दमक/ दमक ६ स्थित सर्वेश्वर कृषि सहकारी संस्थाको छैठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले आइतबार दमक उद्योग वाणिज्य संघको सभाकक्षमा औपचारिक कार्यक्रम गरी साधारण सभा सम्पन्न गरेको हो ।
सभामा संस्थाका अध्यक्ष सन्तकुमार राईले सञ्चालक समितिको तर्फबाट बार्षिक प्रतिवेदन पेश गर्दै शेयर सदस्यहरुको सक्रियताका कारण बिषम परिस्थितिमा पनि गत आर्थिक बर्षमा सन्तोषजनक कारोबार गर्न सफल भएको उल्लेख गरे । उनले संस्थाका शेयर सदस्यहरुलाई सुत्केरी पोषण भत्ता, वर्थडे केक वितरण, क्यालेण्डर विमोचन तथा अन्तक्रिया लगायतका कार्यक्रमहरु प्रभावकारी र उपलब्धीमुलक रहेको बताए ।
संस्थाले गत आर्थिक बर्षमा विभिन्न शीर्षकमा ६२ लाख ३८ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ ।

कूल १ हजार २ सय ३८ सदस्य रहेको सो संस्थाले गत आर्थिक बर्षमा ३ करोड ७४ लाख रुपैयाँ ऋण लगानी गरेको जनाइएको छ । साधारण सभामा संस्थाका सचिवको तर्फबाट व्यवस्थापक उत्तम राईले संस्थाका आगामी योजना तथा कार्यक्रमहरु समेत पेश गरेका थिए । सभाले साधारण सभामा पेश भएका प्रतिवेदनहरु सर्वसम्मत पारित गरेको संस्थाका उपाध्यक्ष महेन्द्र चाम्लिङले जानकारी दिए ।
सो अवसरमा उत्कृष्ट बाल बचत कर्ता र उत्कृष्ट कारोबार गर्ने सदस्यहरुलाई पुरस्कृत गरिएको थियो । जिल्ला सहकारी संघका सञ्चालक सदस्य नारायण प्रसाद गौतमको प्रमुख आतिथ्यमा भएको साधारण सभाको उदघाटन कार्यक्रममा दमक ६ का वडा सदस्य कमल श्रेष्ठ र राष्ट्रिय सहकारी बैंक लि. दमककी प्रवन्धक मुना केसीले पनि शुभकामना मन्तव्य राख्दै बैंकको तुलनामा सहकारीमा कारोबार गर्दा दिर्घाकालिन फाइदा पुग्ने बिषयमा सहकारीका सदस्यहरु जानकार हुनुपर्नेमा जोड दिए । उनीहरुले सहकारीमा सदस्यहरुको अपनत्व झल्किने र बैंकहरुमा ग्राहकका रुपमा मात्रै रहनुपर्ने अवस्था रहेकाले शेयर सदस्यहरुले संस्थालाई पारदर्शी र सुशासनयुक्त ढंगबाट सञ्चालन गर्न चनाखो हुनुपर्ने बताए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव हरिकुमार राईले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष महेन्द्र चाम्लिङले राखेका थिए ।

Facebook Comments Box