विराटनगर /  मोरङको सुनवर्षी नगरपालिका–७ मा शारीरिक रूपमा अपाङ्गता भएकी १७ वर्षीया किशोरी शनिबार साँझ बलात्कृत भइन् । घरमा कोही नभएको मौका पारी सोही ठाउँका २२ वर्षीय सुरेन्द्र ऋषिदेवले अपाङ्गता भएकी ती किशोरीलाई बलात्कार गरेको आरोप छ ।

परिवारका अरू सदस्य कोही नभएको बेला अपाङ्गता भएकी किशोरीको घरमा पुगेका सुरेन्द्रले जबरजस्ती भान्साकोठामा लगेर दिउँसो साढे ३ बजेतिर बलात्कार गरेको प्रहरीले जनाएको छ । किशोरी राम्ररी हिँडडुल गर्न र बोल्न सक्दिनन् । किशोरीमाथि जबरजस्ती गरिरहेको आमाले देखेपछि गाउँमा हो–हल्ला भएको थियो । हो–हल्ला हुन थालेपछि घटनामा संलग्न सुरेन्द्र फरार बनेका थिए । फरार भएका आरोपीलाई इलाका प्रहरी कार्यालय रङ्गेलीले पक्राउ गरी आइतबार जबरजस्ती करणी मुद्दामा मोरङ अदालतमा म्याद थप गरी अहिले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

४ मङ्सिरमा मोरङको कटहरी गाउँपालिका–७ की चार वर्षीया एक बालिक घरदेखि करिब २ सय मिटर नजिकको लोहन्द्रा खोलामा बलात्कारपछि ढुङ्गाले हानेर फालेको अर्धचेत अवस्थामा फेला परेकी थिइन् । भारतको अररिया घर भई कटहरीमा बस्दै आएका २४ वर्षीय मुकेश सरदार ती बालिकालाई बलात्कार गरेको आरोपमा सोही दिन पक्राउ परेका थिए । पक्राउ परेका सरदारले घरमा खेल्दै गरेकी बालिकालाई कटहरी–७ मा रहेको लोहन्द्रा खोलामा लगेर राति जबरजस्ती करणी गरेको मोरङ प्रहरीले जनाएको छ ।

घरमा कोही नभएको मौका छोपेर सरदारले ती बालिकालाई नजिकको खोलामा लगेर बलात्कार गरेपछि ढुङ्गाले हानेर फरार भएका थिए । फरार भएका सरदारलाई प्रहरीले पक्राउ गरी जबरजस्ती करणी मुद्दा चलाएको थियो । मोरङ अदालतको आदेशपछि उनी अहिले पुर्पक्षको लागि थुनामा छन् ।

एक वर्षअगाडि मोरङको कानेपोखरीमा एक किशोरीलाई नसालु पदार्थ खुवाएर बलात्कार गरेको आरोपमा कानेपोखरी–२ का २९ वर्षीय प्रेम चौधरी पक्राउ परेका थिए । १७ वर्षीया किशोरीलाई चौधरीले घरमा बोलाएर रातभर राख्दै बलात्कार गरेको खुलेको थियो । बलात्कार गर्नुअघि र पछि बारम्बार नसालु पदार्थ खुवाएर किशोरीलाई लठ्ठ बनाइएको आरोप थियो ।

यी त प्रतिनिधि घटनामात्र हुन् । मोरङमा पछिल्लो समय बलात्कारको भयावह शृङ्खला देखिएको छ । चालु आर्थिक वर्षको मङ्सिर महिनासम्म मोरङमा ३३ वटा बलात्कार मुद्दा मोरङ अदालतमा दर्ता भएका छन् ।

अधिकांश घटनामा नाबालिका तथा किशोरी बलात्कारको शिकारमा परेका छन् । नातामा आफन्त पर्नेहरू पनि बलात्कारको घटनामा जोडिने गरेको भेटिएको छ । मोरङ प्रहरीको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा भएका बलात्कारका घटनामा ३० वर्षमुनिका बालिका र किशोरीहरू सबैभन्दा बढी बलात्कारको शिकारमा परेका छन् ।

तीन वर्षमा मोरङमा ३ सय २७ वटा बलात्कारका घटना भएका छन् । सोही सङ्ख्यामा प्रहरीले मोरङ अदालतमा मुद्दा दर्ता गराएको अभिलेखले देखाएको छ । आर्थिक वर्ष २०७५/०७६ मा १ सय ७ वटा जबरजस्ती करणी मुद्दा दर्ता भएको मोरङ प्रहरीको तथ्याङ्कमा देखिन्छ । आर्थिक वर्ष ०७६/७७ मा ९२ वटा मात्र बलात्कारका मुद्दा दर्ता भएकोमा ०७७/७८ मा जिल्लामा जबरजस्ती करणाीको घटना ह्वात्तै बढेको छ । ०७७/७८ मा १ सय २८ वटा जबरजस्ती करणीका मुद्दा अदालतमा दर्ता भएको मोरङ प्रहरीका डिएसपी मञ्जिल मुकारुङले जानकारी दिए ।

