प्रदेश प्रमुख मानीय परशुराम खापुङले किरात धर्मका संरक्षक गुरु लाफयङले देखाउनुभएको बाटोलाई सदा पच्छ्याउनुपर्ने बताउनुभएको छ । नेपालको संविधानले सबै भाषा, धर्म, संस्कृतिको सम्मान गर्ने कुरा उल्लेख गरेको स्मरण गर्दै प्रदेश प्रमुख खापुङले सबैलाई संरक्षण गरेर लैजानुपर्नेमा जोड दिनुभएको थियो ।                             

फल्गुनन्द नोमाङ्गेना सेवा संघ, इलामले किरात धर्म संरक्षक गुरु लाफयङ (देवबहादुर तुम्बापो) ७९ औं जन्मजयन्ति तथा गुरुको पूर्णकदको शालिक अनावरण कार्यक्रममा प्रदेश प्रमुख खापुङले सो कुरा बताउनु भएको हो ।

चुलाचुली १, कमल इलाममा आयोजित कार्यक्रम फल्गुनन्द नोमाङ्गेना सेवा संघद्वारा स्थापित फल्गुनन्द लाफयङ बहुभाषिक पाठशालाको सातौ वार्षिकोत्सवसहित मनाइएको थियो । कार्यक्रममा चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ, उपाध्यक्ष दिला लावती योङहाङ, वडा नं. १ का अध्यक्ष पूर्ण लावती, किरात सत्यहाङ्मा सेवा संघका अध्यक्ष ज्ञानोदय लावतीले मन्तव्य राख्नुभएको थियो ।                                         

फल्गुनन्द–लाफयङ बहुभाषिक पाठशालाका संस्थापक अध्यक्षसमेत रहनुभएका डम्बर कुमार तुम्बापोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङका महासचिव निरन्ती तुम्बापो, युएन नवोदय कलेज धरानका एसोसिएट प्रोफेसर ज्ञानेश्वर झा लगायतको उपस्थिति थियो ।                                                                           

कार्यक्रममा प्रदेशस्तरीय एसई डान्सिङ स्टारमा प्रथम भएकी नुमा लिम्बूको नृत्य तथा गायिका दीपा लामाको गति प्रस्तुत भएको थियो । त्यसैगरी चुलाचुलीबाट एसइईमा प्रथम हुने भूमिका जबेगु, चुलाचुलीबाट सक्रिय पत्रकारिता गरिरहेका इलाम टाइम्स डटकमका जीतमान राई सविनलाई नगदसहित पुरस्कार प्रमुख अतिथिको हस्तबाहुलीबाट भएको थियो ।

Facebook Comments Box