तुलनात्मक रुपमा भौगोलिक क्षेत्रफल र आर्थिक हिसाबले नेपाल सानो र गरिब देशमा गनिन्छ। तर, सम्पदाको हिसाबले भने निकै धनी मानिन्छ।प्राकृतिक, धार्मिक, साँस्कृतिक, सामाजिक विविधतायुक्त सम्पदा नै नेपाल र नेपालीको अमुल्य सम्पत्ति हो । यही नै सक्कली सान र पहिचान पनि हो। नेपालको जनगणना २०६८ अनुसार नेपालमा कुल १२५ जातजातिहरु र १२३ भाषाहरु रहेका छन्। भाषा आयोगको पछिल्लो प्रतिवेदन अनुसार भने बोलीचालीका लागि प्रयोगमा आएका भाषाहरुको संख्या १३१ पुगिसकेको छ। त्यसै गरी यहाँ १० भन्दा बढी धर्मावलम्बीहरु धार्मिक स्वतन्त्रताको भरपूर उपयोग गरिरहेका छन्। यि विविध जातजाति, भाषाभाषी र धर्मावलम्बीहरुका आ-आफ्नै मोलिकता झल्काउने विशेष खाले चाडबाड, रितिरिवाज, परम्परा, लवाइ खवाइ, रहनसहन, बोलीचाली रहेका छन्। यि आँकडाहरुलाई सम्पदाका दृष्टिकोण हेर्दा, नेपाल विविध सम्पदाको धनी देश हो। र, विविधता बीचको एकताको स्वर्गीय भूमि हो भन्दा अतिसंयुक्ति नहोला।

नेपालको जनगणना २०६८ अनुसार नेपालमा ८०.६ प्रतिशत हिन्दू धर्मावलम्बीहरु रहेका छन्। आफ्नो धर्म संस्कृति अनुसार स्थापित हुदै आएका परम्परा, रितिरिवाज, चालचलनलाई समय अनुसार परिस्कृत र परिमार्जित गर्दै आफ्नो पहिचानसहितका चाड पर्वहरु परापूर्व कालदेखि नै मनाउदै आइरहेका छन्। जस मध्यको दशैं र तिहार प्रमुख बडा चाड हुन्। यि चाडबाडमा धार्मिक केन्द्रियता भएतापनि, यसको महत्व भने बहुआयामी रहेको छ। धार्मिक, साँस्कृतिक, सामाजिक, रितिरिवाज, परम्परा, रहनसहन, चालचलन आदिका दृष्टिकोणले यि चाडबाडहरुले समग्र नेपाली समाजलाई एकता, धार्मिक सहिष्णुता र भाइचाराको सुत्रमा बाँधिराख्न अहम भूमिका खेलिरहेका छन्। जसले गर्दा नेपाल र नेपालीको अमूल्य पहिचान बोकेको चाड बडा दशैं र तिहारलाई केवल हिन्दू धर्मावलम्बीहरुको चाड मात्र नठानी समग्र नेपालीहरु कै चाडका रुपमा मान्ने र मनाउने गरिदै आएको छ। त्यसैले नेपाल र नेपालीको गौरव र पहिचान बढाउने यि चाडबाडहरुलाई मर्म अनुसार बृहत रुपमा प्रचाप्रसार गर्नुका सोथै सोही अनुसार मनाउनु पनि जरुरी छ। यसै सन्दर्भमा देश विदेशमा रहेका नेपालीहरु यस वर्षको महान चाड बडा दशैंलाई विधिवत् समापन गरी, अर्को महान चाड ‘तिहार’ मनाउने संघारमा रहेकाले आवश्यक तयारीमा जुटिसकेका छन्। तिहारलाई हिजोआज धार्मिक चाड मात्र नभनि झिलिमिली उज्यालोको चाड, प्रकृति पूजनको चाड, फूलैफूलको चाड, जनावर तथा पंक्षी पूजन चाड, दिदीभाइ तथा दाजुबहिनीको चाड, दिपावलीको चाड, तिहार आदि भनेर पनि पुकारिने गरिन्छ। मुख्य गरी ५ दिनसम्म बृहत रुपमा मनाइने यो चाडको महिमा, गरिमा, महत्व, भूमिका र गरिने विविध वृहत् क्रियाकलापहरुलाई मध्यनजर गर्दा, यस महान चाडलाई ‘तिहार’ नै भनि प्रचारप्रसार गर्नु पर्दछ।र, चाडको मुल मर्म र महत्व अनुसार नै बृहत रुपमा नै मनाउनु पनि आवश्यक छ।

