शिशुको मृत्युपछि दमकको एड्भान्स अस्पतालमा तोडफोड

दमक / उपचारका लागि ल्याएको शिशुको मृत्यु भएपछि आफन्तले दमकको एड्भान्स अस्पताल तोडफोड गरेका छन् ।कोरोना संक्रमण र निमोनियाले ग्रसित कमल १ का ११ महिने शिशु कृजन खड्काको मृत्यु भएपछि शनिबार आफन्तले अस्पताल तोडफोड गरेका हुन् ।
शुक्रबार उपचारका लागि उनलाई अस्पताल ल्याइएको थियो । उपचारको क्रममै शिशुको एन्टिजेन्ट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो। उनलाई बालरोग विशेषज्ञ डा. अनिल थापाले उपचार गरेका थिए ।

कोरोना देखिएपछि शिशुलाई अस्पतालमा भर्ना नगरी औषधि दिएर घर पठाइएको थियो। ‘बच्चाको अवस्था सामान्य थियो । यहाँ कोरोना संक्रमित राख्न सक्ने अवस्था थिएन’, उनले छलफलका क्रममा भने, ‘औषधि दिएर घर पठाएको हो । उनको अक्सिजन लेभल पनि ठिक थियो ।’

तर, अस्पतालबाट घर पुर्‍याउनेबित्तिकै बालकलाई साह्रो भएको मृतकका आफन्त सरोज खड्काले बताए । अवस्था नाजुक भएको बिरामीलाई घर पठाइएको भन्दै उनले डाक्टरको गल्ती रहेको बताए । डाक्टरले घरमा लगाउनका लागि सुई दिएका थिए । स्थानीय स्वास्थ्यकर्मीले उक्त सुई लगाएपछि बालकलाई साह्रो भएको सरोजले बताए । अस्पतालसँग छलफल गर्दा आफ्ना कुरा राखेर डाक्टरलाई भगाएको भन्दै आक्रोशितले अस्पतालमा ढुंगा प्रहार गरेको छन् । ढुंगा प्रहारबाट अस्पतालको सिसा फुटेको छ । ढुंगा प्रहार गर्ने केहीलाई प्रहरीले पक्राउ गरेको छ । बालकको शव शुक्रबारदेखि नै अस्पतालमा राखेर आफन्त आन्दोलित भएका हुन् । विरामीका आफन्तले दिनभरि अस्पतालमा प्रर्दशन गरेपछि अस्पतालको सेवा प्रभावित हुन पुगेको थियो ।

आइतबार, १० असोज, २०७८, बिहानको ०८:२० बजे

सम्बन्धित खवर