किन बढ्यो बलात्कार ?
जिल्लामा बलात्कारका घटना बढ्ने कारणबारे कुनै निकायबाट खोजी भएको देखिँदैन । प्रहरी अनुसन्धानले अभिभावक सचेत नहुनु, बढ्दो आधुनिकता, फेसबुक, यु्ट्युबजस्ता सामाजिक सञ्जालको प्रयोग र हातहातमा मोबाइल र इन्टरनेटलाई प्रमुख कारणका रूपमा लिएको छ । यस्तै मदिरा सेवन तथा अश्लील फिल्मलगायत सामग्री हेर्ने लत पनि अर्को कारण भएको प्रहरी अधिकारीहरूले बताउने गरेका छन् ।

बलात्कारका घटना न्यूनीकरण गर्नको लागि जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गरेको मोरङ प्रहरीका डिएसपी मञ्जिल मुकारुङले बताए । प्रहरीले अवलम्बन गरिरहेको समुदाय–प्रहरी साझेदारी कार्यक्रमले पनि यस्ता विकृति न्यूनीकरण गर्ने प्रयास गरिरहेको उनको भनाइ छ ।

‘मानवीय मूल्य र मान्यतासँगै नैतिकतामा पनि ह्रास आएकाले बलात्कारका घटना बढेको देखिन्छ’ उनले भने, ‘सामाजिक सञ्जालको बढ्दो दुरुपयोग पनि यसको कारक बनेको छ ।’ बलात्कारका घटना घरपरिवारकै सदस्यसँग जोडिएको उनले बताए ।

बलात्कारजस्तो जघन्य अपराधका मुद्दामा न्याय पाउन असहज हुनु, आर्थिक र राजनीतिक चलखेलका कारण आरोपी सहजै छुट्नुलगायत कारणले पनि बलात्कार गर्ने प्रवृत्ति हाबी हुँदै गएको महिला अधिकारकर्मीहरूको भनाइ छ ।

‘बलात्कारका आरोपी छाडिँदै गए भने अपराधीको मनोबल बढेर झन् घटना बढ्छ’ महिला अधिकारकर्मी विष्णु शर्मा भन्छिन्, ‘न्याय सम्पादन गर्नेदेखि राज्य र समाजका हरेक संयन्त्र जिम्मेवार बन्नु जरुरी छ ।’ उनले गाउँस्तरमा सचेतनाका कार्यक्रम गर्न आवश्यक रहेको बताइन् ।

के छ कानूनी व्यवस्था ?
मुलुकी ऐनको महल १४ (जबरजस्ती करणीको महल) अनुसार कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरे वा १६ वर्षभन्दा कम उमेरकी किशोरीलाई निजको मञ्जुरी लिई वा नलिई करणी गरे जबरजस्ती करणी गरेको ठहरिनेछ ।

यसमा थप स्पष्ट पार्दै मुलुकी ऐन भन्छ, ‘डर, त्रास देखाई वा करकाप, अनुचित प्रभाव, झुक्यानमा पारी वा जोरजुलुम गरी वा अपहरण गरी, शरीर बन्धक राखी लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन ।’ यस्तै ‘होस् ठेगानमा नरहेको अवस्थामा लिइएको मञ्जुरीलाई पनि मञ्जुरी मानिने छैन ।’

१० वर्षमुनिकी बालिकालाई जबरजस्ती करणी गरेको ठहरिए १० देखि १५ वर्षसम्म, १० वर्ष वा सोभन्दा बढी १४ वर्षभन्दा कम उमेरकी बालिका पीडित भए ८ देखि १२ वर्षसम्म कैद हुने प्रावधान छ ।

१४ देखि १६ वर्षभन्दा कम उमेरकी बालिका भए ६ देखि १० वर्ष सम्म, १६ वर्षदेखि २० वर्षसम्म उमेर समूहकी महिला भए पीडकलाई ५ देखि ८ वर्षसम्म, २० भन्दा बढी उमेरकी महिलालाई जबरजस्ती करणी गरेको ठहरिए ५ देखि ७ वर्षसम्म कैद सजाय हुने प्रावधान छ ।

यसका अतिरिक्त हाडनाता करणी र कसैले गर्भवती, अशक्त, अपाङ्गता भएका वा होस ठेगानमा नरहेका वा आफ्नो संरक्षणमा रहेकी महिलालाई करणी गरेको ठहरिए थप सजायको व्यवस्थासमेत गरिएको छ ।

Facebook Comments Box