चुनाव नजिकिँदै, युवा विदेशिदै

    विमल लामिछाने
दमक/ गाउँ गाउँमा सिंहदरवार ल्याउने र घरघरमा स्वरोजगार दिने नारा र अग्ला झण्डा बोकेर दलबलसहित अहिलेपनि टोल टोलमा भोट माग्ने कार्य शुरु भइसकेको छ ।
विगतमा लामो समयको कोरोना महामारी र बेरोजगारीका कारण नजिकिँदै गरेको चुनावलाई लत्याउँदै विदेशीनेको संख्या पनि गुणात्मक बढेको छ ।
सबैजसो दलहरुले चुनावी घोषणापत्रमा युवालाई विदेशिनबाट रोक्न र स्वदेशमा नै रोजगारी दिने कुरा प्राथमिकतामा राखेपनि अब युवाहरुले चुनावी नारालाई खासै पत्याउन छाडेका छन् ।
पछिल्ला महिनामा रोजगारीका लागि विदेशिने नेपाली श्रमिकको संख्यामा ह्वात्तै वृद्धि हुँदै आएपनि फागुनमा भन्दा चैतमा विदेश जान श्रम स्वीकृति लिनेको संख्या २ हजारले घटेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार चैत महिनामा ५५ हजार ५२३ जना नेपाली रोजगारीका लागि विदेश गएका छन् । चैतमा दैनिक औसत १ सय ८५० जना श्रमिक विदेश गएका छन् भने बैशाख पहिलो साता पनि सोही अनुपातमा विदेशिनेको संख्या कायमै रहेको छ ।
वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या गत जेठयता लगातार उकालो लागिरहेकामा पुसबाट घट्न सुरु गरेको थियो । बितेको चैत महिनामा बाहिरिएका साढे ५५ हजारमध्ये २७ हजार १५६ जनाले नयाँ श्रम स्वीकति लिएका थिए भने अन्यले श्रम स्वीकृति नवीकरण गरेका थिए ।
फागुन महिनामा ५३ हजार ४५७ जना विदेश जान श्रम स्वीकृति पाएका थिए । माघ महिनामा यस्तो संख्या ५४ हजार ४७० जना थियो ।
गत पुस महिनामा दैनिक औसत वैदेशिक रोजगारीमा जानेको संख्या करिब २ हजार र मंसिरमा २ हजार ५ सय थियो । पुस महिनामा ६६ हजार ६२५ जना श्रमिकले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए भने मंसिर महिनामा ७४ हजार ३५४ जना नेपाली श्रमिक वैदेशिक रोजगारीका लागि विदेश पुगेका थिए ।
वैदेशिक रोजगार विभागका अनुसार कोरोना महामारीका कारण दुई वर्षयता वैदेशिक रोजगारीमा आएको संकट हट्दै गएपछि विदेशिने नेपालीको संख्या नियमित गतिमा फर्किएको छ ।
नेपालमा संघीयतासहितको पहिलो स्थानीय तहको निर्वाचनपश्चात हरेक भौतिक संरचनामा होडबाजीसहित बजेट खर्चेको देखिन्छ । स्वरोजगारको लागि खासै चासो राखेको पाईएन । भौतिक संरचना पनि युवालाई समेट्ने र विदेश पलायन हुनबाट रोक्ने अभिप्रायका बन्नुका साटो अधिकांश विलासी र मनोरञ्जनका लागि बनेका वा बन्दै गरेका भेटिन्छन् । अति आवश्यकभन्दा पनि कम आवश्यक कुरामा जनप्रतिनिधिको ध्यान केन्द्रित भएको पाइन्छ ।
