सोह्रश्राद्धमा ‘साईंला बा’ को सम्झना

विमल लामिछाने

 विमल लामिछाने /   

सोह्रश्राद्धलाई पितृमोक्षको पाटो मानेर पितृका नाममा श्राद्ध गर्ने, पितृको सम्झनामा तरणतारण गराउने हिन्दु पाश्चात्य संस्कृतिको मर्म र विधि हाम्रो समाजमा रहँदै आएको छ ।
परिवारले आफ्ना पितृहरुलाई स्मरण गर्ने आफ्नै तरिका हुन्छन् । यहाँ मैले स्वर्गीय (ससुरा बुबा) ‘साईंलाबा’ को स्मरण गर्दै शब्दचित्रमा विगतलाई उतार्ने प्रयास गरेको छु ।
जीवनका भोगाई, रहनसहन र उकाली ओरालीहरुको जीवनी प्रस्तुत गर्नु बहुत गाह्रो विषय हो । सामान्य रुपमा वर्णन गरेर जीवन भोगाईको कुरा शब्दमा उतार्न सम्भव नहोला तर सामान्यतया पछिल्ला दिनहरुमा भएका भलाकुसारी र दृष्यावलोकनहरुलाई यहाँ प्रस्तुत गर्नु आजको दिनमा सान्दर्भिक ठानेको छु ।
साईंलाबाको जीवनमा पूर्णविराम लागेको सातवर्ष भएछ । यस पुन्य तिथिको घडीमा झट्ट सम्झिँदा अगाडि आएजति कुराहरुलाई स्मरण गर्ने कोशिस मात्रै हो यो मेरो ।
हो, साच्चै साईंलाबा अर्थात ‘भट्टराई साईंला’ हामीमाझ हुनुहुन्न । उहाँका सकारात्मक र नकारात्मक सबै सन्दर्भहरुलाई एउटा गतिलो पूर्णविरामले टुङ्ग्याइदिसकेको छ । मान्छेहरु भन्छन्— ‘मरेपछि कुरै सकियो’ । खेलै खत्तम, चोला उठ्यो तर म यस विषयमा फरक मत राख्ने गर्दछु, र भन्छु ‘मरेपछि मात्र मान्छेको जीवनकहानी, भोगाई र जीवन यात्राका कुराहरु सुरु हुन्छन् । उसको वास्तविक समिक्षा अनि मात्र सुरु हुन्छ । हरेक नयाँ पुस्ताले उसको समिक्षा गर्दछ । नसम्झेकाहरुले पनि सम्झन्छन् । शीर झुकाउँछन् र श्रद्धा गर्छन्, समवेदना व्यक्त गर्छन्, फूल चढाउँछन् र फोटोमा भएपनि ढोगिदिन्छन् । उहाँ यस्तो हुनुहुन्थ्यो, उस्तो हुनुहुन्थ्यो भनेर वर्णन गर्छन्, गुणगान गाउँछन् । कुनै न कुनै रुपमा मान्छे मरेपछि चर्चा पाउने गर्छ’ ।
मान्छेको महत्व मरेपछि अझबढी थाहा हुदोरहेछ । आज उहाँको व्यक्तित्वका आयामहरु केलाउनुपर्ने घडी आएको छ, उहाँका उत्प्रेरक र अनुकरणीय आयामहरु हाम्रा लागि उदाहरण बनेका छन् । नम्रता र सरलता उहाँको आन्तरिक व्यक्तित्वको एक महत्वपूर्ण पक्ष थियो भने अर्को महत्वपूर्ण पक्ष स्वाभिमान, निस्वार्थता र दुःख कष्ट खप्नसक्ने क्षमता हो ।
जीवनको कठिनपथमा हिड्दा आउने दुःखलाई उहाँले सहज रुपमा लिने र पचाउने गर्नुहुन्थ्यो । आफ्नो क्षमताले भ्याएसम्म पैदल यात्रा गर्नु नै राम्रो हो भन्ने धारणा थियो उहाँमा । यो पाटो यो पुस्ताका लागि उदाहरण मात्र नभएर चुनौतिको पक्ष पनि हो ।
