कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादवले सात वटै प्रदेशका कृषिमन्त्रीहरूसँग छलफल सुरु गरेका छन्। सिंहदरबारस्थित कृषि मन्त्रालयमा बैठक सुरु भएको मन्त्रालयका प्रवक्ता डा। प्रकाश सञ्जेलले बताए। देशमा आएको बाढी पहिरोका कारण भएको क्षति तथा पीडित किसानलाई दिइने राहत एवं क्षतिपूर्तिको बारेमा छलफल हुने उनले बताए।

सात वटै प्रदेशको प्रारम्भिक क्षति विवरण मन्त्रालयमा आइपुगेको छ। प्रारम्भिक क्षतिको आधारमा अरू थप के गर्न सकिन्छ, तत्काल राहत कसरी र कति दिने, थप क्षतिपूर्ति दिनका लागि कस्तो प्रक्रिया अपनाउने भन्ने विषयमा छलफल हुने बताइएको छ। पीडित किसानलाई राहत दिनका लागि संघ, प्रदेश तथा स्थानीय तहबीच समन्वय हुने मन्त्रालयले जनाएको छ।

सात वटै प्रदेशका कृषि मन्त्रीहरूको धारणा सुनिसकेपछि संघीय सरकारले पीडित किसानहरुका लागि राहत तथा क्षतिपूर्तिको व्यवस्थामा लाग्ने बताइएको छ। हिजो मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि मन्त्री यादवसँग बाढीका कारण देशभरि कृषिमा भएको क्षति बारे जानकारी लिएकी थिइन्। राष्ट्रपति कार्यालयमा बोलाएर क्षतिको बारेमा ब्रिफिङ सुनेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले किसानलाई तत्कालीन राहत प्रदान गर्न सुझाव दिएको बताइएको छ।

हालसम्म कृषि मन्त्रालयलाई प्राप्त विवरण अनुसार बाढीले धानमा मात्र साढे आठ अर्बको क्षति गरेको छ। प्रारम्भिक विवरण अनुसार साढे दुई लाख मेट्रिकटन धानमा क्षति पुगेको छ।

Facebook Comments Box