पत्रकारिता हतारको लतरपतर होइन

मोहन मैनाली

मोहन मैनाली

“पत्रकारिता हतारको साहित्य हो ।”

पत्रकारिताका किताबमा कुनै बेला लेखिएको यो वाक्य कुन प्रसङ्गमा लेखियो, यसको मर्म के हो भनेर नबुझ्दा अथवा बुझाउने जाँगर नहुँदा पत्रकारिता भ्रमित हुनपुगेको छ । यो वाक्य घटना-प्रधान समाचारको प्रकृतिलाई बुझाउन लेखिएको हुनुपर्छ । तर हामीले समग्र पत्रकारिता नै हतारको साहित्य हो भनेर बुझ्याैँ ।

“हतारको साहित्य” का दुईवटा खराबी हुन्छन् । पहिलो, हतार भएकाले जानकारी खोज्दा गहिराइमा पुग्न भ्याइँदैन । दोस्रो, हतार भएकाले राम्रोसँग लेख्न वा प्रस्तुत गर्न भ्याइँदैन । राम्रोसँग खोज्न नभ्याएका जानकारी राम्रोसँग लेख्न नभ्याएपछि पत्रकारिता सिधै नरकमा जाने भइहाल्यो । कुनै बेला, घटना-प्रधान समाचार दिनु पत्रकारिताको महत्वपूर्ण कर्तव्य हुन्थ्यो किनभने त्यति बेला सञ्चारका अरु माध्यम थिएनन् । अहिले, सामान्य खालको मोबाइल छापाखाना पनि हो किनभने यसले प्रेसले कागजमा छापे जस्तैगरी सामग्री स्क्रिनमा छाप्न सक्छ, छिनमै समाचार दुनिया सामु पुर्‍याउन सक्छ । छिनमै दुनियासामु पुर्‍याउने काम प्रेसले गर्न सक्दैनथ्यो । त्यसैले यो उत्तम खालको प्रेस हो । यस्तो मोबाइलले रेडियो र टिभिले जस्तै गरी अडियो र भिडियो प्रसार गर्न सक्छ । मोबाइल फोन हुने मानिसले आप्mना कुरा संसारका जुनसुकै कुनामा बसेका असङ्ख्य मानिससम्म पुर्‍याउन सक्छ ।
यसको अर्थ के हो भने हामीले जेलाई पत्रकारिताको महत्वपूर्ण काम भनेर मानिआएका थियौँ, त्यो अव हाम्रो मात्र एकाधिकार रहेन । घटना-प्रधान समाचार हामीले भन्दा चाँडो अरुले छाप्न सक्छन्, प्रसार गर्न सक्छन् । यसको अर्को सोझो अर्थ हो, पत्रकार हुन अब घटना-प्रधान समाचार लेखेर मात्रै पुग्दैन, फिचर त्यसमाथि पनि
खोजमूलक फिचर नलेखी हुँदैन । सौभाग्यको कुरा के छ भने यो काम सजिलो छ किनभने यसका लागि दुईवटा मात्रै काम गरे पुग्छ (अरु कुनै पनि पेशामा दुईवटा मात्रै काम गरेर पुग्दैन) । पहिलो, आफूले जे विषयमा लेख्न वा अडियो वा अडियो भिजुयल सामग्री बनाउन लागेको हो त्यस विषयमा पोख्त हुनु ।दोस्रो, प्रस्तुति कलामा निपुण हुनु ।
पत्रकारिता हतारको लतरपतर होइन ।

“आजभोलि म पत्रकारिता कसरी गर्ने भनेर भन्दिनँ, पत्रकारिता किन गर्ने भनेर भन्छु, ” नेपाली टाइम्सका सम्पादक, काठमाडौँ विश्वविद्यालयमा लामो समय पत्रकारिता पढाउनु भएका कुन्द दीक्षितले एउटा प्रसङ्गमा भन्नुभएको थियो । उहाँका विचारमा पत्रकारिता किन गर्ने भनेर पत्रकारलाई बुझाउन सकियो भने कसरी गर्ने भन्ने
कुरा उसले खोजी खोजी सिक्छ । पत्रकारिता किन गर्ने भन्ने कुरा जानेन भने पत्रकारिता यसरी गर्ने भनेर जति सिकाए पनि उसले त्यो कुरा लिँदैन किनभने उसलाई त्यो सीप चाहिन्छ जस्तै लाग्दैन । धेरै वर्ष पत्रकारिताको तालिम दिँदा दिँदा, पत्रकारलाई लेख्न सिकाउँदा सिकाउँदा पनि कसै कसैले बाहेक अरुले नसिकेको देखेर निराश भएको मलाई कुन्द दीक्षितको कुरा घत पर्‍यो । अनि लाग्यो— उसलाई पत्रकारिता किन गर्नुपर्छ भन्ने जसलाई थाहा थियो उनीहरूले मैले दिएको तालिमबाट केही न केही कुरा सिके । मैले अथवा अरु कसैले तालिम नदिएको भए पनि उनीहरूले त्यति कुरा सिक्ने थिए । त्यसरी सिक्दा उनीहरूले अलि बढी दुःख गर्नुपथ्र्यो होला, त्यो बेग्लै कुरा हो । जसलाई पत्रकारिता किन गर्नुपर्छ भन्ने थाहा थिएन अथवा थाहा भएरपनि आफूले पत्रकारिता त्यसका लागि गरेको होइन भन्नेमा दृढ विश्वास थियो उनीहरूले सिकेनन् । त्यसैले यहाँ
म पत्रकारिता किन गर्नुपर्छ भन्नेबारे आफूले पढ्दा, तालिम लिँदा र पत्रकारिता गर्दा अनुभवले सिकेका केही कुरा छोटकरीमा बताउँछु ।
मैले कलेजमा ‘एन इन्ट्रोडक्सन टु मास कम्युनिकेशन’ नामक किताब पढेको थिएँ । त्यसमा पत्रकारले गर्नुपर्ने कामबारे पनि लेखिएको थियो । ती काम यसप्रकार थिए-