हरेक वर्ष नेपाली हिन्दू पात्रो अनुसार कार्त्तिक कृष्ण पक्ष त्रयोदशी तिथिदेखि कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिसम्मको पाँच दिन नेपालीहरुको महान चाड ‘तिहार’ पर्दछ। जसलाई यमपञ्चक पनि भनिन्छ। पौराणिक धार्मिक आस्था र विश्वासका आधारमा पाँच दिनसम्म यमराज तथा उनका दूतहरूको पूजा, अर्चना, प्रार्थना तथा आराधना गरिने भएकाले यस चाडलाई यमपञ्चक भनिएको हो। पौराणिक धार्मिक कथन अनुसार सूर्यका यमराज र यमुना दुई छोराछोरी थिए। एकपटक यमुनाले आफ्नो दाजुलाई आफ्नो बासस्थानमा निम्तो गरेकी थिइन्। आफ्नो बहिनीले दिएको आत्मीय निम्तोलाई सहर्ष स्विकार गर्दै कार्तिक कृष्ण त्रयोदशीका दिन आतिथ्यता ग्रहण गर्नका लागि यमराज बहिनी यमुना कहाँ गएका थिए। बहिनीले पनि आफ्नो निम्तो स्विकार गरेर आएकाले आफ्नो दाजुको अतिथ्य सत्कारमा कुनै कसर बाँकी राखिनन्। यमराज पनि आफ्नो बहिनीको सत्कारमा आनन्दित भइ कामको थकान मेटाउन कार्तिक कृष्ण चतुर्दशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म (पाँच दिनसम्म) लामै विश्राम गरे। र, पाँचौं दिन बहिनी यमुनाको हातबाट टिका लगाएर बहिनीलाई आशिर्वाद दिइ बिदा भएका थिए। यही धार्मिक कथनको मूल मर्मलाई आधार मानेर ‘तिहार’ मनाउन लागिएको किम्बदन्ति रहेको छ। यस अर्थमा परापूर्व कालदेखि नै तिहारको पाँचैं दिनलाई उत्तिकै महत्त्वपूर्ण मानेर हरेक दिन धार्मिक महत्व र मर्मका आधारमा धार्मिक विधिहरुलाई अवलम्बन गर्दै हर्षोल्लासका साथ मनाउने प्रचलन चलिआएको छ। जस अनुसार तिहारका पाँचैं दिनको पहिचान, मर्म, महत्व र गरिने क्रियाकलाहरु संक्षिप्तमा यसप्रकार रहेका छन्:

१) कार्तिक कृष्ण पक्ष त्रयोदशी अर्थात काग तिहार

कार्तिक कृष्ण त्रयोदशीको दिन तिहारको पहिलो दिन हो। यस दिनलाई ‘काग तिहार’ भनिन्छ। मुख्य गरी कागलाई यमराजको दूत तथा सन्देश वाहक मानेर पूजा गरिन्छ। पंक्षीमा चतुर मानिने सर्वभक्षी प्राणी कागलाई समग्र पंक्षीको प्रतिनिधिका रुपमा पनि पूजा गर्ने गरिन्छ। काग तिहारका दिन चोखो नितो गरी स्वास्थ्यकर स्वादिष्ट भोजनहरु बनाएर कागलाई डाकी पूजाआजाका साथ खुवाउने गरिन्छ। यसरी पूजा तथा भोजन दिने बेलामा धार्मिक मन्त्र ‘ऐन्द्र बारुण वायव्या याम्या वै नैऋतास्तथा। वायसाः प्रतिगृह्णन्तु मयादत्तमिमं बलिम्।।’ उचारण गरिन्छ। जसको अर्थ हो, पूर्व, पश्चिम, वायव्य, दक्षिण, नैऋत्य आदि दिशामा रहेका कागहरूले यो बलि ग्रहण गरून्। यस दिनमा आयुर्वेदका भगवान धनवन्तरीको जन्म जयन्ती पनि मनाइन्छ। यस दिनलाई धन त्रयोदशी अर्थात धन्तेरस पनि भनिन्छ।यस दिन नै धनधान्य लक्ष्मी माताको विशेष पूजा गर्न आवश्यक सरसामानहरु खरिद गर्ने गरिन्छ। यस दिन कमलको फूलको पुष्पासनमा बसेकी लक्ष्मी र गणेशको मूर्ति वा तस्बिर खरिद गरेर घरभित्र्याउने प्रचलन छ। यसो गर्दा लक्ष्मी माता खुसी भई घर भित्रने, बास गर्ने, आशिर्वाद दिने र धनधान्य बनाइ दिने धार्मिक विश्वास रहेको छ। यस दिन नयाँ भाँडाकुँडा तथा सुन वा चाँदीको बस्तु किनेर घरको पूर्वी-उत्तर दिशामा राखेमा फलिफाप हुने विश्वास गरिन्छ।

