झापामा भएको सामुहिक मृत्युको रहस्य ?

विर्तामोड/  झापाको कचनकवल–५ दल्लेगाउँका तीन किशोरीको मृत्यु रहश्यमयी देखिएको छ । शनिबार बगान बन्द रहेकोले घुम्न निस्किएका १७ वर्षीया कल्पनाकुमारी गणेश, १६ वर्षीया करिना गणेश र १७ वर्षीया अञ्जली गणेशको शव आइतबार एउटै रुखमा पासो लागेको अवस्थामा भेटिएको थियो ।

साथीकोमा धान रोप्न जाने भनेर शनिबार घरबाट निस्किएकी कल्पना रातिसम्म घरमा नफर्केपछि परिवार चिन्तामा थिए । बुबा वीरबल गणेशका अनुसार घरमा दिदीलाई धान रोप्न जान्छु भनेर छोरीसहित उनका मिल्ने साथीहरु चिया बगान बीचमा रहेको बयरको एउटै रूखमा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

आफैंले दैनिक काम गर्ने बगानमा उनीहरूको मृत शरीर भेटिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त पाठकका अनुसार घटना शंकास्पद छ । शनिबारबाटै हराएका उनीहरूको शव आइतबार बिहान साढे ७ बजे चिया बगानमा काम गर्न गएका मजदुरहरूले भेटेका थिए ।

परिवारका अनुसार कल्पनाले घरभित्र चार्जमा राखेको दिदीको फोन लिएर गएकी थिइन् । ‘कल गर्दा रातभर रिङ जान्थ्यो, तर फोन उठेन’ दिदी पुष्पाले भनिन् ।

दल्लेगाउँ नजिकैको सुनकोसी चिया बगानसँगै बगेको झिङ खोलाको किनारमा रहेको बयरको एउटै रूखमा तीन जनाको शव भेटिएको थियो । मृत्यु हुनेमा कचनकवल–५ निवासी पञ्चम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र वीरबल गणेशकी १७ वर्षीया छोरी कल्पना एकैस्थानमा काम गर्ने मिल्ने साथी हुन् ।

अञ्जली र कल्पना एउटै हाँगामा र करिना अर्काे हाँगामा झुन्डिएको अवस्थामा फेला परेका थिए । करिनाले नयाँ प्लास्टिकको डोरी, अञ्जलीले बाख्रा बाँध्ने किल्लासहितको प्लास्टिकको डोरी र कल्पनाले आधा प्लास्टिकको डोरी र गम्छा प्रयोग गरेको पाइएको छ ।
प्रहरीका अनुसार करिनाको खुट्टा पानीमा डुबेको थियो भने अञ्जली र कल्पनाको खुट्टा पानीमाथि थियो । घटनास्थलको प्रकृति हेर्दा शंकास्पद देखिएको स्थानीयको भनाइ छ ।

खोला किनारको बयरको रूख, रूखमुनि मान्छे डुबाउने १० फिट गहिरो पानी, तीन जनाले झुन्डिनलाई एउटै रूखको हाँगा प्रयोग गर्नु तथा एकैपटक रूखमा झुन्डिने सोच बनाउनुलाई शंकास्पद मानिएको छ । प्रहरी पनि घटना सामूहिक आत्महत्या वा हत्या हो भन्ने निष्कर्षमा अझै पुगेको छैन । मृतकहरूले लगाएको लुगा खोलेर हेर्दा कुनै चोटपटक भने नदेखिएको प्रहरीले जनाएको छ ।

शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । चिकित्सकले दिने पोस्टमार्टमको रिपोर्टसँगै मृतक करिना र कल्पनासँग फेला परेको दुईवटा मोबाइल फोनको कल ट्रेस रिपोर्टको पर्खाइमा प्रहरी छ । तीनै जनाले एकैपटक एउटै ठाउँमा सामूहिक आत्महत्या गर्ने विषय रहस्यमय रहेको डिइसपी पाठकले बताए ।

उनीहरू लामो समयदेखि सुनकोसी चिया बगानमा काम गर्थे । लक्ष्मीप्रसाद देवकोटा माविमा कक्षा ७ पढ्दापढ्दै विद्यालय छाडेकी कल्पनाको कसैसँग झैझगडा नरहेको र कुनै केटा साथीसँग नजिक नरहेको परिवारको भनाइ छ ।

स्थानीयका अनुसार कल्पना र अञ्जलीभन्दा करिना अलि चलाख थिइन् । घरकी जेठी छोरीसमेत रहेकी उनले पनि लक्ष्मीप्रसाद देवकोटा माविमा कक्षा ७ पढ्दापढ्दै विद्यालय छाडेर घरको आर्थिक अवस्था कमजोर भएकोले बुबालाई सघाउन चिया बगानमा काम थालेकी थिइन् । करिनाले लामो समय फोनमा कुराकानी गर्ने गरेको स्थानीयले बताएका छन् ।

गाउँमा चार महिनाअघि विवाहित महिलाले पनि झुन्डिएर आत्महत्या गरेकी थिइन् । त्यो घटना सुन्दै करिना भयभीत हुने गरेकोमा आफैं कसरी झुन्डिन सक्छिन् भन्ने रहेको छिमेकी जयकुमार गणेशले बताए ।

कचनकवल–५ पाठमारी घर भएकी अञ्जली फुपू वैशाखी गणेशको घरमा बस्दै आएकी थिइन् । फुपूको घरनजिकै चिया बगान रहेकाले त्यहाँ बसेर काम गर्थिन् । परिवारको आर्थिक अवस्था कमजोर भएकोले उनले पनि पढाइ छाडेर काम गर्न थालेकी थिइन् ।

तीन जना सामूहिक रूपमा झुन्डिएकाले गाउँ पूरै शोकमा डुबेको छ । स्थानीय धीरजकुमार गणेशका अनुसार घटना आत्महत्याभन्दा पनि हत्याजस्तो देखिएको छ । घटनास्थलमा धेरै मान्छे हिँड्डुल गरेको खुट्टाको छाप देखिएको उनले बताए ।

मङ्गलबार, १० साउन, २०७९, बिहानको ०८:२१ बजे

सम्बन्धित खवर