कम्युनिस्ट पार्टी स्कूलको महत्व

विचारको सुस्पष्ट ज्ञानले सही र गलत व्यवहार छुट्याउने सिमा रेखा तय गरिदिन्छ । यसले पार्टीका नीति, सिद्धान्त, कार्यक्रम र निर्णय नाघेर जान दिँदैन। त्यसैले यस्ता पर्खाल र सिमा रेखा निर्माण गर्ने विधि पार्टी स्कूलको प्रभावकारी सञ्चालन नै हो ।

 

रमेश गुरागाईँ

नेपालको संविधान २०७२ जारी भएपछि सम्पन्न पहिलो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कम्युनिस्ट गठबन्धनलाई दुई तिहाइको नजिक जनमत प्राप्त भएको छ । नेपाली बहुसंख्यक जनता कम्युनिस्ट समर्थक भएकाले दुई ठूला कम्युनिस्ट पार्टीको एकता जनचाहना कै विषय थियो, जसले सार्थकता पाइसकेको छ । यसलाई सहज बनाउन वैचारिक र राजनीतिक सिद्धान्तको समानता प्रमुख कारक हो किनकि कम्युनिस्ट पार्टीहरु विचारको आधारमा विभाजित हुन्छन्, भएका छन् र विचारकै आधारमा जुट्छन्, एकजुट भएका छन् । त्यसैले कम्युनिस्ट पार्टी माक्र्सवादी विचारको स्कूल हो । जसरी विद्यार्थीहरुलाई कक्षाकोठामा राखेर पाठ्यसामाग्री पढाइन्छ, त्यसरी नै कम्युनिस्ट पार्टी सदस्यले पार्टी समितिमा रहेपछि समाज र यसका समग्र पक्ष अध्ययन गर्नुपर्छ ।
कम्युनिस्ट पार्टीको निश्चित उद्देश्य हुन्छ, कार्यक्रम हुन्छन् र लक्ष्य हुन्छ । कम्युनिस्ट पार्टी वैचारिक अस्त्रबाट सुसज्जित हुन जरुरी हुन्छ । यसर्थ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हो । रणनीतिक लक्ष्य वा अधिकतम कार्यक्रम बैज्ञानिक समाजवाद हो । न्युनतम कार्यक्रम समाजवादउन्मुख जनताको जनवाद हो । राष्ट्रिय पुँजीको विकास गर्दै सामाजिक न्याय एवम् सामाजिक–आर्थिक रुपान्तरणमार्फत् समाजवादको आधार तयार गर्नु तात्कालिक लक्ष्य हो । यहाँसम्म पुग्न नेकपाको काँधमा थुप्रै ऐतिहासिक कार्यभार पुरा गर्नु छँदैछ । सबै उद्देश्य हासिल गर्न शान्तिपूर्ण, संवैधानिक र लोकतान्त्रिक बाटो अख्तियार गर्नुपर्ने पार्टीको आधिकारिक र औपचारिक कार्यदिशा हो । यी विषयमा दस्तावेज तयार पार्नु, स्पष्ट व्याख्या गर्नु, छलफल र अन्तरकृया गर्ने वातावरण बनाउनु आदि जिम्मेवार तह र नेतृत्वको मुख्य काम हो ।
वास्तवमा कम्युनिस्ट भइसकेपछि माक्र्सवादी हो कि होइन भन्ने विवाद जरुरी हुँदैन । तर माक्र्सवादप्रति इतिहासकै अत्याधिक उदासिनता नेपालको कम्युनिस्ट आन्दोलनमा पहिलोपटक आजकाल अनुभूति गर्न सकिन्छ, त्यसमा पनि पार्टी र आन्दोलन शक्तिशाली बनेको बेला । दिनदहाडै भन्ने गरिन्छ कि माक्र्सवादको काम छैन । सर्वसाधारण मानिसहरुलाई माक्र्सवाद भनेर के काम ? उनीहरुले के बुझ्छन् र ? आदि इत्यादि बोली जिम्मेवार कमरेडहरुका मुखबाट निस्कन थालेपछि पार्टीको वैचारिक अवस्था क्रमशः दयनीय हुँदै गएको पुष्टि हुन्छ ।