१. सरकारी पदाधिकारीले गरेका राम्रा र नराम्रा कामबारे रिपोर्ट तयार गर्नु । यहाँ ‘राम्रा र नराम्रा काम’ भन्ने वाक्यांशलाई ध्यान दिनु जरुरी छ । मन परेका, आपूmलाई सहयोग गरेका मानिसको राम्रो मात्रै र आपूmलाई मन नपरेका, आफूलाई विज्ञापन नदिनेका नराम्रो मात्रै रिपोर्टिङ गर्ने होइन ।
२. आफ्नाे जीवन सपार्न पाए हुन्थ्यो भनी चाहने अल्पसङ्ख्यकलगायत सबै मानिसका चाहनाबारे बताउनु । यसो गर्नु भनेको ती मानिसका आकाङ्क्षा कसरी पूरा हुनसक्छन् भन्नेबारे बताउनु हो, त्यसो हुन के के कुराले बाधा खडा गरेका छन् भन्ने कुराको रिपोर्ट गर्नु हो, त्यसका लागि सरकारी निकायले केकसो गर्नु पर्ने हो भनी
बताउनु हो । जसले जे काम गर्नु पर्ने हो त्यो काम गरेका छन् कि छैनन् भनेर खबरदारी गर्नु हो ।

३. असामाजिक समूह र व्यक्तिका गतिविधि उदाङ्गो पार्नु । यो भनेको सरकारी निकायमा भएगरेका भ्रष्टाचार, निजी क्षेत्रबाट हुने उपभोक्ता विरोधी गतिविधि आदिबारे रिपोर्ट गर्नु हो ।
४. देशको शैक्षिक अवस्था सुधार्न समाज, प्रदेश र राष्ट्रलाई झकझक्याउनु । हाम्रो सन्दर्भमा यसको अर्थ हुन्छः शैक्षिक अवस्था सुधार्न हामीले पहिले गरेका राम्रा काम निरन्तर हुने र पहिले नभएका तर गर्नैपर्ने काम हुने वातावरण तयार गर्न रिपोर्टिङ गर्नु हो ।
५. वातावरण सुधार्न समुदाय, प्रदेश र राष्ट्रलाई झक्झक्याउनु । संसारभरको यो ठूलो समस्याबारे हामीले दिनुपर्ने जति ध्यान दिएका छैनौँ ।

त्यो किताबमा भनिएको थियो, आमसञ्चारका साधन अचानक बन्द भए भने हाम्रो मानव सभ्यता चकनाचुर हुन्छ । यो वाक्यले हामीलाई यस्तो सोच्न लगाउँछः मैले गरेका काम नगरिएका भए कसैलाई केही हानि हुन्थ्यो कि हुँदैनथ्यो ? मलाई के लाग्छ भने व्यक्तिगत स्वार्थमा लिप्त, असक्षम राजनीतिक दलका आन्तरिक र दुई वा दुईभन्दा दलबीचका झगडाबारे रिपोर्टिङ नगर्दा कसैलाई केही घाटा हुँदैन । तर हामी यस्ता काम गरिरहेका हुन्छौँ— के के न काम गरेझै गरेर ।

