जलवायु परिवर्तनले किसानका खुट्टामा ठेस

 मोरङ, ८ असोज /  जलवायु परिवर्तनका कारण किसान मारमा परेको गुनासो बढ्दै गएको छ । मोरङको रतुवामाई नगरपालिका, गोठेडाँडाका लेखनाथ बराललाई  धान र तरकारीका बालीमा दिनानुदिन समस्या थपिएको अनुभव छ । ‘कुनै वर्ष पानी नै कम पर्छ, त्यो बेला खेत सुक्खा भएर धान खेतीमा असर पर्ने भइहाल्यो । तर यो वर्ष जस्तै कुनै वर्ष चाहिं बढी पानी पर्छ’ बराल सुनाउँछन्, ‘तर, बढी पानी पर्दैमा धान बढी फल्ने चाहिं नहुँदोरहेछ । बोट (पराल) चाहिं अग्लाअग्ला हुने तर फल (बाला) थोरै लाग्छ ।’

समयमै सम्बोधन गर्न सकिएन भने जलवायु परिवर्तन नेपालको बहुआयामिक गरिबीको एक कारक बन्न सक्छ ।
त्यस्तै अनपेक्षित रूपमा कम वा बढी वर्षा हुँदा भिन्डी, काँक्रो, बोडी र घिरौंला जस्ता तरकारीको गुणस्तर र रङ बदलिएको उनी सुनाउँछन् । बरालका भनाइमा, हिउँदमा खेती गर्ने काउली र बन्दा जस्ता तरकारीका फलको आकार पछिल्लो वर्ष सानोभन्दा सानो हुँदै गइरहेको छ ।

के यी सबै जलवायु परिवर्तनकै असर हुन् त भन्ने प्रश्नमा ६५ वर्षे बराल भन्छन्, ‘पहिलाको अनुभवका आधारमा तुलना गरेर बताउँदैछु । तापक्रम बढेको अनुभूतिसँगै यस्ता समस्या देखिएका छन् । यी सबै हामीले भोगेका कुरा हुन् ।’

उता, तेह्रथुमको आठराई गाउँपालिका, पुरानागाउँका गोपाल ढुङ्गेल गाउँका व्यावसायिक किसानमध्ये एक हुन् । उनका बारीमा सुन्तला र कागती मात्र होइन लिची जस्ता नेपालमा कमै मात्रामा खेती हुने फलफूल र पूर्वी पहाडको पहिचान बनेको अलैंची तथा अदुवाका बोट पनि प्रशस्तै छन् । ‘तर अचेल गर्मी बढेको छ, माटोको सुक्खापन बढेको छ, सिंचाइ पनि छैन’ ढुङ्गेल भन्छन्, ‘अलैंचीका कतिपय बोट फल नदिंदै मर्छन् भने अदुवा पनि छिट्टै कुहिने गरेको देखिएको छ ।’ ढुङ्गेलको बुझाइमा यी सबै जलवायु परिवर्तनकै असर हुन् ।

हिमाली जिल्ला रसुवामा खासै धान खेती हुँदैन, तर जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने र समुद्री सतहबाट करीबकरीब काठमाडौंको उचाइमा रहेको कालिका गाउँपालिकामा भने केही मात्रामा धान फल्छ । यहाँको कटुन्जे गाउँका खेमराज न्यौपानेका अनुसार पछिल्लो समय भने धान खेतीमा नयाँ नयाँ समस्या थपिएका छन् ।

न्यौपाने भन्छन्, ‘कहिल्यै नदेखेका, नसुनेका रोगले रैथाने धानका बोट मर्न थाले, अनि हामीले ‘हाइब्रिड’ (स्थानीय र आगन्तुक जातको मिश्रण) जातका धान रोप्न लाग्यौं, तर तिनलाई विष अनिवार्य हाल्नैपर्ने रहेछ । अलि पछि त स्थानीय जात क्रमशः हराएर गए ।’

बालीनालीको कुरै छाडौं, अब त पशुलाई खुवाउने घाँसमा पनि औषधि हाल्नु अनिवार्य जस्तो भइसक्यो भन्ने अनुभव छ न्यौपानेको । ‘तर विकासे घाँस खाएका पशुका पेटमा अनेक कीरा उब्जने रहेछन् । त्यसले गर्दा दूध कम हुन्छ ।’

कृषिविद् ठाकुरका अनुसार जलवायु परिवर्तनका कारण मान्छेको खाद्यान्नमा झैं पशुले खाने घाँसको पनि पोषण र गुणस्तरमा प्रभाव पर्नु सामान्य हो । ‘फलतः दूधदेखि मासुसम्मका पशुजन्य उत्पादनमा असर पर्छ ।’

शुक्रबार, ०८ असोज, २०७८, दिउँसोको १२:३० बजे

सम्बन्धित खवर