दशैका लागि दिनहुँ १० करोडका नयाँ नोट

काठमाडौँ , ११ असोज/   दसैं र तिहारका लागि भन्दै सर्वसाधारणले प्रतिदिन १० करोड रुपैयाँ बराबरको नयाँ नोट साटिरहेको राष्ट्र बैंकले जनाएको छ । यो राष्ट्र बैंक केन्द्रीय कार्यालय बालुवाटार र सातवटै प्रदेशमा रहेका प्रादेशिक कार्यालयबाट सर्वसाधारणका लागि वितरित नयाँ नोटको मात्र तथ्यांक हो । यसमा सो अवधिमा बैंक तथा वित्तीय संस्था र अरू संघसंस्थालाई वितरित नयाँ नोटको तथ्यांक समेटिएको छैन ।
‘केन्द्रीय कार्यालयबाट दैनिक औसत ४ सय ५० र प्रादेशिक कार्यालयबाट दुई हजारका दरले सर्वसाधारणले राष्ट्र बैंकबाट नयाँ नोट सटही गरिरहेका छन्,’ राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपालले भने, ‘सर्वसाधारणले औसतमा दैनिक १० करोड रुपैयाँका दरले नयाँ नोट सटही गरेको देखिन्छ । दसैं नजिकिँदै जाँदा नयाँ नोट सटही गर्न आउने क्रम बढेको छ ।’ राष्ट्र बैंकले सर्वसाधारणका लागि यही असोज ४ देखि सर्वसाधारण र त्यसको दुई साताअघिदेखि बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट वितरण गर्दै आएको छ । ‘बैंक तथा वित्तीय संस्था र सर्वसाधारणलाई गरी हालसम्म करिब ४ अर्ब ६० करोड बराबर नयाँ नोट राष्ट्र बैंकको ढुकुटीबाट बाहिरिएको छ,’ नेपालले थपे ।
हाल बैंक तथा वित्तीय संस्थाले पनि सर्वसाधारणका लागि नयाँ नोट वितरण थालेका छन् । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये १६ वटाले सूचना जारी गरेर सर्वसाधारणका लागि नयाँ नोट वितरण सुरु गरेको जानकारी राष्ट्र बैंकलाई पठाएका छन् । राष्ट्र बैंकका अनुसार बाँकी बैंक तथा वित्तीय संस्थाले पछि छिट्टै वितरण सुरु गर्ने भएका छन् । ‘बैंकहरूले हरेक दिन समय नै तोकेर सर्वसाधारणलाई सूचना जारी गरेका छन्,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘बैंकहरूले आफ्ना ग्राहकलाई मात्र उक्त सुविधा दिएका छन् ।’ यसकारण सर्वसाधारणले आफ्नो खाता रहेको बैंकमा गएर बढीमा १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट सटही गर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।
यो वर्ष राष्ट्र बैंकले सर्वसाधारणलाई प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट वितरण गरेको छ । यो ५ देखि १ सय रुपैयाँसम्मको एक/एकवटा बन्डल हो । बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले २ देखि ५ करोड रुपैयाँसम्म नयाँ नोट दिएको छ । सम्बद्ध बैंकमा ढुकुटीको क्षमता, ग्राहकको मागलगायत आधारमा क, ख र ग वर्गका वित्तीय संस्थालाई उल्लिखित रकम प्रदान गरिने राष्ट्र बैंकले जनाएको छ । सोही क्रममा आइतबारसम्म बैंक तथा वित्तीय संस्थाले ४ अर्ब ६० करोड रुपैयाँ लगिसकेका छन् ।
दसैं र तिहारका अवसरमा हरेक वर्ष औसतमा ६० देखि ७० अर्ब रुपैयाँ बराबर नयाँ नोट राष्ट्र बैंकको ढुकुटीबाट बाहिरिँदै आएको छ । यसमध्ये १२ देखि १५ अर्ब रुपैयाँ सर्वसाधारणलाई जान्छ । बाँकी रकम बैंक तथा वित्तीय संस्थाले बैंकिङ प्रयोजनका लागि उपयोग गर्छन् । कोभिडका कारण गत वर्ष भने राष्ट्र बैंकले नयाँ नोट वितरण गरेन । खासगरी सर्वसाधारणले सयभन्दा साना दरका नोट धेरै साट्छन् । बैंक तथा वित्तीय संस्थाले सयभन्दा माथि (५ सय र हजार) दरका नोट बढी उपयोग गर्दै आएको राष्ट्र बैंकले जनाएको छ । यो रकममा सिक्काको हिसाब हुँदैन । दसैं र तिहारको अवसरमा सामान्य सिक्कासँगै चाँदी र सुनले बनेका सिक्का (चाँदीका स्मारिका सिक्का र सुनका असर्फी) पनि धेरै बिक्री हुँदै आएको छ ।
दसैं र तिहारका लागि नयाँ नोटको माग बढ्दो छ । मागअनुसार राष्ट्र बैंकले बर्सेनि वितरण गरिने नयाँ नोटको परिणाम पनि बढाउँदै आएको छ । यसले बजारमा मुद्रा आपूर्ति बढाउँछ । यसको अर्थ नागरिकको हातहातमा धेरै पैसा पुग्छ । हात हातमा पैसा भएपछि खर्च गर्ने प्रवृत्ति बढ्छ । खर्च गर्ने क्षमता बढेपछि माग बढ्छ । माग बढेपछि बजारमा वस्तु तथा सेवाको मूल्य बढ्छ । यसले समग्र राष्ट्रको मूल्य वृद्धिदर बढाउँछ । मूल्य वृद्धिदर बढ्नु भनेको पैसाको क्रयशक्ति (भाउ) घट्नु हो । यसकारण पैसाको मूल्य तीव्र रूपमा घट्न नदिन अर्थशास्त्री सुझाउँछन् । नयाँ नोट वितरण राष्ट्र बैंकका लागि चुनौतीपूर्ण बन्दै गएको उनीहरूले बताएका छन् ।
राष्ट्र बैंकले नोट छपाइ, वितरण तथा व्यवस्थापनमा वार्षिक करिब ३ अर्ब रुपैयाँ खर्च गर्छ । नोटको माग बढेअनुसार यस्तो खर्च पनि बढ्छ । यसले राष्ट्रको व्ययभार बढाउँछ । यो क्षेत्रमा गरिने लगानी तुलनात्मक रूपमा अनुत्पादक मानिन्छ । नोटको आयु यति नै वर्ष हुन्छ भन्ने नतोकिए पनि जतनले उपयोग गरे धेरै वर्षसम्म टिकाउन सकिन्छ । यो वर्ष वितरण गरेको नयाँ नोट राष्ट्र बैंकमा फर्किंदा पुरानो भएर आउँछ । नागरिकको माग पूरा गर्न राष्ट्र बैंकले ठूलो धनराशि खर्च गर्नुपर्छ । यसरी हरेक वर्ष ठूलो मात्रामा नयाँ नोट छपाइ गर्दा प्रयोग नभएकै अवस्थामा स्टकमा रहेको पुरानो नोटको पनि आयु सकिँदै जाने र नयाँ नोटको आयु पनि सकिने जानकार बताउँछन् ।

सोमबार, ११ असोज, २०७८, दिउँसोको ०४:३२ बजे

सम्बन्धित खवर