झापामा धामी झाँक्रीको सम्मेलन हुने

 झापा / नेपाल राष्ट्रिय धामी वैद्य संघको आयोजनामा यही भदौ १८ गते झापाको बिर्तामोडमा धामी झाँक्रीहरुको सम्मेलन हुने भएको छ ।

लोक संस्कृति एवम् लोक परम्पराको रुपमा रहेको धामी झाँक्रीहरुको विश्वासमा आधारित परम्परागत अर्मूत सांस्कृतिक सम्पदा र मन्त्र शक्तिको उन्नयनको लागि उक्त सम्मेलन आयोजना हुन लागेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बताइएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति वरिष्ठ संस्कृतिविद् डा.जगमान गुरुङले उद्घाटन गर्ने धामी झाँक्री सम्मेलनमा झापासहित इलाम, ताप्लेजुङ, मोरङ र ते¥हथुमका १५० जना बढी धामी झाँक्रीहरुको सहभागिता हुने संघका सचिव रोशन भेटवालले जानकारी दिए ।

सोही कार्यक्रममा लोक संस्कृति र लोक परम्परामा आधारित पुस्तक ‘नेपाली धाम झाँक्री संस्कृति र परम्परागत उपचार पद्धती’को लोकार्पण गरिने संघका सचिव भेटवालले बताए ।

पुस्तकका परिकल्पनाकार, संघका संरक्षक एवम् झाँक्रीविद् भोलानाथ बाँस्तोलाद्वारा निर्देशन एवम् प्रकाशन गरिएको उक्त पुस्तकमा धामी झाँक्रीको संस्कृति र उपचार पद्धतीसहित ११ जातिका धामी झाँक्रीहरुको अनुभव समेटीएको छ । उक्त धामी झाँक्रीहरुको अनुभव संघका सचिव भेटवालले संकलन गरेका हुन् ।

त्यसैगरी सोही कार्यक्रममा प्रमुख अतिथि गुरुङबाट पुस्तकको महत्व, धामी झाँक्रीविद् बाँस्तोलाबाट धामी झाँक्री संस्कृति र परम्परागत उपचार पद्धती र पुस्तकका सम्पादक सन्दिप सापकोटाबाट पुस्तक र तन्त्रको विषयमा कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ ।
त्यस्तै अन्य कार्यक्रममा कनकाई नगरपालिकास्थित कनकाई नदीमा सामूहिक स्नान, झाँकी प्रदर्शनसहित कार्यक्रमको उद्घाटन, धामी झाँक्री सम्बन्धी कार्यपत्र प्रस्तुत र दोख–दोखालो र ग्रहदशा मनसाउने कार्यक्रम रहेको संघका अध्यक्ष सीताराम पुरीले जानकारी दिए । ‘अन्तरक्रियात्मक गोष्ठीसहितको सम्मेलनमा धामी झाँक्री सम्बन्धी पुस्तक लोकार्पण हुने यस किसिमको कार्यक्रम देशमै पहिलो हो ।’– अध्यक्ष पुरीले दावी गरे ।

समितिका अध्यक्ष पुरीको अध्यक्षतामा आयोजित कार्यक्रममा संघका संरक्षक एवम् जग्गादाता प्रदिपकुमार पुरी, सल्लाहकार सृजलाल चौधरी, उपाध्यक्षद्वय चित्रकला बाँस्तोला र खडानन्द अधिकारीलगायतले सहभागी पत्रकारहरुको जिज्ञासाको जवाफ राखेका थिए । उक्त कार्यक्रमको सञ्चालन सचिव भेटवालले गरेका थिए ।

शुक्रबार, १० भदौ, २०७९, साँझको ०६:०३ बजे

सम्बन्धित खवर