२४ लाख नेरुसहित दुई भारतीय नागरिक पक्राउ

पुस ९, विराटनगर / सीमावर्ती भारतीय बजार जोगवनीबाट अवैधरूपमा नेपाल ल्याउँदै गरेको अवस्थामा प्रहरीले २४ लाख नेपालीसहित दुई भारतीय नागरिकलाई आइतबार पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको अररिया फारविसगञ्ज–९ का २८ वर्षीय सनोजकुमार साह र ५० वर्षीया सुशीलादेवी गुप्ता साह छन्। उनीहरूको साथबाट २४ लाख १५ हजार नेपाली रुपैयाँ तथा चार हजार ९०० भारतीय रुपैयाँ बरामद गरिएको छ।

जाँचका क्रममा बीआर३८एच ६१४२ नम्बरको भारतीय सुजुकी कारमा रकमसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए। हुण्डिमार्फत नेपालबाट भारत पठाइएको रकम भुक्तानी गर्न ल्याइएको आशंका प्रहरीको छ । पक्राउ परेका दुवैलाई कारबाहीका लागि सुनसरीको इटहरीस्थित क्षेत्रीय राजस्व अनुसन्धान कार्यालयको जिम्मा लगाइएको छ।

सोमबार, ०९ पुष, २०७५, बिहानको ११:५३ बजे

सम्बन्धित खवर