माक्र्सवाद अध्ययन र प्रशिक्षणको अत्यन्तैखडेरी परिरहँदा उपरोक्त अभिव्यक्ति निश्चय पनि सही हुन सक्दैन । सर्वसाधारणले माक्र्सवाद नबुझ्ने ग्यारेण्टी हुन्छ र ? फेरी कम्युनिस्ट पार्टीमा पदीय हैसियत र जिम्मेवारी जे भए पनि सबै सर्वसाधारण नै हुन् र हुनुपर्छ । विशेष बन्ने र जनतामाथि शासन गर्ने सोच राख्ने कम्युनिस्ट पार्टीका नेता हुनै सक्दैनन् । एकल नायकवादले त झनै कम्युनिस्ट आन्दोलन हाँक्नै सकिँदैन । त्यसैले माक्र्सवाद बुझेको नेता वा कार्यकर्ता आफैँ सर्वसाधारण हुने भएपछि सर्वसाधारणले माक्र्सवाद बुझ्दैनन् भन्नु सोह्रै आना गलत भइहाल्यो ।
नेकपामा पार्टी एकतापछि संगठन समायोजनका काम ढिलै भए पनि सम्पन्न हुँदैछन्। सुस्तसुस्त विभिन्न तहका नयाँ पार्टी समितिले क्रमशः पूर्णता पाउँदैछन् । पार्टी समिति गठनपछि अन्तरिम विधान २०७५ को अनुसूची ९ मा उल्लेखित ब्यहोरा पढेर सबै समितिका सदस्यहरुले सपथ ग्रहण गर्दछन् । सपथ ग्रहणको ब्यहोरा छ किम पार्टीको मार्गनिर्देशक सिद्धान्त, कार्यक्रम र नीतिलाई दृढताका साथ अनुशरण गर्नेछु । पार्टी विधान इमानदारीका साथ पालन गर्नेछु । ……… गलत विचार र गलत व्यवहारका विरुद्ध दृढतापूर्वक जुझिरहनेछु ।
बिडम्वना, पार्टीका प्रायजसो जिम्मेवारदेखि साधारण सदस्यसम्मले विधान देखेकै छैनन् । पढ्ने कुरै भएन । विधान पढाउने कार्यक्रम पनि बनाइएको छैन ।पार्टीको दस्तावेज प्रकाशन भएकै छैन । प्रकाशन भइसकेको भए पनि पढ्ने नपढ्ने अवस्था के हुने थियो भन्न सकिँदैन । पुस्तक किन्ने वा संकलन गर्ने परम्परा टुटेको छ । समग्रमा अध्ययन र प्रशिक्षणको अवस्था कोमामा पुगे जस्तो छ । यस्तो अवस्थामा नीति र कार्यक्रमप्रति कसरी प्रतिबद्ध हुने ? विधानको विषयवस्तु थाहै नपाई कसरी त्यसको पालना गर्ने ?गलत विचारबारे कसरी थाहा पाउने ?त्यसैले नेकपा यस्ता विषयमा गम्भीर हुनैपर्छ ।
पार्टीभित्र कार्यविभाजनमा थोरै असन्तुष्टि हुँदा होस् वा निर्वाचनका बेला आफ्ना आकांक्षा पुरा नहुँदा, अति सहजै निर्वाचनमा आत्मघाती कदम चाल्ने वा पार्टी परित्याग गर्ने र गैह्र कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने वा अन्य किसिमका समस्या देखापर्ने गरेका छन् । कम्युनिस्ट पार्टीका सदस्य सजिलै कसरी यस्ता निर्णय लिन पुग्छन् ? यी विषय वैचारिक र सैद्धान्तिक कमजोरीसँग सम्बन्धित छन् ।
