के हो भित्ते काण्ड ? 

२०५१ सालको मध्यावधि निर्वाचनपछि नेकपा एमालेले अल्पमतको सरकार बनायो। तर, ९ महिनामै मध्यावधि निर्वाचन घोषणा गरियो। वर्षदिन नपुग्दै घोषणा भएको दोस्रो मध्यावधि चुनावलाई लिएर राजनीतिक दलहरु विभाजित भए। संयुक्त जनमोर्चाले पनि मध्यावधि चुनावको विरोध जनायो।

रत्नपार्कस्थित विद्युत प्राधिकरणको भित्तोलाई राजनीतिक दलहरुले आफ्नो नारा लेख्न खुबै प्रयोग हुन्थ्यो। कतिपय अवस्थामा त्यो प्रतिष्ठाको विषय पनि बन्ने गर्थ्यो। त्यहाँ एउटा दलले लेखेको नारा अर्को दलले मेट्नेसम्मका हर्कत हुन्थे। यही हर्कतले जन्माएको थियो – पोस्टर काण्डरभित्तो काण्ड।

भित्तामा संयुक्त जनमोर्चाले जेठमै मध्यावधि निर्वाचन बहिस्कार गर्न अपिल गर्दै नारा लेख्यो। त्यसलाई एमालेका कार्यकर्ताले असार २३ गते राति मेटिदिए। भोलिपल्टै संजमोले आफ्नो नारा लेख्यो।

यस्तो चलिरहन्थ्यो र झडप भइरहन्थ्यो। यो प्रसंगमा पनि सानातिना झडप भइरहेकै थिए।

साउन मध्यतिर यो प्रक्रिया फेरि सुरु भयो। संजमोको नारा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ताले मेटिदिए। र, एमालेको चुनावी नारा लेखे।

साउन २१ गते संजमोका महासचिव पम्फा भुसाल, हिसिला यमि तथा शक्ति लम्सालहरुले एमालेलाई उक्त नारा मेट्न अनुरोध गरे। तर, कुनै सुनुवाइ गरेनन्। त्यसपछि, उनीहरु आफैंले नारा मेट्न थाले। नजिकै केन्द्रीय कार्यालय रहेको अनेरास्ववियुका कार्यकर्ताले प्रतिकार गर्न थाले। त्यसले झडप निम्त्यायो। झडपमा संजमोका दिनेश शर्मा र अनेरास्ववियुका राजेन्द्र राई गम्भीर घाइते भए। अन्य धेरै सामान्य घाइते भए।

घटनापछि पम्फा भुसाल, हिसिला यमि, शक्ति लम्साल, भीम अधिकारी लगायतलाई प्रहरीले गिरफ्तार गर्‍यो।

भोलिपल्ट संजमोका अध्यक्ष डा बाबुराम भट्टराईले एक विज्ञप्ति जारी गर्दै पीडित पक्षलाई नै दोषको भागीदार बनाउने गरी गिरफ्तार गरिएको र एमाले सरकारले अपनाउन लागेको सामाजिक फासिवादी ज्वलन्त रुप देखिएको बताए।

साउन २३ गते संजमोले सिंहदरबारअगाडि धर्ना आयोजना गर्‍यो। गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम पनि थियो। सिंहदरबारतर्फ अघि बढेको जनमोर्चाको जुलुसलाई एमालेका कार्यकर्ताले भद्रकाली नपुग्दै आक्रमण गरे।

रुपनारायण श्रेष्ठ, राजेन्द्र राई लगायत एमालेका नेताहरु जनमोर्चाविरुद्धको आक्रमणमा उत्रिएका थिए। रुपनारायण श्रेष्ठले बाबुराममाथि खुकुरी प्रहार गर्न खोज्दा अग्लो कदका लेखराज भट्ट र बक्सरसमेत रहेका सुरेश आले मगरले श्रेष्ठको हात समातेर बाबुरामलाई जोगाए। बाबुराममाथिको प्रहार रोक्ने क्रममा लेखराजलाई चोट लाग्यो भने बाबुराम जोगिए (अविराम बाबुरामरअनिल थापा)।

अनेरास्ववियुको त्यस आक्रमणको नेतृत्व अहिलेका पर्यटनमन्त्री योगेश भट्टराईको नेतृत्वमा आएका विद्यार्थी र कार्यकर्ताले गरेका थिए।

‘साउन २१ सिंहदरबारअगाडि शान्तिपूर्ण तवरबाट धर्ना दिइरहेका संयुक्त जनमोर्चाका नेता एवं कार्यकर्तामाथि अनेरास्ववियुका अध्यक्ष योगेश भट्टराईको नेतृत्वमा गएको एक हुलले सांघातिक आक्रमण गरेको थियो, २०५२ साउन २८ गतेको देशान्तर साप्ताहिकमा प्रकाशित समाचारमा उल्लेख छ।

त्यसपछि डा भट्टराई आफ्ना नेता तथा कार्यकर्ता लिई भोटाहिटीतिर लागे। रत्नपार्क क्षेत्रमा तैनाथ रहेका प्रहरीले जुलुसमाथि अन्धाधुन्ध अश्रुग्यास फ्याँके।

