सरकार ! बाँझो जमिन कब्जा गर

कृषि क्रान्तिकालागि संघीय, प्रदेश तथा स्थानीय सरकारले आफ्नो अधिकांश बजेट कृषि क्रान्तिमा अनिवार्य रुपले खर्च गर्नुपर्ने अहिलेको आवश्यकता हो । साँच्चै मुलुक समृद्धितर्फ अघि बढाउने हो भने आन्मनिर्भर अर्थतन्त्रको नीति आवश्यक छ । सहरदेखि गाउँ बस्तीसम्म घडेरी प्लानिङको नाममा बाँझो राखिएका जमिन खोजीखोजी सरकारले कृषिबाली लगाउनु पर्छ ।

      ===============================

       राधिका ओझा

नेपाल कृषि प्रधान मुलुक हो । विश्वका धेरै धान उत्पादन हुने चीन, भारत, बंगलादेश, ईण्डोनेशिया लगायत २० देशहरुको सुचिमा नेपाल पनि पर्दछ । तथापि मुलुकमा बर्सेनि अरबौको खाद्यान्न आयात हुने गरेको छ । नेपालले आर्थिक उदारीकरण लागू हुनुपूर्व धान निर्यात गथ्र्येा । अहिले खुल्ला बजार अर्थतन्त्र यति मौलायो कि देशमा खरबौको विदेशी अन्न भित्रिन थालेको छ । गत बर्ष २०१९/२० मा मात्र रु. २ सय ४३ अर्ब बराबरको अन्न नेपालले आयात गरेको थियो जो अघिल्लो बर्षको तुलनामा १९ अर्बले वृद्धि भएको हो । त्यस्तै भंसार विभागका अनुसार यो बर्षको पहिलो ६ महिनामा भारत बाट ३० करोड केजी र अमेरिका बाट ७ लाख ३३ हजार केजी चामल नेपालमा भित्रिएको छ ।
त्यस्तै ३३ केजी मकै भारत बाट र २४/ २४ लाख केजी ब्राजिल र अर्जेन्टिना बाट र ३ लाख ५० हजार केजी अफ्रिका बाट आएको तथ्यांक छ । खाद्यान्नमा मात्र लगभग ४२ अर्ब रुपैया विदेशिएको छ । नेपालमा एकजना नेपालीले बर्सेनि लगभग १ सय ३८ किलो चामल खपत गर्दछ । यो बर्ष २०७७/ ७८ मा ५६ लाख २१ हजार ७ सय १० मेट्रटिक टन धान उत्पादन भएको थियो । जो अघिल्लो बर्षको तुलनामा बृद्दि भएको देखिन्छ । तथापि नेपालमा खाद्यान्न उत्पादनको तुलनामा जनसंख्या वृद्धि बढि भएको कारण बर्सेर्नी खाद्यान्न आयात बढ्दो छ । पहिलो र दोस्रो विश्व युद्धदेखि नै विदेशमा युवा बेचेर नेपाली अर्थतन्त्र धान्ने बानी परेको नेपाल सरकार आजको स्थितिमा आईपुग्दा स्थिति अझ डरलाग्दो बन्दै गएको प्रष्ट देख्न सकिन्छ ।
नेपाल लाइफ सर्भे का अनुसार ६६ प्रतिशत भन्दा बढि घरपरिवार वैदेशिक रोजगारमा सामेल छन् । उनिहरुले कमाएको मध्ये लगभग ८० प्रतिशत परिवारको दैनिक उपभोगमा खर्च हुन्छ भने बाकी ऋण तिर्न र अन्य कार्यमा खर्च हुने गरेको पाइन्छ । देशमा उद्योग धन्दा निरन्तर गिर्दो अवस्थामा छ । अझै पनि करिब ७० प्रतिशत नेपाली कृषि पेशामा आवद्द छन् भने कुल राष्ट्रिय आम्दानिको २६ प्रतिशत भन्दा बढि कृषिको योगदान रहेको छ । सिँचाईको समस्या ,भण्डारण र बजार व्यवस्थापन को समस्या उच्च स्तरीय मल बिउको अभाव, कृषियोग्य जमिनको चक्लाबन्दि, गाउँ गाउँसम्म घडेरी प्लानिङको कारण बालुवा गिटीले जमिन छोप्दै लगेको र जमिन बाँझिदै गएको अवस्था छ, जमिनमा उच्च पदीय कर्मचारीदेखि राजनीतिक नेतृत्व नै विचौलिया र दलाली तन्त्रमा सामेल हुनु आदि कारणहरुले साना किसानहरु भूमिहिन बन्दै गइरहेको र खेतीयोग्य जमिन अधिकांश दलालिको स्वामित्वमा हस्तान्तरण हुँदै गएको छ । परिणाम स्वारुप एकातर्फ श्रमिक मजदुरको संख्या बढ्दै गइरहेको तथा बेरोजगारको मात्र बढ्दै गइरहेको स्थिति छ ।