कम्युनिस्ट पार्टीको एकजना सदस्यले जब विचारको सिमा देख्न सक्दैन, तब एक किसिमले थाहै नपाई ऊ अन्यत्र पुगिसकेको हुन्छ । उसका लागि यताउता गर्न केही कठिनाइ हुँदैन किनकि उसलाई छेक्ने कुनै सिमाना हुँदैन ।के गर्ने र के नगर्ने अर्थात् यहाँसम्म गर्ने र त्यसपछि उता नगर्ने भनेर छुट्याउने सिमाना नभएपछि आचरण र व्यवहार पनि जे जस्तोसुकै हुने नै भयो । यो स्वतः पार्टी र आन्दोलन प्रतिकूल हुन थाल्छ ।यसरी वैचारिक दृष्टिले कमी हुनासाथ पार्टीले आफ्नो अभिष्टमा धोका बेहोर्नुपर्ने हुन्छ ।
उक्त कमजोरीहरुबाट कमरेडहरुलाई सुरक्षित राख्न पर्खाल निर्माण गर्नुपर्छ । पर्खाल इँटा, ढुंगा वा सिमेन्टबाट बनाउने होइन, विचारका पर्खालले घेर्नुपर्छ । वैचारिक पर्खाल बलिया र अग्ला पनि आवश्यक हुन सक्छन् ता किकसैले गलत व्यवहार, आचरण वा निर्णय लिने विषयमा सोच्नेबित्तिकै वरिपरि नाघ्नै नसक्ने पर्खाल देखोस् । आफ्नो घेरा नाघेर जान एकपटक सोच्न बाध्य बनोस् । विचारको सुस्पष्ट ज्ञानले सही र गलत व्यवहार छुट्याउने सिमा रेखा तय गरिदिन्छ । यसले पार्टीका नीति, सिद्धान्त, कार्यक्रम र निर्णय नाघेर जान दिँदैन। त्यसैले यस्ता पर्खाल र सिमा रेखा निर्माण गर्ने विधि पार्टी स्कूलको प्रभावकारी सञ्चालन नै हो ।
माक्र्सवादको शास्त्रीय अध्ययन जरुरी हुन्छ । माक्र्स, एंगेल्स, लेनिन, स्टालिन, माओ लगायत विदेश र स्वदेशका धेरै क्रान्तिकारी नेतृत्व र बिश्लेषकहरुले आफ्नै ज्ञान र अनुभवको आधारमा रचनाहरु प्रकाशन गरेर कम्युनिस्ट आन्दोलनका लागि सम्पत्ति जम्मा पारिदिएका छन् । सर्वहारावर्गका महान गुरुहरुका जीवनीबाट पनि धेरै सिक्न सकिन्छ । समाज विकास र आन्दोलनका इतिहास सबैभन्दा बढी कम्युनिस्टले अध्ययन गर्नुपर्छ । अध्ययन र प्रशिक्षण केबल बौद्धिक विलासिता मात्र होइन, समाजको क्रान्तिकारी रुपान्तरणमा यसको ठिक ठिक प्रयोग अति महत्वपूर्ण सवाल हो । नेपालमा कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी दिनमा समाज, देश र मानव सभ्यताको विकासको नेतृत्व गर्न नसके यसको अस्तित्वको औचित्य पुष्टि गर्न सकिन्न । यो हैसियतमा पार्टीलाई पु¥याउन र इतिहास बचाएर राख्न पार्टी स्कूलको आवश्यकता यसबेला बढेर गएको छ ।

लेखक नेकपा झापा जिल्ला सचिवालय सदस्य हुन् ।

मङ्गलबार, १० असार, २०७६, बिहानको ०८:२३ बजे

सम्बन्धित खवर