पटक पटक दलिय खवरदारी =कहाँ चुक्तैछ दमक नगरपालिका ?

 ध्यानाकर्षण पत्र

दमक,१० साउन /    विपक्षि दलिय गठबन्धनले दमक नगरपालिकालाई पटक पटक खवरदारी गरिरहेको छ । नगरले विपक्षि दलसँगको सल्लाह, परामर्शविना योजना अधिसारेको आरोपको नगरले सामना गरिरहनु परेको छ । कहाँ चुक्तैछ त नगर ? यो आम नागरिकको चासोको विषय बनेको छ ।

नेपाली कांग्रेसहितका छ दलीय गठबन्धनले दमक नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । नगर भित्रको शैक्षिक,स्वास्थ्य ,विकास निर्माण लगायतका विभिन्न १० वुदेँ माग समावेश गरि दलहरुले स्थानीय सरकारको ध्यानकर्षण गराएका हुन् ।

ध्यानाकर्षण पत्रमा कांग्रेस सभापति विष्ट,माओवादी केन्द्र सचिव तिर्थराज बस्नेत (शंकर ) , नेकपा मालेका नगर अध्यक्ष रुपनारायण न्यौपाने, जनता समाजवादी पार्टीका नगर अध्यक्ष भेषराज भट्टराई, संघीय लिम्बूवान मञ्चका जिल्ला सदस्य विकास मगर, नेकपा ( माओवादी ) झापा जिल्ला इन्चार्ज दिपेन गोम्देनले हस्ताक्षार गरेका छन् ।
ध्यानाकर्षण पत्रमा दलहरुले कोरोना महामारीका समयमा सरकारले उपलव्ध गराउदै आएको खोप थप व्यवस्थित गर्नुपर्ने, कोभिड रोकथामको खर्च सार्वजनिक गरिनु पर्ने , शिक्षा ऐन ,नियम विपरीत गठन गरिएको तीन सदस्यीय विद्यालय व्यवस्थापन समिति तत्काल खारेज गरि शिक्षा ऐन अनुसार अभिभावकहरुको प्रतिनिधित्व हुने गरि विद्यालय व्यवस्थापन समिति गठन गरिनुपर्ने माग गरिएको छ ।

यसैगरि स्वास्थ्य बिमालाई दमक अस्पतालमा मात्र एकीकृत स्वास्थ्य जाँच कार्यले थप कोभिड लगायतका स्वास्थ्य जोखिम हुदैआएकाले त्यस्तो एकद्धार हटाउनु पर्ने , विकास निर्माण कार्यको अनुगमनमा सर्वपक्षीय प्रतिनिधित्व गरिनु पर्ने, फोहोरमैला संकलन वापत लिदैआएको शुल्क जथाभावी संकलन गरिदैआएकाले त्यसलाई तत्काल बन्द गरिनु पर्ने  विपक्षिको माग छ ।

नगरपालिकाको राजस्व संकलन सम्बन्धी सवै ठेक्कापट्टा पारदर्शी गरिनु पर्ने, नगरपालिकामा हुदैआएको ढिलासुस्ती र अनियमितता वन्द गरिनु पर्ने तथा नगरपालिकाको ऐन,कानुन विपरीत कर्मचारी नियुक्ति,बढुवा जस्ता कार्य बन्द गर्नुपर्ने माग उल्लेख छ । आज नगरपालिकामा पुगेर दलीय गठबन्धनले नगर प्रमुख रोमनाथ ओलीलाई ध्यानाकर्षण पत्र बुझाइएको कांग्रेस नगर सभापति रोशन विष्टले बताए ।

आइतबार, १० साउन, २०७८, दिउँसोको ०४:३७ बजे

सम्बन्धित खवर