तीज नेपालभर मनाइन्छ भने भारतका कुनै–कुनै प्रान्तमा पनि मनाइन्छ

भाद्र शुक्ल तृतीयाका दिन शिवको पूजा, सप्तऋषिको पूजा, नाचगान, व्रत बसेर तीज मनाउने प्रचलन छ । नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । यो पर्व मुख्य रूपले नेपालभर मनाइन्छ भने भारतका कुनै–कुनै प्रान्तमा पनि मनाइन्छ ।
तीजको दर खाने प्रचलन प्राचीन समय कालदेखि नै चल्दै आएको इतिहास छ । विवाहपश्चात जन्मेको घर छाड्ने बखत ‘नरोई जाउ चेली तीजमा म लिन आउला’ भनेर भाइ या दाइले वचन दिएको हुन्छ । हाम्रो संस्कार त्यही हो तीज त्यही नै हो, मात्र हाम्रो दर खाने प्रचलनमा आधुनिकताले छोएको अनुभव सबैमा भान हुन्छ । भगवान् शिवकी अर्धाङ्गिनी हिमालयपुत्री पार्वतीले भगवान् शिवको स्वास्थ्य तथा शरीरमा कुनै बाधा उत्पन्न नहोस् भनेर पहिलो व्रत राखेकी थिइन् । त्यो दिन यही हरितालिका तीजको दिन थियो । त्यसैदिनदेखि आजसम्म हिन्दू नारीहरूले यो पर्व मनाउँदै आएका छन् ।
४ दिने तीज पर्वको पहिलो दिन दर खाइन्छ । तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दू नारीहरूले दर खाने परम्परा छ । ख्याल गरेर दर खाएमा तीजको दिन आरामसँग व्रत बस्न र नाचगान गर्न सकिन्छ तर व्रत बस्दा र दर खाँदा दीर्घरोगका बिरामीले विशेष ध्यान दिनुपर्ने हुन्छ ।

तीजको दरमा सात्विक भोजन नै उत्तम
सात्विक, राजसी र तामसी भोजनको रंग, क्षेत्र, गुण सबैको आ–आफ्नो विशेषता छ । तीजमा दर खाने भोजन हाम्रो परम्पराअनुसार सात्विक भोजन हो तर पछिल्लो समय आएर धेरैले सात्विक भोजन धेरैले छोड्न थालेका छन् । विशेष गरी शहरी ईलाकामा सात्विकभन्दा तामासी भोजन बढी चाख बढेको प्रस्ट छ ।
शरीरलाई आवश्यक पर्ने सम्पूर्ण पोषक तत्व भोजनमा पाइन्छ । सात्विक भोजन गर्दा शान्ति, संयम, पवित्रता र आनन्दजस्ता गुण विकसित हुन्छन् । परिश्रमपूर्वक आफ्नै धनद्वारा ल्याएका पवित्र खाद्य पदार्थहरू सात्विक भोजनमा पर्छन् । गाईको दूध र गाईको दूधबाट बनेका सबै परिकारहरू घ्यू, गहुँ, चामल, जौं, मुग, हरियो पात भएको साग, घिरौला, लौका, आदि सात्विक भोजनअन्तर्गत पर्छन् ।
तामसी भोजन गर्दा चाहिँ क्रोध, एकोहोरोपन, अहंकार र विनाश जस्ता अवगुणमा वृद्धि हुन्छ । अरुलाई दुःख दिएर आर्जन गरेको धन तामसी धन हो । माछा–मासु, जाँड, रक्सी, तमाखु, गुडका, अण्डा, बासी भोजन, तीतो, पिरो, टर्रो, दुर्गन्धयुक्त किराले खाएको, अपवित्र, प्याज–लसुन, सलगम, सुपारी, आलसको तेल, पिडालु, कर्कलो आदि सबै तामसी परिकारमा पर्छन् ।
दरमा धेरै चिल्लो पदार्थ प्रयोग गर्नु राम्रो मानिँदैन । दर आफ्नो शरीरलाई चाहिने मात्रै खानुपर्छ, दरमा विभिन्न परिकारसँगै सलादको मात्रा पनि धेरै राख्नुपर्छ । सामूहिक रूपमा दर खाँदा ‘फूड पोइजन’ हुनसक्ने भएकाले सचेत हुनुपर्छ । दरसँग अल्कोहल पिउनु राम्रो होइन । व्रत बस्दा र दर खाँदा दीर्घरोगका बिरामीले विशेष ध्यान दिनुपर्छ । खीर, चाम्रे, ढकनी, घ्यू, दूध, दही, पच्चफरम आलु, ताजा फलफूल, ताजा फलको रस, सेलरोटी, साबुदाना खिर, सेवाइ, मौलिक रोटीका परिकारहरू सेवन गर्न सकिन्छ ।
दर खाने भन्ने बित्तिकै साविकभन्दा ज्यादा खान खोजिन्छ, यो गलत हो । सामूहिक रूपमा घरबाहिर दर खाँदा होस र्पुयाएर ‘सेलेक्टेड’ खाना मात्र खानु राम्रो हुन्छ । अल्कोहल नलिनुस्, जसले तपाईंलाई फाइदा गर्दैन । पोषणका लागि दरमा दुग्ध खाद्य पदार्थ खानु राम्रो मानिन्छ । दूध, दही, मखन, घिउ जस्ता खानेकुराले शरीरलाई लामो समय शक्ति दिने खाद्य प्राविधिज्ञ बताउँछन् तर यो पनि आफ्नो शरीरले मागेसम्म मात्र खानु राम्रो । सकेसम्म भारी खालका खानेकुरा नखाँदा उत्तम मानिन्छ ।
हिन्दू संस्कृतिमा हुने ८४ व्यञ्जनको मान्यताले पनि थोरै मात्रामा धेरै परिकार खाने प्रचलन छ । बजारमा पाइने केमिकलयुक्त कलर हालिएका मिठाइहरू सेवन नगर्दा वेश हुन्छ । आधुनिक तीजको दरमा माछामासु खान मन हुनेले खाँदा खासै फरक नपर्ने विज्ञहरूको तर्क छ ।
तीजको दरमा दालभात तरकारी, गेडागुडीको रस, खारेको घ्यु, सादेको आलु, मुस्ताङ आलु, ड्राइनट्स, आलुको अचार, गाँजरको हल्वा, चुकन्दरको हलुवा, माल्पुवा, दूधरोटी, कुराउनी, पेडा, पनिर मसला, सलाद, प्रशस्त डिटक्स या अल्कलाइन पानी सेवन गर्नु उत्तम हुन्छ । आफ्नो मौलिक र परम्परागत भोजन नै तीजको दरका लागि पर्याप्त पोष्टिक आहार हुन्छ । एकैपटक धेरै खाना खानुभन्दा पटक–पटक गरी थोरैथोरै खानु राम्रो र स्वास्थ्यवद्र्धक मानिन्छ । भोजन सेवन गर्दा मोबाइल या टीभीमा अल्झिने काम गर्नु हुँदैन ।

शनिबार, ११ भदौ, २०७९, बिहानको ०७:४५ बजे

सम्बन्धित खवर