हिन्दुधर्म संस्कारभित्रै हु्र्किएको भएपनि सास्कृतिक रुपान्तरणमा समय अनुकुल अघि बढ्नुपर्छ भन्ने मान्यता थियो उहाँमा । पारिवारिक संरचनाले ल्याएको बाध्यात्मक स्थितिमा या परिवर्तित सोच भनौं जे भएपनि दिमागको एउटा पाटामा क्रान्तिकारी विचारको प्रवेश सहज पाउन सकिन्थ्यो । ‘साईंलाबा’ मा ।
सातवर्ष पहिले ‘साईंलाबा’ ले हाम्रो माझबाट जुरुक्क उठेर कहिल्यै नफर्किनेगरी विदाइका हातहरु हल्लाउनु भएथ्यो । वियोगले आँशुको वर्षा गराएको स्मरण भईरहेछ आज पनि । परिवारका आँखाहरुबाट केन्द्रीकृत धाराहरु छुटे त्यो बेला । शोकाकुल बन्यो भट्टराई परिवार । उहाँको निधन हाम्रा लागि गहिरो आघात र एक अपुरणीय क्षति बन्यो । यो क्षतिले हामीलाई दुःखी बनायो । यो दुःखको घडीले अहिले पनि सताइरहेछ । स्मृतीमा साईंलाबाको सातवर्ष पार गरिरहँदा पनि ७५ वर्षकै उमेरमा स्वर्गको बाटो रोज्नुहोला, ‘साईंलाबा’ को प्राणपखेरु यति चाँडै उड्ला भनेर कसैको मनले सोचेकै थिएन ।
मेची अञ्चल, ताप्लेजुङ जिल्ला साँघु गाविसको तुम्वे गाउँमा १९९५ साल पौष ३१ गते पिता स्व.कमलापति भट्टराई र माता स्व. विष्णुमायाको कोखबाट साईंला सन्तानका रुपमा जन्म लिनुभएको थियो उहाँले । जसको नाम ‘रघुनाथ ’ रहन गयो ।
चञ्चले स्वभावको गहँुगोरो वर्णको रघुनाथको बाल्यकाल बुबा—आमा र दुई दाजुहरुको रेखदेखमा बितेको थियो । पूर्वको तीर्थको शीर भनेर चिनिने ताप्लेजुङ जिल्लाको चिसो र स्वच्छ हावापानीमा हुर्किएपनि हिजोआजका नानीहरुलेझैं स्कूले जीवनको गोरेटो भने हिँड्न पाउनुभएको थिएन, साईंलाबाले ।
मान्छे जन्मेपछि जति बढ्दै जान्छ उति उति कर्मको खोजीमा भौतारिन्छ भनेझैं २०१२ सालबाट ताप्लेजुङ निवासी भानिज दाजु भवानी गौतमसँग ज्योतिषशास्त्रको अध्ययन सुरु गरेर कार्मकाण्डको विधिबारे राम्रो अध्यायन गर्न भने सफल हुनुभएको थियो । उहाँले गीता, वेद, रुद्री, चण्डीलगायत विवाह, व्रतवन्धजस्ता धार्मिक पुस्तकहरुको राम्रो ज्ञान हाँसिल गर्नुभएको थियो । पछिल्लो समय यही पण्डित्याईं पेशालाई नै उहाँले मुख्य पेशा बनाउनु भएको थियो ।
समयक्रम बढ्दै जाँदा २०१५ साल फागुन २७ गते ताप्लेजुङ खाम्लाङ निवासी स्व.पर्शुराम दाहाल र स्व.भगवती दाहालकी जेठी सुपुत्री होमादेवीसँग पहिलो लगनगाँठो कसियो । पछि आएर २०३२ साल बैशाख १६ गते ताप्लेजुङ नाम्लोक निवासी स्व. कृष्णप्रसाद खतिवडा एवम् माता स्व. मनमाया खतिवडाकी कान्छी सुपुत्री इन्दिरा खतिवडासँग दोस्रो विवाह भएको थियो ।
