कांग्रेसको ३२ जिल्ला सभापति चुनिए : कुन पक्षका कति ?

    १० मंसिर, काठमाडौं  /   नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबारदेखि एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लाहरुमा जिल्ला अधिवेशन सुरु भएको छ ।

प्रदेश २ का आठ जिल्लाबाहेक अधिकांश जिल्लामा जिल्ला अधिवेशन सुरु भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार शुक्रबारसम्म ३२ जिल्लामा अधिवेशन सम्पन्न भएको छ । कांग्रेसले दशैंअघि नै हिमाली जिल्लामा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो । तर २२ हिमाली जिल्लामध्ये दशैंअघि जम्मा १३ जिल्लामा मात्रै अधिवेशन सम्पन्न भएको थियो ।

महाधिवेशनको पछिल्लो संशोधित कार्यतालिका अनुसार मंसिर ६ गतेदेखि जिल्ला अधिवेशन सुरु भएको हो । एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका ३५ जिल्लामध्ये तीन जिल्लामा मात्रै नेतृत्व चयन हुन बाँकी छ । प्रतिनिधिसभाको दुई निर्वाचन क्षेत्र रहेको गोरखामा दशैंअघि नै अधिवेशन भइसकेको थियो ।

दार्चुलामा शुक्रबार अधिवेशन भएपनि साँझसम्म मत परिणाम सार्वजनिक भइसकेको छैन । रसुवामा वडा अधिवेशन मात्रै भएको छ भने धनकुटामा अधिवेशन हुन सकेको छैन । सोलुखुम्बुमा मंसिर १४ गते दोस्रो चरणको निर्वाचन हुँदैछ । जिल्ला सभापति पदमा तीन उम्मेदवार भएकामा कसैले पनि बहुमत ल्याउन नसकेपछि निर्वाचन दोस्रो चरणमा हुने भएको हो ।

अहिलेसम्म सार्वजनिक भएको जिल्ला अधिवेशनको परिणाम अनुसार सभापतिमा संस्थापन समूह र इतर समूहबीच कडा प्रतिस्पर्धा देखिएको छ । ३२ जिल्लामध्ये संस्थापन समूहले १७ जिल्लामा र १४ जिल्लामा संस्थापनइतर समूह विजयी भएको छ ।

रुकुम पश्चिमबाट सभापतिमा सर्वसम्मत चयन भएका प्रेमप्रकाश वलीले आफू कुनै गुटमा नरहेको बताएका छन् । उनले अनलाइनखबरसँग भने, ‘समय आएपछि गुट खुलाउँला । अहिले मलाई कांग्रेसकै रुपमा बुझिदिनुस् ।’ कांग्रेस संस्थापन समूहले भने वली आफूनिकट भएको दावी गरेको छ ।

संस्थापन समूहबाट ताप्लेजुङमा गजेन्द्रप्रसाद तुम्याहाङ, हुम्लामा मोहनविक्रम सिंह, रामेछापमा पूर्णबहादुर तामाङ (कान्छाराम), मुगुमा ऐनबहादुर शाही, बझाङमा खडक बोहरा, म्याग्दीमा खमबहादुर गर्बुजा र मनाङमा शंकर गुरुङ जिल्ला सभापति चुनिएका छन् ।

त्यस्तै सल्यानमा केशरबहादुर विष्ट, डोल्पाबाट दिपेन्द्र शाही, डडेल्धुरामा भीमबहादुर साउद, जुम्लामा कर्णबहादु शाही, जाजरकोटमा बेदराज सिंह, पाँचथरमा रुपनारायण जवेगु र लमजुङमा डा. टकबहादुर गुरुङ सभापतिमा निर्वाचित भएका हुन् ।
जाजरकोटका सिंह र मनाङबाट गुरुङ सर्वसम्मत सभापति चयन भएका हुन् । सभापति पदमा निर्वाचित डोटीका नरेन्द्रबहादुर सिंह, ओखलढुंगामा तेजेन्द्र खनाल र पर्वतमा युवराज जोशी संस्थापननिकट हुन् ।
त्यस्तै संस्थापनइतर समूहबाट संखुवासभाको जिल्ला सभापतिमा दीपक खड्का, कालीकोटमा अम्मबहादुर शाही, दोलखामा बर्मा लामा, मुस्ताङमा रोमी गौचन, रुकुम पूर्वमा केशरमान रोका, गोरखामा नन्दप्रसाद न्यौपाने र बाजुरामा रामसिंह रावल चुनिएका छन् ।

अर्घाखाचीमा केशव श्रेष्ठ, प्यूठानमा विष्णुकुमार गिरी, बैतडी चतुरबहादुर चन्द, भोजपुर विनोद बान्तवा र तेह्रथुममा अर्जुनबहादुर तुम्बाहाङ्फे जिल्ला सभापतिमा निर्वाचित भएका छन् । त्यस्तै रोल्पाका सभापति किशोर आचार्य र खोटाङबाट सभापति निर्वाचित विष्णुकुमार राई संस्थापनइतर समूहका हुन् ।

शुक्रबार, १० मंसिर, २०७८, रातीको ०९:४८ बजे

सम्बन्धित खवर