धानको इतिहास र जलवायु परिवर्तनको असर

सुरेशकुमार यादव

यस वर्ष मनसुन सुरुमै सक्रिय भयो । देशैभर धान रोपाइँ पनि भइरहेको छ । हालसम्म कति रोपाइँ भयो, त्यसको तथ्याङ्क त आउन बाँकी छ । बेमौसमी वर्षाका कारण गत वर्ष धान उत्पादनमा ८.७६ प्रतिशतले ह्रास आयो । यस पटक भने मलको अभावले उत्पादनमा असर गर्ने हो कि भन्ने आकलन गरिएकोे छ ।

समग्र कृषिमा धानको योगदान १५ प्रतिशत छ । असार १५ लाई धान दिवसकै रूपमा मनाइन्छ । ‘धान बालीमा जैविक विविधता उपयोग : आयात प्रतिस्थापनमा सहयोग’ नाराका साथ यस वर्ष १९औँ धान दिवस मनाइनेछ । देशकै कुल गार्हस्थ्य उत्पादनमा धानको योगदान ३.३ प्रतिशत छ । यस हिसाबले कुल गार्हस्थ्य उत्पादन ४२ खर्ब रुपियाँमा धानको योगदान एक खर्ब ६४ अर्ब रुपियाँ रहेको कृषि मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

बेमौसमी वर्षाका कारण गत वर्ष धान उत्पादनमा ८.७६ प्रतिशतले ह्रास आयो । यस पटक भने मलको अभावले उत्पादनमा असर गर्ने हो कि भन्ने आकलन गरिएकोे छ ।
गत वर्षको बेमौसमी वर्षाले कैलाली, कञ्चनपुर र बर्दियालगायत जिल्लाका धान बालीमा क्षति पुग्यो । यसले धान उत्पादनमा मात्र कमी भएन, कुल गार्हस्थ्य उत्पादनमै असर प¥यो । जलवायु परिवर्तनका कारण समग्र कृषि उत्पादनमै अब प्रत्यक्ष प्रभाव पर्न थालेको छ । त्यसको प्रमाणका रूपमा यो वर्षालाई लिन सकिन्छ । कहिले अतिवृष्टि, कहिले खडेरी त कहिले बेमौसमी वर्षाका कारण कृषि उत्पादनमा प्रत्यक्ष प्रभाव पर्ने गरेको छ ।

धान उत्पादन कति ?

सात वर्षअघि ३.१३ प्रतिशतले बढेको धान उत्पादन २०७७/०७८ सम्म आइपुग्दा ३.८२ प्रतिशतले वृद्धि भयो । तर २०७८/०७९ मा ८.७४ प्रतिशतले कमी आयो । आर्थिक वर्ष २०७७/०७८ मा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको थियो भने गत वर्ष ५१ लाख ३० हजार ६०४ मेट्रिक टन उत्पादन भयो । अर्थात् चार लाख ९० हजार ३९६ मेट्रिक टन धानको उत्पादन घट्यो । सात वटा प्रदेशमध्ये गण्डकी प्रदेशमा मात्र २.३३ प्रतिशतले वृद्धि भएको छ । बाँकी प्रदेशमा घटेको छ । सबभन्दा बढी सुदूरपश्चिममा ३१.४९ प्रतिशतले घट्यो भने लुम्बिनी प्रदेशमा १८.३८, प्रदेश १ मा ०.९३, मधेश प्रदेशमा ५.२४, बागमती प्रदेशमा ०.३५, कर्णालीमा ८.७६ प्रतिशतले धानको उत्पादन घट्यो ।

पाँच वर्षमा सबभन्दा कम उत्पादन यो चालू आर्थिक वर्षमा नै भएको छ । २०७६/०७७ मा ५५ लाख ५० हजार ८७८ मेट्रिक टन उत्पादन भएको थियो । त्यस्तै, २०७५/०७६ मा ५६ लाख १० हजार ११ मेट्रिक टन, २०७४/०७५ मा ५१ लाख ५१ हजार ९२५ मेट्रिक टन र २०७३/०७४ मा ५२ लाख ३० हजार ३२७ मेट्रिक टन उत्पादन भएको थियो ।