२०१७ सालमा ताप्लेजुङ जिल्लाबाट भारतको आसाम राज्य अन्तर्गत पर्ने तत्कालीन ‘कामरुप’ जिल्लाको भुटानखुट्टी गाउँमा बसाइ सरेर जानुभयो । आसाम बसाइका बखत पनि उहाँले हिन्दुधर्म ग्रन्थ र कर्मकाण्डलाई निरन्तरता दिएको उहाँ आफै बताउनुहुन्थ्यो । यसले मात्र जीवन धान्न कठिन भएपछि भारतबाट वि.स.२०२४ सालमा पूनः नेपाल फर्किएर झापा जिल्लाको शनिश्चरे गाविसमा बसोवास गर्न शुरु गर्नुभएको थियो । वर्षदिन बित्न नपाउँदै झापाबाट मोरङको इटहरामा बसोवास शुरु गर्नुपरेको तितो यथार्थ उहाँसँगका संवादहरुमा प्राय जोडिरहनु हुन्थ्यो । इटहरामा चार बसन्त बिताएपछि उहाँले स्थायी रुपमा घरजम गरेर बस्न मोरङकै उर्लाबारीलाई रोज्नुभएको थियो ।
स्थायी बसोवासको टुङ्गो नहुदासम्म र छोराछोरी नहुर्केसम्मको स्थितिलाई कठिनाइको रुपमा लिनुभएको थियो उहाँले । खोलाबाढी लाग्नु, घरमा बज्रपात हुनु, रोगले च्याप्नु र महामारी फैलनुजस्ता कुराहरुले घरजममा कठिनाइ भएको महसुस थियो उहाँको । एकबेला ‘पखेटा ताने झिँगाको आन्द्राभुडी देखिन्छ’ भनेझैं हुन पुगिसकेको थियो रे घरायसी अवस्था, सन्तप्त त्यस कारुणिक कालखण्डका कयौ दिन र कयौ रात जलाहारको भरमा बिदा गरेका क्षण स्मरण थिए उहाँका ।
विगतका तिता, मिठा अनुभूतिहरु निकै नै छन् मनमा, स्मृतिमा, मानसिकतामा । मिठा अनुभवहरुले त त्यति नपिरोल्ने हुँदा स्मरण गरिदैन तर तिता अनुभूतिहरुले भने तारन्तार ऐठन पारेर मनमा बटारिदै गाँठो पर्दै उर्लदा रहेछन र यसको सन्तापले भित्रभित्रै भतभति पोलेपछि टुप्पीबाट पतपति धुँवा निक्लिदै भाउन्न हुनेगरी औडाहा छुट्दोरहेछ भनिन्छ, हाम्रो लागि उहाँको यो वियोग पनि अपवाद हुन सकेन ।
धार्मिक व्यक्तित्व, मिलनसार, सहयोगी, समाजसेवी, लगनशील, परिश्रमी र आफ्नो काम आफै गर्नुपर्छ, थालेको काम अधुरो छोड्नु हुँदैन भन्ने उहाँको धारणा थियो ।
ठूलो पीडाले झ्याप्प थिचेपछि स—साना व्यथाहरु आफै अलाप हुन पुग्छन् भनेझैं हुन गएछ पछिल्लो समय उहाँलाई । मुखभरी तारन्तार आइरहेको पानीलाई निल्न पनि सकिरहनु भएको थिएन, थुक्न पनि सकिरहनुभएको थिएन । कति दुःख, पीडा र कष्ट खपिरहनु परेको थियो पछिल्लो समय उहाँले । टाउको दुख्ने, रिङ्गटा लाग्ने, वाकवाक हुने, हातगोडा गल्नेजस्ता समस्याले सताउन थालेको थियो उहाँलाई ।