२३ गते संजमोका अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्रीलाई विरोध तथा ज्ञापनपत्र पनि बुझाउन खोज्नुभएको थियो। तर प्रमले बुझ्न अस्वीकार गरेपछि सो पत्र हुलाकमार्फत पठाइएको छ। विरोध तथा ज्ञापनपत्रमा थुनामा रहेका पम्फा भुसाल, हिसिला यमि, शक्ति लम्साल लगायतका व्यक्तिहरुलाई रिहा गरी संजमो समर्थकमाथि लगाइएको मुद्दा र वारेन्ट खारेजी, गुण्डागर्दी गर्ने एमाले पक्षधरहरुको गिरफ्तारी र निजहरुमाथि सख्त कारबाही, दिनेश शर्मा लगायत घाइतेहरुको समुचित उपचारको व्यवस्था, भित्तामा नेकपा (माओवादी) को प्रचार सामाग्रीको पुनर्स्थापना र नष्ट नहुने ग्यारेन्टी तथा एमाले पार्टी र सरकारका प्रतिपक्षी पार्टीहरुप्रति अपनाइएका नवफासिवादी रवैया र गतिविधिमाथि रोकको माग गरिएको छ, । घटनाबारे २०५२ साउन २६ गतेको साप्ताहिक विमर्शमा लेखिएको छ।

यस घटनालाई अन्य वाम पार्टीले पनि आलोचना गरे। विभिन्न ९ वटा वाम दलले साउन २४ गते संयुक्त विज्ञप्तिमार्फत विरोध गरे। विज्ञप्ति जारी गर्नेमा नेपाली कम्युनिस्ट लिगका शम्भुराम श्रेष्ठ, नेकपा (एकता केन्द्र) का नरबहादुर कर्माचार्य, नेकपा (मसाल) का दीनानाथ शर्मा, नेकपा (संयुक्त ) का विष्णुबहादुर मानन्धर, नेकपा (मार्क्सवादी) का लोकनारायण सुवेदी, संयुक्त जनमोर्चा (वैद्य) का लीलामणि पोखरेल, क्रान्तिकारी वाममोर्चा नेपालका नन्दकुमार प्रसाई, जनएकता मोर्चाका मोहनचन्द्र अधिकारी र संयुक्त जनमोर्चा (भट्टराई) का डा बाबुराम भट्टराई थिए।

‘सो भित्तामा गत असार १६ गतेदेखि नेकपा माओवादीको मध्यावधि चुनाव बहिस्कारसम्बन्धी प्रचार सामाग्री लेखिएकोमा एमालेले आफ्नो विद्यार्थी संगठनमार्फत गत साउन १७ गते सो प्रचार सामग्री मेटेर एमालेको चुनावी नारा लेख्नु सरासर बलमिचाइँ र बदमासीपूर्ण देखिन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘सो कुराको विरोध गर्न साउन २१ गते त्यहाँ गएका नेकपा माओवादीका समर्थकहरु र संयुक्त जनमोर्चा नेपाल तथा अन्य जनवर्गीय संगठनका नेता र कार्यकर्तामाथि उल्टै एमाले समर्थकहरुले सांघातिक आक्रमण गर्नु र एमाले सरकारले पीडित पक्षका नेताहरु पम्फा भुसाल, हिसिला यमि, शक्ति लम्साल आदिलाई गिरफ्तार गरेर थुनामा राख्नु ज्यादै निन्दनीय काम हो।’

विज्ञप्तिमा अगाडि भनिएको छ-  ‘वर्तमान घटनाक्रम एउटा भित्तामा नारा लेख्ने विषयसँग मात्र सम्बन्धित नभएर एमाले पार्टीको मार्क्सवादबाट पथ विचलनको परिणाम र सामान्य बुर्जुवा प्रजातान्त्रिक अधिकारसमेत हनन गर्ने गैरप्रजातान्त्रिक चरित्रको नमुना हो। पञ्चायत र कांग्रेसकालको अप्रजातान्त्रिक र विपक्षीहरुप्रतिको दमनकारी नीतिलाई समेत उछिन्ने एमाले पार्टी र सरकारको यस्तो सर्वसत्तावादी र आतंककारी गतिविधिको सबै प्रजातान्त्रिक र वामपन्थी शक्तिहरुले विरोध गर्नु आवश्यक छ।’

त्यस्तै उनीहरुले साउन २८ गते जुलुस निकाल्नुका साथै खुलामञ्चमा आमसभा समेत गरे। सभालाई सम्बोधन गर्दै डा भट्टराईले भने, ‘संशोधनवाद भनेको हरियो सर्प हो, यसले डस्ने काम गर्दछ। एमालेका कार्यकर्ता नयाँ मण्डले हुन्। त्यसैले अब एमाले कम्युनिस्टबाट पतन भई तानाशाह बनेको छ तर उसले चुनाव जित्यो भने हिटलर र पञ्चायतभन्दा कम हुनेछैन। यदि एमालेले बाबुरामको टाउको काट्यो भने मनमोहन र माधवहरुको टाउको पनि रहने छैन।’

(२०५२ साउन २६ गते विमर्श साप्ताहिकमा छापिएको तस्बिर)

बिहिबार, १५ फागुन, २०७६, दिउँसोको ०३:१७ बजे

सम्बन्धित खवर