इलामबाट एक वर्षमा सवा अर्बको काठ निकासी

इलाम १० साउन /   इलामबाट एक वर्षमा एक अर्ब १८ करोड ८९ लाख ५८ हजार रुपैयाँबराबरको गोलिया जिल्लाबाहिर निकासी भएको छ । निजी नम्बरी र सामुदायिक वनबाट तराईका जिल्लामा गोलिया निकासी हुने गरेको छ ।

गएको आर्थिक वर्ष ०७७/७८ मा निजी नम्बरी वनबाट २९ लाख क्युफिट गोलिया निकासी भएको डिभिजन वन कार्यालय इलामले जानकारी दिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गोलिया निकासी बढेको हो । आव ०७६/७७ मा २० लाख क्युफिट गोलिया निकासी भएको थियो । बितेको वर्षमा गोलियाको ढुवानीमा सहजता भएकाले निकासी बढेको सहायक वन अधिकृत यामबहादुर रुम्बाले वताए ।

‘पोहोर लकडाउनमा मालबाहक सवारी पनि रोकिएका थिए, यसपालि मालबाहक सवारी रोकिएनन्, त्यसैले निकासी बढेको हो,’ सहायक वन अधिकृत रुम्बाले भने, ‘अघिल्लो वर्ष माग भए पनि निकासीमा समस्या भयो, अहिले उद्योगहरूमा मजदुरको अभाव भएकाले पहिलेको तुलनामा मागमा समेत कमी आएको छ ।

निजी नम्बरी वनबाट निकासा भएको २९ लाख क्युफिट गोलियाबाट एक अर्ब १६ करोड रुपैयाँ रकम आम्दानी भएको छ । इलामको निजी नम्बरी वनमा उत्पादन भएको गोलिया झापा र मोरङका काष्ठ उद्योगमा पुर्‍याइन्छ । गोलिया निकासीबाट १३ करोड ३३ हजार एक सय ९९ रुपैयाँ कर संकलन भएको डिभिजन वन कार्यालयले जानकारी दिएको छ ।

परम्परागत खेती छाडेर रुख खेती
इलामबाट उत्तिस, मलातो, चिलाउने, कटुसलगायत जातका बिरुवाको गोलिया निकासी हुने गरेको छ । आम्दानीको राम्रो स्रोत बनेपछि जिल्लामा व्यावसायिक रूपमा नै वन लगाउने गरिएको छ । परम्परागत खेतीबाली छाडेर अन्यत्र बसाइँ सर्नेहरूले आफ्नो स्वमित्वको जग्गामा रुख लगाएर छाड्न थालेका छन् । बिरुवा लगाएको आठदेखि बाह्र वर्षमा बिरुवाहरू गोलिया काट्नका लागि योग्य हुने गरेको छ । बर्सेनि बिरुवा लगाउनु नपर्ने, धेरै स्यहारसुसार गर्नु नपर्ने, एकमुष्ठ आम्दानी हुने भएकाले धेरैले परम्परागत खेती छाडेर रुखका बिरुवा लगाउने गरेका हुन् । त्यसैले इलामबाट निकासा हुने गोलियाको परिमाण बर्सेनि बढ्दै गएको हो ।

इलामको चुरे क्षेत्रमा रहेको सामुदायिक वनबाट समेत जिल्लाबाहिर गोलिया निकासी हुने गरेको छ । त्यसमा सबैभन्दा धेरै सालको गोलिया हुन्छ । गत आर्थिक वर्ष ०७७/७८ मा सामुदायिक वनबाट ११ हजार पाँच सय ८३ क्युफिट गोलिया निकासी भएको छ । सालसहित अन्य विभिन्न जातको गोलिया निकासी भएको वन कार्यालयले जनाएको छ । त्यसमा ७० प्रतिशत गोलिया निकासी हुने गरेको छ । चुरे क्षेत्रका गोलिया निकासीबाट दुई करोड ८९ लाख ५८ हजार सात सय ५० रुपैयाँ आम्दानी भएको छ ।

सामुदायिक वनहरूले आफ्नो उपभोक्तालाई वितरण गरेर बाँकी गोलिया मात्रै बाहिर बिक्री गर्न पाउँछन् । बाहिर निकासीका लागि अनुमति लिँदा वन कार्यालयले ठाडो रुख संकलन गर्ने अनुमति दिँदैन । ढलेपढेका रुख मात्रै संकलन गरेर बिक्रीका लागि अनुमति हुने गरेको सहायक वन अधिकृत रुम्बाले बताए । आन्तरिक खपतका लागि संकलन गरिएको काठ निकासी गर्न पाइँदैन ।

सालको गोलियाको सरदर मूल्य पच्चीस सयदेखि तीन हजार प्रतिक्युफिट पर्छ । सामुदायिक वनहरूले सरकारले निर्धारण गरेको न्यूनतम मूल्य र त्यसमा संकलन खर्च थपेर लिलामीको न्यूनतम मूल्य तय गर्छन् । त्यसपछि लिलाम बढाबढका आधारमा बिक्री गर्ने गरेका छन् । सरकारले ग्रेडअनुसार पाँच सय, सात सय र एक हजार न्यूनतम मूल्य निर्धारण गरेको छ ।

आइतबार, १० साउन, २०७८, दिउँसोको ०१:२३ बजे

सम्बन्धित खवर