जब कि आर्थिक वर्ष २०७६/०७७ को तुलनामा आर्थिक वर्ष २०७७/०७८ मा धान बाली लगाइएको जमिन करिब चार हजार हेक्टर बढी थियो । त्यतिबेला बीउ, मल, सिँचाइको पनि अभाव थिएन । धान पनि राम्रै फलेको थियो । उत्पादनमा वृद्धि हुने अनुमान गरिएको थियो तर अचानक परेको बेमौसमी वर्षाले धान बालीलाई नास गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा. प्रकाश सञ्जेलले जानकारी दिनुभयो ।

जलवायु परिवर्तनको असर अन्य क्षेत्रभन्दा कृषि क्षेत्रमा तत्कालै देखिन्छ । कृषि उत्पादन पूर्ण रूपमा मौसम, जलवायु तथा पानीमा निर्भर छ । यीमध्ये कुनै एकको परिवर्तनले कृषि उत्पादनमा पनि प्रभाव पर्छ ।
एक तथ्याङ्कअनुसार, २०१८ सालमा नेपालमा प्रतिहेक्टर १.९ मेट्रिक टन धान उत्पादन हुन्थ्यो । ६१ वर्षपछि यसको तुलनामा धान उत्पादनमा वृद्धि भए पनि यो अवधिमा खाने मुख पनि तीन गुणाले बढेको छ । कृषि मन्त्रालयका अनुसार १० वर्षअघि नेपालमा वार्षिक प्रतिव्यक्ति ९० किलो चामल आवश्यक हुने गर्दथ्यो तर अहिले १३६.५ किलो पुगेको छ । यो हिसाबले अझै १० लाख मेट्रिक टन धान अपुग देखिन्छ । आर्थिक वर्ष २०७७/०७८ मा ५६ लाख मेट्रिक टन धान उत्पादन भएको थियो । त्यसमा भुस तथा कनिकालगायत घटाउँदा करिब ३० लाख मेट्रिक टन चामल हुन्छ । ३० लाख चामलबाट चिउरा, भुजालगायत अन्य खाद्य पदार्थ पनि बन्ने गरेका कारण भात मात्रै खानका लागि चामल अपुग हुन्छ । अपुग चामल करिब १५ लाख मेट्रिक टन हुन्छ । त्यसैले बर्सेनि २९ अर्ब रुपियाँभन्दा बढीको चामल आयात हुने गरेको छ ।

धानको इतिहास

विश्वका १११ भन्दा बढी देशले करिब १६ करोड २० लाख हेक्टर क्षेत्रफलमा धान खेती गर्दै आइरहेका छन् । एसियामा मात्र १५ करोड हेक्टरमा खेती हुँदै आएको छ । विश्वमा सबैभन्दा बढी धान उत्पादन गर्ने देश चीन हो । त्यसपछि भारत, इन्डोनेसिया, बङ्गलादेश, भियतनाम, थाइल्यान्ड, फिलिपिन्स, म्यान्मार, ब्राजिल, जापानलगायत छन् ।

नेपालमा धानको इतिहास धेरै पुरानो छ । संसारमा रहेका २० वंशजका जङ्गली धानमध्ये चार वंशजका जङ्गली धान नेपालमा पाइन्छन् । धान वैज्ञानिक एआर अन्सारी भन्नहुन्छ, “नेपालमा जबदेखि मानिसको उत्पत्ति भयो, तबदेखि नै धानको उत्पत्ति भएको पाइन्छ । धानको उत्पत्तिबारे शास्त्रहरूमा पनि उल्लेख भएको पाइन्छ ।” संसारको सबभन्दा अग्लो ठाउँ जुम्लामा पनि धान उत्पादन हुन्छ भन्ने कुराले नै प्रमाणित हुन्छ कि नेपालका धान रैथाने हुन् ।

नेपालको कपिलवस्तु जिल्लाको अजिगरा तालमा जङ्गली धानको उत्पत्ति र सुर्खेतको बुलबुले तालमा सदाबहार धानको उत्पत्ति भएको थियो । राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रका धान वैज्ञानिक सुशीलराज सुवेदीका अनुसार ती क्षेत्रहरूमा अहिले पनि पुराना जङ्गली जातका धानहरू पाइन्छन् जुन मानवको उत्पत्तिसँगै भएको थियो । चितवनको लोथरखोला, जुम्लाको सुन्दरपुर जङ्गली धान पाइने प्रमुख स्थान भएको विभिन्न दस्तावेजमा भेटिन्छ । नेपाल र एसियाकै प्रमुख खाद्यान्न बालीको रूपमा रहेको धान विश्वमा दोस्रो बालीको रूपमा चिनिन्छ । कृषि विज्ञ तुलसीराम पोखरेलका अनुसार धानको उत्पत्ति र खेती चीनबाट सुुरु भएको हो भन्ने कुरामा एकमत भए पनि कहिले भन्ने कुरामा मतैक्य छैन । कतिपयले आजभन्दा करिब १२ हजार वर्षअघि चीनको याङ्जे नदीको उपत्यकामा यसको खेती भएको उल्लेख गरेका छन् ।