आलिसान प्रशासनिक भवन, पार्क, पोखरी र विभिन्न व्यक्ति तथा जनावरका प्रतिमा आवश्यक भए पनि योभन्दा अति आवश्यक मनिने घरेलु उद्योग, स्वास्थ्य चौकी, विद्यालय भवन, सामुहिक कृषि प्रणाली पहिलो आवश्यकता थियो । त्यो हुन नसक्दा अहिले पनि खाडी मुलुक कतार, साउदी अरेबिया र यूएईमा जाने नेपालीको संख्या धेरै छ । कुवेत, ओमान लगायतका देशमा पनि नेपालीहरु गइरहेका छन् ।
चैत महिनादेखि मलेसियाबाट पनि माग आउन थालेकाले अब विदेसिने नेपालीको संख्या केही बढेको हो । विभागका अनुसार २०७८ वैशाखमा २४ हजार ३६३ जना नेपाली रोजगारीका लागि विदेश गएका थिए । तर, जेठमा विदेशिने नेपालीको संख्या घटेर ४ हजार ८६ मा सीमित भएको थियो । असारमा २० हजार ६५८ जना नेपालीले विदेश जान श्रम स्वीकृति लिए ।
विभागका अनुसार साउनमा २५ हजार ४२८ जना, भदौमा ३६ हजार ४० जना, असोजमा ३९ हजार ६७१ जना र कात्तिक महिनामा ५४ हजार ९१८ जना नेपाली कामका लागि विदेश उडेका थिए ।
देशमा स्थानीय जनप्रतिनिधी छान्ने बेलामा अहिले पनि धेरैजसो युवाहरु वैदेशिक रोजगारी, अध्ययन र व्यवसायको सिलसिलामा विदेशमा नै रहनु दुखद पक्ष हो । यति बेला ठूलो संख्याका नेपाली देशबाहिर हुनु र उनीहरुको भोटिङ राइट्र्स नहुनु बाद्यतामात्र नभएर विडम्बना पनि हो  ।
यहीँ भएकाहरुपनि कतिको फोटो खिच्न नपाएर मतदाता नामावलीमा नाम नै छैन । कतिचाहिँ फोटो खिच्ने बेलामा स्वदेश भएर पनि निर्वाचनताका विदेश हुने कारण मतदानमा सहभागी हुन पाउने छैनन् । आसन्न निर्वाचनमा मतदाता नामावलीमा नाम नभएर मतदान गर्नबाट वञ्चित हुन पुग्ने धेरै हुनेछन्  ।
विगतको निर्वाचनमा पनि यो खाले समस्या नभएको भने होइन तर युवा शक्ति जो विदेश बस्न बाद्य छ उसलाई पनि मतदानमा समेट्नुपर्छ भन्ने मानसिकता राजनीति दलहरुमा विकास हुनुपर्ने थियो, तर त्यो हुन सकेन ।
स्थानीय तहमा युवालाई स्थापित गर्न सकिएमा उनीहरूमा विद्यमान ऊर्जावान क्षमतालाई बहुआयामिक ढंगले मुलुक र नागरिकको हितमा अधिकतम उपयोग गर्न सकिने मात्र होइन, राजनीति र प्रशासनप्रति युवाको विश्वास र आकर्षण वढाउनुका साथै विदेशमा रहेका लाखाँै युवालाई पुनः मुलुकमा फर्केर केही गर्ने जाँगर उमार्न सकिन्छ ।
समयमा निर्वाचन हुनु वा गराउने कुरा जति महत्वको हो, निर्वाचनमा कतिले भाग लिन पाए, कति जनता भोट हाल्ने नैसर्गिक अधिकारबाट बन्चित भए र निर्वाचन कस्तो भयो भन्ने अर्को कुरा अझ महत्वको हो । निर्वाचनमा कोही चुनिनु एउटा कुरा हो तर सहभागितामूलक प्रणालीबाट चुनियो चुनिएन, सबैले चुन्ने काममा भाग लिन पाए कि पाएनन्, सबैले चुन्ने तरिका जाने कि जानेनन्, चुनेको मान्छे सही तरिकाबाट छानियो भनी सबैले स्वीकार गरे कि गरेनन् त्यो चाहीँ सबैभन्दा महत्वको कुरा हो । जनताको अन्तरनिर्हित अपेक्षा पनि यही हो ।

 

बुधबार, १४ बैशाख, २०७९, बिहानको ०८:५५ बजे

सम्बन्धित खवर