माओबादी चुनावी मोडलमा जाने, दोस्रो तहका नेता आत्तिन थाले

दमक / माओबादी केन्द्रले चुनावी मोडलमा जाने योजना तय गरेसँगै दोस्रो तहका नेता आत्तिन थालेका छन् । नेताको फेर समातेर सिँडी चढ्दै आएका कतिपय नेताहरु चुनावी मैदानमा जानुपर्ने र कार्यकर्ताको मत लिनुपर्ने भएपछि त्रसित बन्न थालेका छन् ।

नेकपा माओवादी केन्द्रले अब भने सबै तहको नेतृत्व निर्वाचनबाट नै चयन गर्ने तयारी गरेको छ । वडा, प्रदेश तथा संघीय निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय समितिसहित सबै कमिटीको नेतृत्व निर्वाचनबाट चुनिएर आउनुपर्ने गरी माओवादी केन्द्रले कार्यविधि बनाएको हो ।

तल्ला कमिटीहरुका सम्मेलन राष्ट्रिय सम्मेलनअघि नै सकिएर नेतृत्व चयन हुनेछ । माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय यसअघि नै गरिसकेको छ। वडादेखि केन्द्रसम्म दुई लाख ८५ हजार पदहरुमा निर्वाचनमार्फत नेतृत्व चयन गर्ने तयारी माओवादीले गरेको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका सबै तहको नेतृत्व निर्वाचनबाट चुन्ने घोषणा गरिसकेका छन् । आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलनको मिति तय गरेको माओवादीले वडा, प्रदेश, संघीय निर्वाचन क्षेत्र, जिल्ला, र केन्द्रीय समितिसहित सबै कमिटीमा निर्वाचनबाट नेतृत्व चुनिएर आउनुपर्ने कार्यविधि बनाइसकेको छ। त्यसलाई कार्यान्वयन गर्ने प्रचण्डको भनाइ छ ।

माओवादी केन्द्रले पहिलो पटक सबै पदमा निर्वाचनको अभ्यास गर्न लागेको हो। यसरी वडादेखि केन्द्रसम्म दुई लाख ८५ हजार पदमा चुनाव हुनेछ। तर, विगत र हालैका केही निर्णयलाई हेर्ने हो भने प्रचण्डले पार्टीभित्र चुनाव होइन सहमतिका आधारमा नेतृत्व चयन गर्दै आएका छन्।हालै मात्र चुनाव नभएकै कारण पार्टीको भातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को नेतृत्व चयन कठिन भयो।

वाईसीएलका एक नेताका अनुसार प्रचण्डले चुनाव नगर्न निर्देशन दिएकैले नेतृत्व चयन हुन सकेन। वाईसीएलको राष्ट्रिय सम्मेलन आगामी मंसिरदेखि फागुनभित्र गर्ने समझदारी गरेर संयोजक र सहसंयोजक चयन गरी केन्द्रीय समितिलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरिएको छ।

यस्तै, अखिल क्रान्तिकारीको नेतृत्व समेत सहमतिका आधारमा गर्नुपर्ने प्रचण्डको निर्देशन रहेको क्रान्तिकारीका एक पदाधिकारीले बताए। ‘असोज ९ मा तय गरिएको बैठक असोज १४ देखि १६ गतेलाई सार्नुको एउटा कारण नेतृत्वमा सहमति खोज्नु पनि हो,’ ती नेताले भने।

तर, असोज ४ गते अध्यक्ष प्रचण्डले केन्द्रीय निर्वाचन समितिको भर्चुअल कार्यक्रममा सबै तहको नेतृत्व निर्वाचन प्रक्रियाबाट चयन हुने भन्दै त्यसैअनुसार तयारीमा जुट्न माओवादी केन्द्रका मातहत कमिटीलाई निर्देशन दिए। अहिलेसम्म माओवादी केन्द्रले आफूलाई लेनिनवादी संगठनात्मक सिद्धान्त बोकेको पार्टी भन्दै आएको छ।

सोमबार, ११ असोज, २०७८, बिहानको ०८:३८ बजे

सम्बन्धित खवर