प्रदेश १ को एमाले संसदीय दलको नेतामा भीम आचार्य

१० भाद्र, विराटनगर / नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् । आज बसेको संसदीय दलको बैठकले आचार्यलाई दलको नेता चयन गरेको हो ।

मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईको प्रस्तावमा आचार्य दलको नेतामा चयन भएको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।

संसदीय दलको नेता चयन भएका आचार्यलाई आजै मुख्यमन्त्रीको सपथग्रहण गराउने तयारी थालिएको छ ।

यसअघि शेरधन राईसँग २ मत अन्तरले पराजित भएका आचार्यलाई राईकै समर्थनमा पुन : संसदीय दलको नेता हुँदै मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।

प्रदेश-१ मा एमालेका ५१ जना सांसद छन् । प्रदेश सभामा मुख्यमन्त्री बन्न ४७ जना सांसद आवश्यक पर्छ ।

कांग्रेसका २१, माओवादीका १५, जसपाका ३, राप्रपा र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १–१ जना सांसद छन् ।
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा ८ जना मात्रै सांसद गए भने पनि एमाले सरकार ढल्ने निश्चित छ । तर, त्यो सङ्ख्या समाजवादीमा नरहेको एमालेका नेताहरूको दाबी छ ।

बिहिबार, १० भदौ, २०७८, दिउँसोको १२:३१ बजे

सम्बन्धित खवर