यस सन्दर्भमा दशवर्ष जति पहिले नेपालगञ्जमा आयोजित पत्रकार तालिम कार्यक्रम राजनीतिक दलका एकजना नेताले भनेको सम्झन्छुः पुल उद्घाटन गर्न आएको राजनीतिक नेताले आपसी झगडाका कुरा गर्‍यो भने त्यसलाई तपाईँहरूले प्रचारप्रसार नगरिदिनुस् न, भोलिपल्टदेखि उसले विषयसँग सम्बन्धित कुरा मात्र गर्छ । यसबाट
के देखिन्छ भने हामी पत्रकार राजनीतिक दलको घिनलाग्दो झगडामा घिउ थपिरहेका छौँ । पत्रकारिता गर्ने क्रममा मैले थाहा पाएको एउटा कुरा के हो भने हाम्रा अडियन्सले दुईवटा कुरा जान्न चाहेका हुन्छन्ः (१) आफूले जान्नैपर्ने कुरा अर्थात् आफ्ना आवश्यकता पूरा गर्ने कुरा, (२) जान्नु नपर्ने तर खसखस मेटाउने कुरा । आफ्नाे ठाउँकी महिलालाई सुत्केरीसम्बन्धी बेथा लाग्यो, बच्चा आफ्नाे जन्मिएन र आफ्नाे गाउँठाउँमा त्यसको उपचार उपलब्ध छैन भने कसलाई गुहार्नुपर्छ भन्ने कुरा हामी पत्रकारले मानिसलाई बताउनुपर्छ किनभने यो कुरा थाहा नपाउँदा सुत्केरी महिलाको ज्यान जानसक्छ । यो पहिलो किसिमको जानकारी हो । कुनै हिरो अथवा हिरोइनको बिहे कहिले हुन लागेको छ भन्ने जानकारी दोस्रो किसिमको हो । यस्तो कुरा थाहा नपाउँदा हाम्रा अडियन्सलाई खासै क्षति पुग्दैन । कुनै हिरो अथवा हिरोइनको बिहे हुन लाग्दा हाम्रा अडियन्सले बिहेमा जान कोट सिलाउनु, साडी किन्नु अथवा धोइधाइ गरेर टिलिक्क पार्नु पर्दैन, गोडधुवा ठीक पार्नुपर्दैन । तैपनि हाम्रा अडियन्स यस्तो कुरा जान्न आपूmलाई नभई नहुने जानकारी लिनमा भन्दा बढी रुचि राख्छन् । उनीहरूको यो रुचिको सम्मान गर्नुपर्छ तर पहिलो र दोस्रो खालको जानकारी बिचमा राम्रो सन्तुलन राख्नुपर्छ । अर्थात्, मानिसका समस्या, ती समस्या समाधान गर्नुपर्ने मानिसले काम नगरेका, भ्रष्टाचार गरेका कुहामीले रा जोडसँग उठाउनुपर्छ । स्कूलमा पढाइ हुँदैन, अस्पतालमा उपचार हुँदैन, खानेपानी लिन दुईघण्टा हिँड्नुपर्छ, बजारमा पाइने खानेकुरा खाइसक्नु छैन भन्ने जस्ता समस्याबारे हामीले थाहा पाउनुपर्छ र रिपोर्टिङ गर्नुपर्छ ।

तर हामी पत्रकार यस्ता कुरा कम थाहा पाउने गर्छौँ । कुनै जय नेपाल दाइ वा लाल सलाम कमरेडका कुरा भने सजिलै थाहा पाउँछौँ । नोबेल पुरस्कार विजेता लोकगायक बब ड्यालनले लेखेको एउटा गीतले समाजलाई सोधेको छः माथि कति पटक हेरेपछि मात्रै तिमीले त्यहाँ आकाश रहेछ भन्ने थाहा पाउँछौ ? कतिवटा कान भएपछि
मात्रै तिमीले जनताका पीडा सुन्छौ ? कति मानिस मरिसेकपछि मात्रै मान्छे मरेको कुरा तिमीले थाहा पाउँछौ ? मलाई लाग्छ बब ड्यालनले यी प्रश्न हामी पत्रकारलाई सोधेका हुन् । हामीले ती गायकलाई भन्न सक्नुपर्छः एकचोटि मुन्टो ठाडो पारेर हेर्ने बित्तिकै माथि आकाश रहेछ भन्ने कुरा थाहा पाउँछु । जनताका पीडाबारे थाहा पाउन मसँग भएका दुईवटा कान पर्याप्त छन् । एकजना पनि मानिस अकालमा मरे (यसरी मर्ने सबैको रेकर्ड जिल्ला प्रहरी कार्यालयमा हुँदैन किनभने ती खान नपाएर, औषधोपचार नपाएर मरेका हुन्छन् जसलाई हाम्रो समाज र सरकारले अकालमा मरेको ठान्दैन) भने त्यो कुरा म थाहा पाउँछु । पत्यार लागेन भने मैले यो यो विषयमा गरेका रिपोर्टिङ हेर । अनि भन्न सक्नुपर्छः ती विषयलाई मैले मन छुने तरिकाले प्रस्तुत गर्ने गरेको छु । नपत्याए मैले यो यो विषयमा गरेका रिपोर्टिङ कति मन छुने छन् भनी आफैजाँच गर ।

शुक्रबार, ०८ असोज, २०७८, दिउँसोको १२:१४ बजे

सम्बन्धित खवर