सन् १९९६ मा डेभिड आर. ह्यारिसको सम्पादनमा प्रकाशित पुस्तक ‘दी ओरिजिन एन्ड स्प्रिड अफ एग्रिकल्चर एन्ड पस्टोरेलिज्म इन युरेसिया’ का अनुसार धान खेती १३ हजार ५०० देखि आठ हजार ५०० वर्षअघि चीनमा भएको हो । चीनपछि भारतीय उपमहाद्वीपको गङ्गा मैदानमा यसको खेती फैलियो । विश्वमा उत्पादन हुने करिब ७५ प्रतिशत धान चीन र भारतले उत्पादन गर्छन् ।

नेपालमा ७७ बालीका ६७१ जात सूचीकृत छन् । जसमध्ये ३२२ हाइब्रिड छन् । सूचीकृत भएका मध्ये धानका मात्र १३० जात छन् । चैते धानका छ वटा, वर्षे धानका १२४ जात सूचीकृत छन् । नेपालमा हाइब्रिड धान दुईतिहाइभन्दा बढी अन्तर्राष्ट्रिय धान अनुसन्धान संस्थाहरूबाट आएका छन् । राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथ धनुषाले २०७६ सालमा पहिलो पटक हार्दिनाथ–१ र हार्दिनाथ हाइब्रिड–३ गरी दुई वटा हाइब्रिड जात बनायो तर त्यो हाइब्रिडले अझै बजार लिएको छैन । विदेशबाट आएका हाइब्रिडलाई किसानले रुचाएका छन् ।

जलवायु परिवर्तनको असर

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार पारेको कृषि क्षेत्रको जलवायु परिवर्तन बजेट कोडिङसम्बन्धी दिग्दर्शन २०७५ अनुसार विगत २५ वर्षमा जलवायु परिवर्तन असरसम्बन्धी प्रतिवेदनमा ८६ प्रतिशत घरधुरीले बढ्दो खेडेरीको अनुभव गरेको उल्लेख छ । त्यस्तै, ९७.६९ प्रतिशत घरधुरीले रोग तथा कीराको प्रकोप र खण्डवृष्टि बढेको अनुभव गरेका छन् । ७०.२५ प्रतिशत घरधुरीले अन्नबालीमा नयाँ रोग देखापरेको र ४५.९८ प्रतिशतले घरपालुवा जनावरमा नयाँ रोगको अनुभव गरेका छन् । त्यसैगरी, ७४.२९ प्रतिशत घरपरिवारको पानीका मुहानमा परिवर्तन भएको, ८४.४७ प्रतिशतको मुहानमा पानी घटेको र पहाडी क्षेत्रमा ७४.५६ प्रतिशत घरधुरीको पानीको मुहान पूर्ण रूपमा सुकेको तथ्यसमेत उल्लेख गरिएको छ ।

त्यस्तै, ९२ प्रतिशत घरधुरीको अनुभवमा कृषि योग्य जमिनमा मिचाहा प्रजातिको झारको प्रकोप बढेको छ भने ७८.१२ प्रतिशत घरधुरीले पहिरोको प्रकोप बढेको अनुभव गरेका छन् । त्यस्तै, सन् २०१४ मा नेपाल सरकारले अनुमोदन गरेको एक प्रतिवेदनअनुसार सन् २०७० सम्ममा जलवायु परिवर्तनका कारण प्रतिवर्ष वर्तमान कुल गार्हस्थ्य उत्पादनको ०.८ प्रतिशतले कृषिमा क्षति हुने अनुमान गरेको छ । राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्र खुमलटारमा कार्यरत कृषि इन्जिनियर मुक्तिनाथ झाका अनुसार वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको जोखिम र जोखिम मूल्याङ्कन प्रतिवेदन २०२१ मा जलवायु परिवर्तनले कृषि तथा खाद्य सुरक्षा क्षेत्रमा परेको प्रभाव र भविष्यमा पर्न सक्ने प्रभावको बारेमा अध्ययन गरेको पाइन्छ । सो प्रतिवेदनलाई आधार मान्ने हो भने सन् २०३० सम्म जलवायु परिवर्तनले कुल गार्हस्थ्य उत्पादनमा २ देखि ४ प्रतिशतमा ह्रास आउँदा अनुकूलनका लागि दुई अर्ब ४० करोड अमेरिकी डलर खर्च गर्नुपर्ने अवस्था सिर्जना हुनसक्छ ।

