राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा प्रमुख राजनीतिक पार्टीहरूलाई निम्ता

     काठमाडौं, पुस ११ / नेकपा (माओवादी केन्द्र) ले आइतबारदेखि सुरु हुने राष्ट्रिय सम्मेलनको उद्घाटनमा सत्रमा देशमा प्रमुख राजनीतिक पार्टीहरुलाई निम्ता गरेको छ । माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार नेपाली काँग्रेस, नेकपा एमालेसहित प्रमुख राजनीतिक दलहरुलाई निम्ता गरिएको रातोपाटीलाई जानकारी दिए । दिउँसो १ बजे सुरु गर्ने भनिएको उद्घाटन सत्र केही ढिला गरी ३ बजेबाट सुरु गरिने पनि ढकालले बताए ।

माओवादीले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय शनिबार बसेको स्थायी समितिको बैठकले गरिसकेको छ । महाधिवेशनमा परिणत गर्ने निर्णयलाई आइतबार बिहान बस्ने केन्द्रीय समितिको बैठकले अनुमोदन गर्न बाँकी छ ।
सम्मेलनको सबै तयारी पूरा भइसकेको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सहायक सङ्गठन वाइसिएलले विभिन्न स्वागतद्वार बनाएको छ । सम्मेलन परिसरमा पार्टीको झण्डा, तुल र ब्यानरसमेत राखिएका छन् । प्रज्ञा भवन परिसरमामा डिस्प्लेमार्फत उद्घाटन सत्रको प्रत्यक्ष हेर्ने व्यवस्था मिलाइएको छ । राष्ट्रिय सम्मेलन (आठौँ महाधिवेशन) मा सहभागी हुनका लागि देशभरका सातवटै प्रदेश र तीनवटा गैरभौगोलिक प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षण काठमाडौँमा आइसकेका छन् ।
तीन दिनसम्म चल्ने सम्मेलनमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन, विधानलगायतका दस्तावेज पेश हुनेछन् । ती प्रतिवेदनमाथि विभिन्न २० वटा समूह बनाएर छलफल गर्ने कार्यक्रम तयार भएको छ । त्यसमा आवश्यकताअनुसार केही परिवर्तन पनि हुन सक्नेछ । माओवादीले प्रज्ञा प्रतिष्ठानका सबै हल र पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सामूहिक छलफलको व्यवस्था मिलाएको छ ।

आइतबार, ११ पुष, २०७८, बिहानको १०:०३ बजे

सम्बन्धित खवर