२) कार्तिक कृष्ण चतुर्दशी अर्थात कुकुर तिहार

यो तिहारको दोश्रो महत्वपूर्ण दिन हो। यो तिहार अन्तरगत पर्ने कुकुर तिहार हो। जसलाई यमपञ्चकको दोस्रो दिन पनि भनिन्छ। कुकुरलाई यमराजको दूत मानिने भएकाले यस दिनलाई नरक चतुर्दशी पनि भन्ने गरिन्छ। कुकुर यमदूत भएकाले यमराजलाई खुसी बनाउन कुकुरलाई पूजा गर्ने गरिन्छ। कुकुरलाई पूजा गर्नुमा मानव उपयोगी उसका महत्वपूर्ण गुणहरु पनि हुन् भन्ने कोणबाट व्याख्या गरिने गरेको भएतापनि, धार्मिक मुल्य र मान्यताका आधारमा भने यमदूत भएकै कारण पूजा गरिएको विश्वास गरिन्छ। कुकुर तिहारका दिन यमराजको स्मरण गरी कुकुरलाई पूजा गरेर टिका तथा माला लगाइ दिएर मिष्ठान्न भोजनहरु खुवाउने गरिन्छ। कुकुरलाई पूजा गरी मिष्ठान्न भोजन गराउदा यस्तो मन्त्र उच्चारण गर्ने गरिन्छ। ‘द्वौ श्वानौ श्याम शवलौ वैवश्वत कुलोद्भवौ। ताभ्यामन्नं प्रयच्छामि स्यातामेता बहिंसकौ।’ जसको अर्थ हो, वैवश्वत कुलमा जन्मिएका कालो र छिरबिरे वर्णका तिमी दुई कुकुरलाई म अन्न दिन्छु। तिमीहरू अहिंसक बन।

३) कार्तिक अमावस्याका अर्थात गाई तिहार

कार्तिक अमावस्याका दिन तिहारको तेश्रो दिन हो।यस दिनमा माताको रुपमा पूजिने गाईको विशेषरुपमा पूजा गरिन्छ। यस दिन गाई बस्ने गोठको सरसफाइ गर्नुका साथै गाईलाई पनि सफासुग्घर राखेर पूजा गर्ने गरिन्छ। गाईलाई धनधान्य माता देवी लक्ष्मीको प्रतिक मानिने भएकाले साँझपख मठ मन्दिर तथा घर आगनमा बत्ती बालेर झिलिमिली पार्दै लक्ष्मीपूजा पनि गरिन्छ। यस दिनको राति माता लक्ष्मी पृथ्वीलोकमा आउने र आशिर्वाद तथा वरदान दिने धार्मिक विश्वासका साथ घरको आगनमा रहेको तुलसीको मोठदेखि वा मुल दैलोदेखि घरभित्रका पूजा स्थल तथा कोठाहरुसम्म गाईको गोबर तथा रातोमाटोले लिपेर, आगनमा रंगोली र लक्ष्मीको पैतालाको छाप बनाएर पूजा आजा गरिन्छ। भगवान रामले कार्तिक कृष्ण औंसी अर्थात आजको दिनमा राज्यारोहण गरेको खुसीयालीमा अयोध्यावासीले दीपावली गरेको र बहिनी यमुनाको सत्कारबाट यमराज खुसी भएका कारण नरक जान नपर्ने धार्मिक विश्वासमा झिलिमिली बत्ति बालेर खुसियाली मनाइएको धार्मिक विश्वास गरिन्छ। यस दिनको राती समूह बनी घरघरमा पुगेर महिलाहरुले धार्मिक ग्रन्थ, आस्था, विश्वास, परम्परा अनुसार यमुना-यमराज, बली राजा, भगवान राम लगायतको गाथा भट्याउदै गाउदै भैलिनी खेल्दछन्। तर, हिजोआज पुरुषहरुले पनि भैलेनी खेल्ने गर्दछन्। हिजोआज भैलिनीलाई धार्मिक क्रियाकलापका अतिरिक्त मनोरञ्जन तथा हर्षोल्लासको महत्वपूर्ण क्षण र आर्थिक सहयोग जुटाउने सुवर्ण अवसरकारुपमा पनि लिएर गीत संगितको समिश्रणसहित परिस्कृत र परिमार्जित रुपमा भैलिनी खेल्ने गरिन्छ। यस दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती पनि परेकाले विभिन्न कार्यक्रम गरि लक्ष्मी जयन्ती पनि मनाइन्छ।