यी तथ्यबाट के पुष्टि हुन्छ भने जलवायु परिवर्तनको असर अन्य क्षेत्रभन्दा कृषि क्षेत्रमा तत्कालै देखिन्छ । कृषि उत्पादन पूर्ण रूपमा मौसम, जलवायु तथा पानीमा निर्भर छ । यीमध्ये कुनै एकको परिवर्तनले कृषि उत्पादनमा पनि प्रभाव पर्छ । जलवायु परिवर्तनले कृषिमा नकारात्मक मात्र होइन, सकारात्मक असर पनि परेको कृषि इन्जिनियर झाले बताउनुभयो । उहाँले भन्नुभयो, “सधैँभरि तराईमा फल्ने आँप अब पहाडमा फल्न थालेको छ, पहाडमा फल्ने स्ट्रबरी तराई मधेशमा फल्न थालेको छ । चिसो ठाउँमा हुने कफी खेती अहिले तराईका कतिपय ठाउँमा हुन थालेको छ । यी सबै जलवायु परिवर्तनका कारणले भएको हो ।”

तराईको तामक्रम अहिले पहाडमा सरेको छ र पहाडको तापक्रम हिमालतिर सर्दै गएको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रमा कृषि मौसम विज्ञको रूपमा कार्यरत रामेश्वर रिमालले जानकारी दिनुभयो । पहाडमा अहिले पहिलेको जस्तो जाडो हुँदैन । त्यस्तै तराईमा गर्मीको समयमा पहिलेको जस्तो गर्मी हुँदैन । यो जलवायु परिवर्तनको असरले नै हो तर जलवायु परिवर्तनले सकारात्मकभन्दा नकारात्मक असर बढी देखाएको छ । गत वर्ष बेमौसमी वर्षाका कारण काट्न लागेको धान डुबानमा परेपछि समग्र धान उत्पादनमा नै असर प-यो । पानी परेको कारण समयमा गहुँ छर्न नसक्दा गहुँ उत्पादनमा पनि कमी आयो । २०७४ सालमा साताभरि परेको अविरल वर्षका कारण एक लाख ४४ हजार हेक्टरमा लगाइएको बालीमा क्षति पुग्यो ।

२०७५ सालमा बाराको फेटामा आएको हावाहुरीले मानवीय क्षति गर्नुको साथै कृषि क्षेत्रमा पनि व्यापक क्षति पु-यायो । कृषि मौसम विज्ञहरू भन्छन्– मौसमको पूर्वानुमानलाई आधार मानेर किसान तथा सर्वसाधारणले सचेतता अपनाए भने क्षति न्यून हुनसक्छ । कृषि मौसम विज्ञ रिमालका अनुसार मौसम पूर्वानुमानका आधारमा आएको सूचनालाई किसानले मनन गर्न सके भने सम्पूर्ण क्षतिको आठ प्रतिशत क्षति कम हुनसक्छ तर अहिले पनि अधिकांशले मौसमबारे आएका सूचनालाई बेवास्ता गर्छन् । रासायनिक तìवहरूको प्रयोगले माटो पहिलेदेखि नै जैविक कार्बनरहित भइरहेको थियो । अब तापक्रम बढेको कारण माटोको चिस्यानमा ह्रास आइरहेको छ । माटोमा लवण बढिराखेको छ । खाद्य विज्ञ डा. कृष्ण पौडेलका अनुसार भूमिगत जलस्तर घट्दै जानुले माटोको उर्वरा शक्ति प्रभावित भइरहेको छ । उहाँका अनुसार माटो आफैँमा एउटा प्राकृतिक वस्तु हो जहाँ उत्पादक, उपभोक्ता एवं विच्छेदनको खाद्य शृङ्खलाका प्रक्रिया चलिरहेको हुन्छ । यदि तापमानको वृद्धि दर कायम रह्यो भने भविष्यमा माटोको तापमान पनि वृद्धि हुनेछ । बोटबिरुवाले आफ्नो भोजन कार्बनिक पदार्थहरूको खनिजीकरण एवं सूक्ष्म जैविक प्रक्रियाहरूबाट प्राप्त गर्छन् । माटोको तापमानमा वृद्धि भए सूक्ष्म जीवहरूको जैविक क्रियाशीलतामा वृद्धिका कारण कार्बनिक पदार्थहरू जैव कार्बन र नाइट्रोजनको अत्यधिक विच्छेदनले नाइट्रोजन अक्साइड र कार्बन अक्साइड ग्यास धेरै मात्रामा उत्सर्जित हुनेछ जसले बोटो विरुवालाई सिधै असर गर्छ ।

