ष दिपेन्द्र थापाले गाउँपालिकाको विकासको मेरुदण्डको रुपमा रहेको हुलाकी सडक निर्माण र सो सडकमा रहेका पुल, कल्भर्ट लगायतका पूर्वाधार निर्माण कार्यलाई निर्धारित समय भित्रै सम्पन्न गर्न सम्बन्धित निकायमा पहल गरिने बताए । हुलाकी सडकको मापदण्ड अनुसारको चौडाई कायम गर्न गाउँपालिकाले प्रत्यक्ष सहयोग गर्ने नीति लिइएको पनि उनले बताए ।
विगतमा स्तरोन्नति भइसकेका र लामो दुरीका सडकहरुलाई कालोपत्रेको लागि प्रदेश सरकार र नेपाल सरकारसँग आवश्यक पहल गरिनेछ ।
कच्ची सडकहरुमा प्राथमिकताका आधारमा क्रमशः ग्राभेल विछ्याउने, विगतमा वनेका ग्राभेल सडकको प्राथमिकताका आधारमा क्रमशः स्तरोन्नति गर्दै लैजाने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । उपभोक्ता समिति गठन भएको १५ (पन्ध्र) दिनभित्र सम्झौता गरिसक्नु पर्ने र सो समयसीमाभित्र सम्झौता नभएमा वैकल्पिक उपायहरुबाट योजना कार्यान्वयन गरिने पनि उल्लेख गरिएको छ
तीन लाखभन्दा बढीको लागत अनुमान भएको योजना सञ्चालन गर्दा आयोजना स्थलमा आयोजना सूचना पाटी (होडिंग बोर्ड) अनिवार्य राख्नुपर्ने व्यवस्था पनि गाउँपालिकाले गरेको गाउँपालिकाका योजना अधिकृत नारायण प्रसाद चँदराले जानकारी दिए ।

बिहिबार, १० असार, २०७८, रातीको १०:१४ बजे

सम्बन्धित खवर