पूर्वी नाकाबाट खुलेआम तस्करी

मोरङ, मंसिर ९/ मोरङको पूर्वीदक्षिणी क्षेत्रको नेपाल भारतको सीमा नाकाहरूबाट खुलेआम तस्करी भइरहेको पाइएको छ ।

नेपाल र भारतको सीमा नाका नजिक सुनवर्षी नगरपालिकाको सिक्टी, बडरंगा, रतुवामाई नगरपालिकाको महादेवा, रंगेली नगरपालिको चेतरा र धनपालथान गाउँपालिकाको मायागन्ज नाकाबाट रातको ११ बजेपछि तस्करहरुको लस्कर लाक्ष्ने गरेको छ ।

प्रहरीको संरक्षणमा तस्करसँग मिलेमतो गरि मोरङको नोचा नाकाबाट तस्करीजन्य गतिबिधी सञ्चालन भएको हाम्रोमतले सार्वजनिक गरेपछि प्रहरी नेतृत्व केहि सचेत बनेको थियो । प्रदेश प्रहरी प्रमुख र मोरङ प्रहरी प्रमुखलाई मासिक नजराना बुझाएर तस्करी धन्दा सञ्चालन गरेको तस्करहरुले बताइरँदा प्रहरीले केहि समय सीमा नाकामा कडाई गरेको थियो ।

तर, अहिले सिक्टी, बडरङ्गा, मायागन्ज, महादेवा नाकाबाट मध्यरातमा तस्करी खुलेआम तस्करीको धन्दा सञ्चालन भइहरेको स्थानीयले बताएका छन् । सो नाकाहरूबाट भारततर्फ हरियो मटर तस्करी गरि ट्रयाक्टर, मोटरसाइकल र साइकलमा जाने गरेको छ । भारतदेखि भने लत्ताकपडा, खाद्यान्न र किरानाको सामानहरू तस्करी भई आउने गरेको छ ।

चाडपर्व सकिएलगत्तै प्रहरीसँगको सेटिङ्ग मिलाएर तस्करीको लाइन चलेको स्थानीय बताउँछन् । केही दिन अगाडि मोरङ प्रहरीको सादा पोशकमा खटिएको प्रहरी टोलीले दिलीप सहनीले तस्करी गरि ल्याएकोे ८ लाख रुपैयाँभन्दा माथिको पटाका र खाद्य सामाग्री बरामद गरेको थियो ।

प्रहरीले तस्करीको सामान समाएपछि लगानी डुबेको बताउने साहसहित पञ्कज साह, मिथुन यादवलगायतको समूहले अहिले तस्करीलाई खुलेआम चलाउन थालेको छ । समान पक्राउपछि प्रहरीले उनीहरुले सेटिङ मिलाएको स्थानीयले बताएका छन् ।

‘नेपाली नम्बर प्लेटको एउटा मोटसाइकलमा तीन बोरासम्म हरियो मटर राखेर भारततिर तस्करी गरि लैजाने गरेका छन्,’ सिक्टीका एकजना प्रत्यक्षदर्शीले भने, ‘भारततिरदेखि सोही नम्बर प्लेटको मोटसाइकलमा किराना पसलको सामाग्री र खाद्यबस्तु ल्याउने गरिएको छ ।’ यसरी मोटरसाइकलमा सिक्टी, बरडंगा, महादेवा र मायागन्जबाट तस्करी गरि वारिपारी अवैध सामान कटाउने गिरोह सक्रिय छन् ।

अवैध सामान बोक्नेलाई तस्करको समूहले निश्चित रकम दिने गरेको छ । एक पटक मोटसाइकलमा नेपालबाट भारत र भारतदेखि नेपाल ल्याएको ८ सयदेखि १ हजार रूपैयाँसम्म पैसा दिने गरेको स्रोतको दाबी छ । एक रातमा उनीहरूले २ देखि तीन पटकसम्म तस्करीको सामान ओसारपसार गर्दछन् ।

तस्करी हुने सिक्टी, बरडंगा, महादेवा, मायागञ्ज नाकाहरूमा सशस्त्र प्रहरीको चार वटा बिओपी र नेपाल प्रहरीको चौकी छ । तस्कर समूहले सेटिङ्ग मिलाएर तस्करीजन्य गतिविधीहरू हुने गरेका बताएको छ ।

मङ्गलबार, ०९ मंसिर, २०७७, बिहानको ०८:५० बजे

सम्बन्धित खवर