पछिल्लो चुनाव हार्नेहरुलाई उम्मेदवार नबनाउँने एमालेको निर्णय

    ११ भदौ, काठमाडौं / नेकपा एमालेले ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि २२ भदौभित्र उम्मेदवार सिफारिस गरिसक्न तल्ला कमिटीहरुलाई निर्देशन दिएको छ ।
शनिबार सकिएको केन्द्रीय कमिटीको बैठकले प्रदेश वा प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गर्ने, जिल्ला र प्रदेशले त्यसमा थप सुझाव दिएर केन्द्रमा नाम पठाउने विधि तय गरेको हो । उम्मेदवारको अन्तिम टुंगो भने केन्द्रले लगाउने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
तल्ला कमिटीहरुलाई एक महिलासहित ३ जनाको उम्मेदवार सिफारिस गर्न भनिएको छ । तर समानुपातिकतर्फ एक पटक अवसर पाएकाहरुलाई आम रुपमा नदोहोर्‍याउन भनिएको छ । ‘एक पटक अवसर प्रयोग गरेका नेता, कार्यकर्तालाई आम रुपमा दोहोर्‍याउनु हुन्न । यस्ता क्षेत्रमा पालैपालो प्रणाली अपनाउनुपर्छ’ उपमहासचिव गुरुङले भने ।

स्थानीय तहमा निर्वाचित भएकाहरुलाई पनि राजीनामा गराएर उम्मेदवार सिफारिस नगर्न भनिएको छ ।
त्यस्तै एमालेले पछिल्लो पटक भएका कुनै पनि निर्वाचनमा पराजित भएकाहरुलाई उम्मेदवार नबनाउन भनेको छ । अन्य पार्टीबाट प्रवेश गरेकाहरुको हकमा भने विशेष निर्णय गरिने गुरुङले जानकारी दिएका छन् ।

प्रत्यक्षतर्फ कति पटक उम्मेदवार हुने भनेर किटान गर्नु व्यवहारिक नहुने भएकाले जित्ने सम्भावना बढी र संसदीय भूमिका प्रभावकारी खेल्न सक्ने व्यक्ति हेर्नुपर्ने समेत एमालेको निर्णय छ ।

शनिबार, ११ भदौ, २०७९, दिउँसोको ०४:३६ बजे

सम्बन्धित खवर