दमक नगरको बजेट एक महिनापछि पास

 दमक/  दमक नगरपालिकाले नगर सभामा बजेट पेस गरेको एक महिनापछि बजेट पास गरेको छ । बुधबार बसेको नगर सभा बैठकले आर्थिक वर्ष ०७९/८० को बजेट, नीति तथा कार्यक्रम पारित गरेको हो । यसअघि एमालेबाट निर्वाचित जनप्रतिनिधिले बारम्बार अवरोध गरेपछि बजेट पारित हुन सकेको थिएन ।

यसअघि बसेको कार्यापालिका बैठकमा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरूले बजेट पास गर्ने मौखिक सहमति जनाएका थिए । १० असारमा आर्थिक वर्ष ०७९/८० का लागि बजेट पेस भएको थियो । बजेट पास गर्न २७, २९ असार र ३ साउनमा बैठक बसेको थियो । तर, बजेट भने पास हुन सकेको थिएन ।

स्थानीय सरकार सञ्चालन ऐनमा असारभित्र बजेट पारित गर्नुपर्ने उल्लेख छ । तर, एमालेको विरोधका कारण बजेट पारित हुन सकेन । यसअघि नगर सभा सदस्यले बोल्न नपाएको भन्दै नगर सभा एमालेले अवरोध गरेको थियो । तर, बुधबार उसले अवरोध हटाएपछि बजेट पारित भएको हो ।

बुधबार, ११ साउन, २०७९, साँझको ०६:१६ बजे

सम्बन्धित खवर