अलपत्रहरुलाई घर पठाउँदै विराटनगर महानगरपालिका

दमक /  विराटनगर महानगरपालिकाले लकडाउनका कारण अलपत्र परेका नागरिकहरुलाई आ–आफ्नो गन्तव्यसम्म पुर्‍याउन थालेको छ ।

महानगरपालिकाले रोजगारी तथा पठनपाठनको शिलशिलामा विराटनगर आएका तर लकडाउनको कारण घर फर्किन नपाएका नागरिकहरुलाई आ(आफ्नो गन्तव्यसम्म पुर्‍याउन थालेको हो । विराटनगर महानगरपालिकाद्वारा घर फर्किन नसकेका आम नागरिक र विभिन्न स्कूल तथा कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई उनीहरुको घरपायक जिल्लासम्म लगिएको छ । १ महिना लामो लकडाउन अहिले तत्काल खुल्ने अवस्था नदेखिएपछि हिसान, प्याब्सन, एन–प्याब्सन, मोरङ्ग समाज र विराटनगरका यातायात व्यवसायीहरुको पहलमा लकडाउनमा फसेका सर्वसाधारणहरुलाई उनीहरुको सही गन्तव्यसम्म लगिएको हो ।

आईतबार बेलुकासम्म ९९ जना जना यात्रु बोकेको ७ वटा बस काठमाडौं पठाईएको छ । ती बसमा रौतहट, मकवानपुर, भक्तपुर र चितवन जिल्लाका बासिन्दाहरु रहेका छन् । त्यस्तै सोमबार विभिन्न संघसंस्थाहरुको सहयोगमा छोटा दुरीका गन्तव्य अन्तर्गत पूर्वमा झापाको काँकडभिट्टा देखि पश्चिममा सिरहा, सप्तरी र धनुषासम्मका लागि ३४ वटा बस पठाईने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिनुभयो ।

सवारीसाधन सञ्चालनका क्रममा खर्च हुने ईन्धन, सवारी चालक र सह–चालकलाई आवश्यक सेवा सुविधा विराटनगर महानगरपालिकाले व्यवस्थापन गरेको छ । महानगरपालिकाले आ–आफ्नो घर फर्किन चाहने आम नागरिक तथा विद्यार्थीहरुलाई सम्बन्धित वडा कार्यालयमा आफ्नो नाम, सम्पर्क नम्बर तथा गन्तव्यको जानकारी गराउन अनुरोध गरेको छ ।

सोमबार, १५ बैशाख, २०७७, बिहानको १०:५३ बजे

सम्बन्धित खवर