नेकपा माओवादी केन्द्र प्रदेश १ पदाधिकारीको पृष्ठभूमि

 विराटनगर /  नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीको अध्यक्षसहित पदाधिकारीमा विजयी हासिल गरेका अधिकांश नेताहरु जनमुक्ति सेनाका पूर्व कमाण्डर र घाइते योद्धाहरु हुन् ।

भारी मत (१६९)का साथ अध्यक्षमा विजयी पाँचथरका हर्कबहादुर नेम्वाङ (मिक्सो) आफैं जनयुद्धका एक सशक्त कमाण्डर र घाइते योद्धा हुन् । उनी ओखलढुंगाको रुम्जाटार विमानस्थल आक्रमणका क्रममा घाइते भएका थिए । उनलाई खुट्टामा गोली लागेको थियो ।

जनयुद्ध उत्कर्षमा पुगेका बेला २०५९ कात्तिक १६ गते माओवादीको ओखलढुङ्गाको रुम्जाटार विमानस्थलमा आक्रमण गरेको थियो । आक्रमणका लागि एउटा एसल्टको नेतृत्व नेम्वाङले गरेका थिए । दक्षिणतर्फबाट नेम्वाङ नेतृत्वको एसल्ट अघि बढ्यो । बाहिरी घेरा पन्साएर सैनिक क्याम्पको मुख्य बङ्करमा आक्रमण गर्दा नेम्वाङको नेतृत्वका चार जना लडाकु घाइते भए । उनीहरुलाई उद्धार गर्ने क्रममा नेम्वाङको देब्रे खुट्टामा गोली लाग्यो । उनी त्यहीँ ढले । उनी सहित अन्य घाइतेहरुलाई तत्कालै सहयोद्धाहरुले उद्धार गरे । भोली पल्ट स्टेचरमा दुर्गम गाँउमा हिँडाउदै गर्दा नेम्वाङको होस् खुल्यो । उनीहरुलाई सैनिक हेलिकप्टरले आक्रमणको प्रयास गरिरहेको पाए ।

‘घाइतेहरुको प्राथमिक उपचार गर्दै ठाँउ सार्दै हिँडाउने क्रम जारी थियो,’ त्यसबेलाको कहानी सम्झदै मिक्सो भन्छन्, ‘बिरामी बोकेर हिँडेको टोली शाही नेपाली सेनाको गस्ती नजिकै पुगेछ, यो थाहा पाएपछि सबै जना मर्नुभन्दा हामीलाई छोडिदिनुस् । हामी यसै मर्न लागेकै छौँ । तपाईँहरु भागेर ज्यान बचाउँनुस्, क्रान्तिलाई निरन्तरता दिनुस् भनेर साथीहरुलाई अनुरोध गरेँ, तर स्थानीयसमेतको सहयोगमा साथीहरुले हामीलाई सुरक्षित गरेर छोड्नुभयो । र, बाँचियो ।’ माओवादीलाई शरण दिएको तथा भगाएको आरोपमा सेनाले स्थानीयमाथि चरम दमन गरेको सुनिएको नेम्वाङ स्मरण गर्छन् ।

नेम्बाङ मात्रै होइन उपाध्यक्षमा विजयी बनेका झापाका मणिकुमार साम्पाङ (विजय) (१११) हुन् या खोटाङका देवान चाम्लिङ (पृथ्वी) (१२०) दुवै जना कमाण्डर तथा घाइते योद्धा हुन् ।

२०५८ सालको मंसिर महिनामा माओवादीले एकसाथ सोलुको सदरमुकाम सल्लेरीसहित देशका आधा दर्जन ठूला स्थानहरुमा एकसाथ हमला गरेको थियो । जसमा विजयको जिम्मामा सबैभन्दा कठिन मानिएको आर्मी ब्यारेकमा हमला गर्नुपर्ने जिम्मा दिइयो । मंसिर १० गते सोलुको सल्लेरी आक्रमणका क्रममा विजय घाइते बनेका हुन् । विजयको अनुहारमा गोली लागेको थियो । ‘त्यतिबेलै डाक्टरहरुको निष्कर्ष निस्कियो विजय बाँच्दैन उपचारका लागि प्रयास नगरौँ,’ विजय भन्छन्, ‘यो उपचार गर्ने र नगर्ने भनेर जब डाक्टरहरुबीच डिस्कस चल्यो, जब यो आवाज मेरो कानमा प¥यो, मैले तत्काल प्रतिकार गरिहालें त्यो डाक्टरलाई हटाएर अर्कोलाई बोलाउनुहोस् भनेपछि मेरो उपचार भएको थियो ।’

विजयले त्यसबेलाको स्मरण गर्दै भन्छन्, ‘अनुहारमा गोली लागेपछि दाँत बाँधिएकाले केही पनि खान नहुने बनेको थियो । नाक भाँच्चिएका कारण नाकबाट आफ्नो रगत सबै मुखबाट पेटमा पुगेको थियो त्यही रगतले नै मेरो खानाको काम गरेको थियो । यसले थप शक्ति दिएको थियो ।’

अर्का उपाध्यक्ष चाम्लिङको इतिहास पनि कम दर्दनाक छैन । २०६१ माघ १९ गत्ते तत्कालिन राजा ज्ञानेन्द्रले गरेको सत्ता ‘कु’ को विरुद्ध भोजपुरमा आक्रमण गर्ने पार्टीको योजना थियो । त्यही कार्बाहीको क्रममा उनको बाँयाँ हात गुमेको थियो । बम लागेर हात गुमाउनु परेको उनको भनाइ छ । ‘हात गुम्यो तर होस् गुमाईंन । आँखा, टाउको र पेट छेद– बिछेद भएको अनुमान गरें,’ उनले त्यसबेलालाई सम्झे, ‘सास जानु अघि आफूले डम्पिङ गरेको हातहतियार, गोलिगठ्ठा विवरण र स्थान विवरण टिपाउँन थालँे, म बाँच्छु जस्तो लागेको थिएन ।’ पृथ्वीसँगै उक्त लडाईंमा सामेल साथीहरुले भने पृथ्वीलाई बचाउन नसकिने अनुमान गरेका थिए । पृथ्वी सुनाउँछन्, ‘साथीहरुले पृथ्वीको अन्तिम प्राण कसरी जान्छ होला भन्दै पर्खिउँ भन्नुहुन्थ्यो ।’

उपाध्यक्षमै विजयी सुनसरीका शिवकुमार डाँगी (११३) पनि बटालियन कमिसार हुन् तर उनी घाइते भने होइनन् । सचिव पदमा मोरङका गणेश उप्रेती (सुशील)ले १४८ मत ल्याएर विजयी बने । उनी राजनीतिक मोर्चामै रहेर जनयुद्धमा भूमिका निर्वाह गरेका राजनीतिकर्मी हुन् । यस्तै ३ जना सहसचिवमा विजयी कुमारी राई (११४), सागर किराँती (७३) र ऋषिराम ढुंगाना (९५) पनि पुराना माओवादी कार्यकर्ताहरु हुन् । कोषाध्यक्षमा ९३ मतका साथ विजयी बनेका रेवतराज पुरी (गगन) भने शान्ति प्रक्रियापछि माओवादीमा आएका हुन् । कार्यसमितिमा विजयी उल्लेख्य नेताहरु जनयुद्धका क्रममा घाइते भएकाहरु रहेका छन् । यो समाचार हाम्रोमतमा अर्जुन आचार्यले लेखेका छन् ।

शुक्रबार, ०९ पुष, २०७८, साँझको ०७:३७ बजे

सम्बन्धित खवर