कच्चा शरिरमा रोगले चापेपछि विस्तारै गल्दै गएको रहेछ उहाँको शरिर । करिब ६ महिना अघिदेखि ओछ्यान पर्नुभएको थियो उहाँ । बचाउनका लागि पारिवारिक संयन्त्र नजुटेको भने होइन तर कसैको जोर चलेन । फोक्सोको ट्यूमरले जरा गाडिसकेको रहेछ । दिन दुईगुणा रात चौगुणाको दरले बढ्दै गयो, जसले क्यान्सरको रुप लिइसकेको रहेछ । भनिन्छ, ‘मान्छेले मर्नेबेलामा खान, लाउन वा गर्न मन लागेको कुरा ओकल्छ’ । तर उहाँको मुखबाट कहिल्यै यो खान्छु, त्यो लाउछु, यो ल्याओ भन्ने जस्ता शब्द बाहिर निस्केनन् तथापि खानेकुरामा उहाँलाई खीर, दुध—रोटी, फर्सी, (मोही, काँक्रा, पोलेको मकै विशेष मन पर्दथ्यो ।
जति पीडा भएपनि छोराछोरी र परिवारका लागि आफ्नो दुखाई, पोलाई खपेर कसैले कहाँ दुख्छ भनेर सोध्यो भने ‘कही दुख्दैन्’ भन्ने साङ्केतिक प्रतिउत्तर दिनुहुन्थ्यो । नेपालीमा एउटा उखान छ—‘दुइ श्रीमतीको पोइ, कुना पसि रोइ’ तर उहाँको जीवनले भने यो उखानलाई गलत सावित गरिदियो । अन्तिम क्षणसम्म दुवै श्रीमतीका हात र साथ पाइरहनुभयो । दुई श्रीमती र छोरा बुहारीहरुले उहाँका इच्छाहरुमा कहिल्यै चोट लाग्न दिनुभएन । यसैक्रममा उहाँको २०७१ साल बैशाख २ गते मंगलबार बिहान १०ः१० बजे आफ्नै निजी निवासमा देहवसान भयो । अन्ततः कर्याप्प निमोठिदियो उहाँको शरिर । झ्याप्प निभ्यो दियो ।
भनिन्छ—मान्छेको अन्तिम पहिचान मलामीको लर्काे र चिताको ज्वालामा देखिन्छ रे साँच्चै ‘साईंलाबा’ को मलामीको लर्काेले पूर्व पश्चिम यातायात नै जाम गरायो भने चिताको उर्लदो ज्वाला उस्तै दन्किएको थियो ।
मृत्यु शब्द आफैमा जति भयानक र डरलाग्दो छ त्यतिनै शाश्वत सत्य पनि छ । आजसम्म भौतिक जीवनमा कसैले मृत्युमाथि विजय प्राप्त गर्न सकेको छैन । जीवन भएर नै मृत्यु भएको हो, मृत्यु भएर नै जीवनको महत्व छ । धरातलमा जीवन—जीवन नै या मृत्यु— मृत्यु नै यी दुवैको एकल अस्तित्व सम्भव छैन । मृत्यु शाश्वत सत्य भन्ने कुरा जान्दाजान्दै पनि समान्यतः हामी सबै मृत्यु देखेर डराउछौं र स्वीकार गर्न चाहँदैनौं । आखिर मृत्युबाट जतिनै टाढा भाग्न चाहेपनि मृत्यु छाँया बनेर जीवनलाई पछ्याइरहन्छ । अन्ततः मृत्यु स्वीकार्न सबै बाध्य हुनैपर्छ । स्वर्गीय रघुनाथ भट्टराईप्रति समर्पित शब्दहरुका साथ हार्दिक श्रद्धासुमन ।

 

सोमबार, ११ असोज, २०७८, रातीको ११:०१ बजे

सम्बन्धित खवर