आज हामी २१ औ शताब्दीको शुरुवाती समयमा समाजवादको यात्रामा छौ । नेपाली इतिहासको कालखण्डमा ७० बर्षको जनचाहना बमोजिम १० बर्षे माओवादी जनयुद्ध र २ पटक सम्मको महान जन आन्दोलन, मधेस आन्दोलन , आदिवासी तथा जनजाति आन्दोलन र अरु थुप्रै लडाइँ र अवरोधहरु पार गर्दै , हजारौं सहिदहरु, लाखौं वेपत्ता र घाइतेहरुको वलिदानीबाट आज हामीले धर्मनिरपेक्षता, समावेशी समानुपातिकता सहितको समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल प्राप्त गरेका छांै । यो चानचुने कुरा होइन । सम्पूर्ण नेपाली आमाबुबा दाजुभाइ तथा दिदिबहिनीहरुले अब सचेतनाकासाथ ध्यान दिनुपर्ने बेला भएको छ ।
आज हाम्रो काँधमा एकातर्फ प्राप्त उपलब्धिको रक्षा, विकास र प्रयोग गर्दै महान समाजवादी यात्रामा अघि बढ्ने महान अवसर प्राप्त भएको छ भने अर्कोतर्फ केही परिवर्तन नचाहने तथा केही असक्षम शासकको कारण मुलुक फेरिपनि पश्चगमनतर्फ मोडिएकोले यसको रक्षाका लागि लड्न हरबखत तयारी अवस्थामा रहनुपर्ने अवस्था आएको छ ।
दुईतिहाइ बहुमतको स्थिर सरकार आज एउटा सानो गुटमा रमाउदै राष्ट्र र राष्ट्रियता भन्दा पनि विदेशी दलाल र प्रतिक्रियावादी तत्वहरुसँग साँठगाँठ गर्दै सत्ता टिकाउने खेलमा लागेको प्रष्ट छ । आफ्ना स्वच्छाचारी निर्णयहरु एकपछि अर्को गर्दै सर्वोच्च अदालतले उल्ट्याउँदासम्म पनि कुनै निकास दिन सकिरहेको छैन । लाचार बनेर लिसोझै कुर्शीमा टाँसिएको छ । कोरोनाको कहरले विछिप्त अर्थतन्त्रमा अरबौको ऋण थपिएको छ । उत्पादनमूलक कार्यमा भन्दापनि वितरणमुखी बजेटकोकारण अर्थव्यवस्था अझै लामोसमय दलदलमा फस्ने निश्चित छ ।
अहिले नेपाली अर्थतन्त्रको मानो खाएर मुरी उब्जाउने बेला हो । खेतीगर्ने बेला हो । कोरोनाको कारण ५० प्रतिशत भन्दा बढि अर्थतन्त्र धान्ने क्षेत्र पर्यटन उद्योग पूर्णत बन्द अवस्थामा छ । अब हामीसँग अर्थतन्त्र जोगाउने एउटै मात्र आधार कृषि क्रान्ति नै हो भन्नेकुरा सबैले बुझ्न जरुरी छ ।
कृषि क्रान्तिकालागि संघीय, प्रदेश तथा स्थानीय सरकारले आफ्नो अधिकांश बजेट कृषि क्रान्तिमा अनिवार्य रुपले खर्च गर्नुपर्ने अहिलेको आवश्यकता हो । साँच्चै मुलुक समृद्धितर्फ अघि बढाउने हो भने आन्मनिर्भर अर्थतन्त्रको नीति आवश्यक छ । सहरदेखि गाउँ बस्तीसम्म घडेरी प्लानिङको नाममा बाँझो राखिएका जमिन खोजीखोजी सरकारले कृषिबाली लगाउनु पर्छ । मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने यो एउटा सुनौलो अवसर पनि हो ।

शनिबार, १२ असार, २०७८, रातीको १०:२२ बजे

सम्बन्धित खवर