नेपाल बहुप्रकोपीय जोखिमको हिसाबले २०औँ, जलवायु परिवर्तनको हिसाबले पाँचौँ, बाढीपहिरोको हिसाबले ३०औँ र भूकम्पीय जोखिमको हिसाबले पाँचौँ स्थानमा पर्छ । धरातलीय विविधता, कमजोर भौगर्भिक बनावट, संवेदनशील पारिस्थितिकीय प्रणाली र जलवायु यसका मुख्य कारणहरू छन् । विक्रम संवत् २१०० सम्म समुन्नत मुलुक र सन् २०३० सम्म दिगो विकासको निर्धारित लक्ष्य प्राप्तिमा जलवायु परिवर्तनले असर पु¥याउने विभिन्न अध्ययनले पनि देखाएको छ ।

पन्ध्रौँ योजना (आर्थिक वर्ष २०७६/७७–२०८०/८१) ले कृषि क्षेत्रका विभिन्न पक्षलाई समेट्दै सात वटा रणनीति तथा ४५ वटा कार्यनीति लिएको छ । जलवायु परिवर्तनलाई सम्बोधन हुने गरी प्राङ्गारिक खेतीको प्रवद्र्धन, जैविक विविधताको संरक्षण, जलवायु परिवर्तन अनुकूलन तथा उत्थानशील प्रविधिको प्रयोग, कृषकको क्षमता विकासजस्ता कार्यनीतिहरू लिएको पाइन्छ । विश्वमा जनसङ्ख्या वृद्धि तीव्र गतिमा भइरहेको छ । सन् २०५० सम्ममा विश्वको जनसङ्ख्या एकतिहाइले बढ्ने अनुमान गरिएको छ । यसरी बढ्दो जनसङ्ख्याको खाद्य सुरक्षाका लागि विश्वमै खाद्यान्न उत्पादन करिब ६० प्रतिशतले बढाउनुपर्ने संयुक्त राष्ट्रसङ्घको कृषि तथा खाद्य सङ्गठनले अनुमान गरेको छ । कृषि क्षेत्रको दिगो विकासका लागि जलवायु परिवर्तन एक प्रमुख चुनौती तथा खतराको घण्टीको रूपमा देखा परेको छ ।
परम्परागत खेती प्रणाली तथा अहिले गरिँदै आएको खेती प्रणालीलाई सुधार गर्न सकिएन भने जलवायु परिवर्तनको सन्दर्भमा उत्पादन लिनु अति नै चुनौतीपूर्ण हुने कृषि इन्जिनियर झा बताउनु हुन्छ । जलवायु परिवर्तनको आधारमा कृषि क्यालेन्डर बनाउनुपर्ने उहाँको सुझाव छ । छिटो पाक्ने बाली ढिलो पाकिरहेको छ भने ढिलो पाक्ने बाली चाँडो पाकिरहेको छ । गत वर्ष नै गोरखामा दुई हप्ता ढिलो सुन्ताला पाकेको उहाँले बताउनुभयो । बोटमा फूल लाग्ने र फल लाग्ने समय पनि हेरफेर भइरहेको छ । बाढी, पहिरो, खेडेरीले कृषि र खाद्य सुरक्षाको अवस्थामा प्रतिकूल प्रभाव परेको छ । जलवायु परिवर्तनले गर्दा खाद्य उत्पादनमा कमी आउनुका साथै आम्दानीमा पनि कमी आएको पाइन्छ ।

आइतबार, १२ असार, २०७९, दिउँसोको ०३:०७ बजे

सम्बन्धित खवर