४) कार्तिक शुक्ल परेवा अर्थात गोरु तिहार

यो कार्तिक शुक्ल प्रतिपद तिथिको दिन हो। जसलाई गोरु तिहार भनिन्छ। यस दिन धार्मिक मरम, मुल्य, मान्यता र विधि अनुसार गोरुको पूजा गरिन्छ । यस दिन गोवर्द्धन र बलि राजाको पनि पूजा गरिन्छ। यस दिनको राती मुख्य गरी पुरुषहरुले समूहमा मिलेर द्येउसी खेल्ने चलन छ। हिजोआज भने महिलाहरुले पनि महिला-महिला मिलेर वा पुरुषहरुसंग मिलेर पनि देउसी खेल्ने गर्दछन्। यस दिन नेवारी समुदायका लागि विशेष दिन हो। जसलाई नेवारहरु महःपूजा ज्यू(शरिर)पूजाको दिन भनिन्छ। यस दिन नेवारी समुदायले धार्मिक विधि अनुसार आफ्नो शरीरको विशेष पूजा गर्ने गर्दछन्। यो दिन नेपाल संवत् अनुसार नयाँ वर्ष प्रारम्भको दिन पनि भएकाले शुभकामना आदानप्रदानसहितको हर्षोल्लासको रौनक हुने गर्दछ।

५) कार्तिक शुक्ल द्वितीया अर्थात भाइतिहार

यो दिनलाई तिहारको प्रमुख दिन अर्थात पाँचौं दिन हो। जसलाई भाइतिहार अर्थात भाइटिका भनिन्छ। यस दिन दिदीबहिनीहरूले दाजुभाइलाई श्रध्दा र भक्तिपूर्वक टीका लगाइदिन्छन्। धार्मिक आस्था र विश्वासका आधारमा यस दिन दिदीबहिनीले यम-यमुना, यमराज, यमदूत, सूर्य तथा अष्टचिरञ्जीवीको पूजा गर्ने गरिन्छ। पात्रो अनुसार साइतमा दिदीबहिनीले दाजुभाइको चीरायु, सुस्वास्थ्य, सुख, शान्ति, ऐश्वर्यको कामनासहितको प्रार्थना गर्दै निधारमा सप्तरंगी टीका, दूबो, मखमली, सयपत्री तथा गोदावरीको माला लगाइदिन्छन्। धार्मिक विधि अनुसार भाइटिका लगाइसकेपछि दिदीबहिनीले दाजुभाइलाई सगुन, प्रसाद, सेलरोटी, मिठाईं, फलफूल, मसला आदि प्रदान गर्ने र दाजुभाइले दिदीबहिनीलाई उपहार तथा दक्षिणा प्रदान गर्ने प्रचलन छ। यस दिन दिदीबहिनीले हृदयदेखिकै प्रार्थना गरेका कारण खुसी भएका यमराजको आदेश अनुसार यमदूतले धर्तीबाट मानिसलाई यमलोक नलैजाने धार्मिक विश्वास रहिआएको छ। बहिनी यमुनाको निम्तो मान्न दाजु यमराज यमलोकबाट धर्तीमा आएको र कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन बसेको धार्मिक कथन छ। जसलाई यमपञ्चक पनि भनिन्छ। यही पाँच दिनलाई नेपालमा नेपालीहरुले परापूर्वकालदेखि नै महान चाड ‘तिहार’ भनेर सम्बोधन गरी, हर्षोल्लासका साथ मनाउदै आइरहेका छन्।

यसरी धार्मिक, साँस्कृतिक, सामाजिक, पारिवारिक, परम्पार, रितिरिवाज, पहिचान र गरिने विविध क्रियाकलापहरुका दृष्टिकोणले ‘तिहार’ बहुआयामी भएको र चाडको महिमा, गरिमा, पहिचान, मर्म र महत्व वृहत रहेको पुष्टि हुन्छ।

Facebook Comments Box