झापामा ‘अँध्यारोमुक्त अभियान’

झापा, १३ माघ /  झापाको पाँच वटा पालिकालाई अँध्यारोमुक्त बनाउने अभियान अन्तिम चरणमा पुगेको नेपाल विद्युत प्राधिकरण भद्रपुर वितरण केन्द्रले जनाएको छ ।
केन्द्रले भद्रपुर नगरपालिकासहित कचनकबल र हल्दिबारी गाउँपालिकालाई अँध्यारोमुक्त बनाउन गत वर्षदेखि अभियान सञ्चालन गर्दै आएको छ । मेचीनगर र विर्तामोडको आंशिक क्षेत्र र बाह्रदशी गाउँपालिकाको केही वडामा यो अभियान सञ्चालित छ ।

आगामी एक महिनाभित्र आफ्नो कार्यक्षेत्र भित्रका पालिकाको सबै घरमा विद्युत सुविधा पुगिसक्ने केन्द्रका प्रमुख इन्जिनियर सञ्जीव कुमार साहले बताए । । उनले हालसम्म ३० हजार बढी ग्राहकको घरमा विजुली बत्ती पुगिसकेको जानकारी दिए ।
प्राधिकरणले आर्थिक अभावका कारण विद्युत जडान गर्न नसक्ने विपन्न समुदायका परिवारको घरमा निःशुल्क मिटर वक्स जडान गरिदिने कार्य गर्दै आएको छ ।
एक बर्षभित्र ६०० भन्दा बढी अति विपन्न परिवारलाई स्थानीय तहको सिफारिसको आधारमा विद्युतको मिटर बक्स निःशुल्क जडान गरिदिएको प्राधिकरणले जनाएको छ ।
“सरकारको लक्ष्य नै सबैको घरमा विद्युतको पहुँच पुर्याउने हो”, उनले भने, “विपन्न समुदायले आर्थिक अभावमा उज्यालोबाट बञ्चित हुन नपरोस् भनेर स्थानीय सरकारको सिफारिसको आधारमा विपन्नको पहिचान गरी निःशुल्क विद्युत जडान गरिरहेका छौं ।”
उनले विगतमा जस्तो ग्राहकले निवेदन दिएर एक महिनासम्म मिटर बक्स जडान गर्न कुर्नुपर्ने प्रथाको अन्त्य भएको बताए । “निवेदन दिएकै दिन वा भोलिपल्ट सम्बन्धित व्यक्तिको घरमा बत्ती बल्छ”, कार्यालयका प्रमुख साहले भने, “अब अँध्यारोमा कसैले बस्नु पर्दैन ।”
कर्मचारी अभावमा समेत उपभोक्ताको चाहना अनुरुप भरपर्दो र छिटोछरितो सुविधा प्रदान गरिरहेको उनले बताए । प्राधिकरणको भद्रपुर वितरण केन्द्रमा १०४ जना कर्मचारी (प्राविधिक तर्फ ७० र प्रशासन तर्फ ३४)को दरबन्दी रहेको छ । तर हाल प्राविधिकतर्फ २६ र प्रशासनतर्फ १९ जना गरी ४५ जना कर्मचारीले मात्र काम गरिरहेका छन् ।

मेचीपारिको नेपालमा विद्युत पुर्याइँदै

मेचीनगर नगरपालिकाको वडा नं. १५ का तीन वटा गाउँ मेची नदी पारि छन् । प्राधिकरणले त्यहाँ विद्युत पुर्याउने कार्य थालिसकेको केन्द्रका प्रमुख साहले बताए । उनका अनुसार सिसौडाँगी, होपना वस्ती र ग्वाल वस्तीका ५५ घरमा विद्युत पुगेको छैन । त्यति संख्याका घरमा सौर्य विद्युत सुविधा पुगेको छ ।

“मेचीनगरका नगरप्रमुख र सम्बन्धित वडाका अध्यक्षसँग कुराकानी गरेर त्यहाँका विपन्नहरुको पहिचान भइसकेको अवस्था छ”, उनले भने–“केही दिनभित्रैमा मेची पारिको नेपाली वस्ती अँध्यारोमुक्त हुने छ ।”

ग्राहकमैत्री कार्यालय

प्राधिकरणले सेवा केन्द्रलाई प्रविधि र ग्राहक मैत्री बनाएको छ । कार्यालयका प्रमुख साहले सेवाग्राहीको समस्यालाई ध्यानमा राखेर

कार्यालयलाई ग्राहकमैत्री बनाइउको बताए । कार्यालयमा सेवा लिन आउनेहरु बस्ने हललाई सुविधासम्पन्न बातानुुकूलित बनाइएको छ ।

विजुलीको विल तिर्न आउने र मिटर माग्न निवेदन दिन आउने ग्राहकहरुलाई पालो मिलाउनका लागि टोकन प्रणाली लागू गरिएको छ । पालो पर्खेर बसेका सेवाग्राहीलाई तातो र चिसो पिउने पानी, फ्रि वाइफाइ र टेलिभिजनको व्यवस्था समेत कार्यालयमा गरिएको छ ।

कार्यालयमा अभिलेख व्यवस्थापनलाई आधुनिक र वैज्ञानिक बनाइएको छ । कुनै पनि पुरानो अभिलेख रहेको फाइलहरु खोजेको समयमा तुरुन्त उपलब्ध हुने गरी र्याकमा ग्राहकको नम्बरसहित मिलाएर राखिएको छ । त्यसलाई डिजिटलाइज गरी कम्प्यूटरमा अभिलेखीकरण गर्ने तयारी भइरहेको छ ।

कार्यालयमा महिलामैत्री शौचालय र अपांगमैत्री कार्यकक्षको समेत व्यवस्था गरिएको छ । कार्यालय प्रमुख साह अपांगमैत्री बन्नका लागि कार्यालयको भुइँतलाकै कार्यकक्षमा बस्ने गरेका छन् । (रासस) 

मङ्गलबार, १३ माघ, २०७७, दिउँसोको ०२:३९ बजे

सम्बन्धित खवर