माओवादीका ‘चोके नेता र निम्छरो संगठन’

विमल लामिछाने

      ====  एक्काइसौं सताब्दीको राजनीतिक पार्टी भनेको सामाजिक वर्ग, चिन्तन र अभ्यासका प्रतिनिधि र नागरिक समाजको अगुवा नेतृत्व पनि हो । तर यहाँ सिद्धान्तको राजनीतिकि सुविधाको सिद्धान्त भन्ने अन्यौलता कायम नै छ । सुविधाको सिद्धान्त हो भने मार्गदर्शक सिद्धान्त नै फेरिएको भन्ने हिम्मत अब पार्टी, नेता र कार्यकर्तासमेतले गर्नुपर्छ । होइन भने आचरण सुधार्न सक्नुपर्छ ।=====

   विमल लामिछाने

सुविधा सिद्धान्तको व्याख्या हुँदै जाँदा वर्ग संर्घष कम्युनिस्टको राजनीतिक आत्मा हो भन्ने कुरा माओवादी नेता र कार्यकर्ताले बिर्सिंदै गए । जसकाकारण पार्टीले बोकेको वर्गीय चरित्र नै धरासायी र विचलितजस्तो भयो । हिजो कार्यकर्ता गाउँमा संगठन बनाउँन पुगेका बेला पार्टी र संगठन बलियो थियो । विचार पनि स्थापित थियो । अहिले कार्यकर्ता गाउँ छोडेर चोकमा बस्न थाले । ‘चोके’ भए । पार्टी पनि कमजोर भयो । संगठन पनि निम्छरो बन्यो ।

गत मंसिर २५ र २६ गते मोरङको सुन्दरहरैचामा भएको नेकपा माओवादी (केन्द्र) को प्रथम अधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै झापा क्षेत्र नं. १ का सांसद एवम् माओवादी नेता सुरेन्द्र कार्की (पार्थ) ले गरेको भाषणको एक अंश हो यो ।

के साँच्चै माओवादीका नेता ‘चोके’ र संगठन निम्छरो भएकै हो त ? हरेक मानिसको जीवनको मार्गचित्र राजनीतिक पार्टीको जस्तै कुनै न कुनै सिद्धान्त वा दर्शनद्वारा निर्देशित हुन्छ । त्यो जानेर वा नजानेर, थाहा पाएर वा नपाएर जे होस् सहज बुद्धिका सरल मान्छेहरुले थाहा नपाएका पनि हुन सक्छन् । कठिन आदर्शवादी बन्ने इच्छा रहँदा रहँदै पनि धेरैले सहज बाटो रोज्छन् । सिद्धान्तद्वारा डोरिँदा पनि जो कोही सामान्य अवस्थामा संगठनहीन भने त्यसै बन्दैन । कहिले ऊ प्रतिक्रियाले गर्दा त्यता हेलिन्छ । कहिले सुविधाको सिद्धान्त गढ्दा मौलिक सिद्धान्तबाट चिप्लन्छ । अहिले नेकपा माओबादीको सैदान्तिक पक्ष लर्वराएको छ र ब्यवहारिक पक्ष पनि चिप्लिँदै गएको छ ।

दर्शनमा दरिला, ब्यवहारमा निम्छरा

हरेक सिद्धान्तले एउटा आफ्नै आचरण, संस्कृति बनाएको हुन्छ र त्यसैमा ढालिनु पर्छ । चाहे त्यो राजनीतिक, आर्थिक होस् या धार्मिक सिद्धान्त किन नहुन् । मान्छेले फेर्न अत्यन्तै कठिन भनेको स्वभाव र संस्कृति हुन् । हुनत दार्शनिकहरु भन्छन्– सिद्धान्तहीनता हुनु पनि एउटा आफैंमा सिद्धान्त हो ।

कुनै पनि विधि नमान्ने अराजकतावादी हुन या आफैँलाई केन्द्रमा राखेर वा आफैँ र आफंै वरिपरिलाई मात्र सोच्ने व्यक्तिवादीहरु किन नहुन्, हरेक क्रियाकलापलाई दार्शनिक मान्यता र त्यसैको वरिपरि व्याख्या विश्लेषणको घेरामा कैद गर्ने श्रेय भने शास्त्रीय कम्युनिष्टले जति अरुले पाएका र जानेका हुँदैनन् ।

नेपालको सन्दर्भमा एक खाले माओवादीलाई आफ्नै गौरव बोझ बन्दै गएको अनुभूति हुन्छ । जनयुद्ध मनोयुद्धमा फेरिँदै जाँदा संसद भनेको बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो हो, यसलाई फेर्नुपर्छ भनेर फेर्न गएका स्वयं फेरिँदै गए । कसैलाई रापतापले उम्किनै दिएन । तर यो एकै दिनमा फेरिने क्रम पूरा भएको भने होइन । विद्रोहका राप र ताप सेलाँउदै जाँदा, शान्ति प्रक्रिया टुंगो लाग्न ढिलाइ हुँदै जाँदा, छिमेकमा सांस्कृतिक फाँसीवादले हुँकार छाड्दै जाँदा बहससमेत फेरिँदै गए । स्वयंकर्ता नै भ्रष्टीकरण हुन थाले । यसले संगठनलाई निम्छरो बनाउँदै लग्यो ।

कुनै दिन काक्रान्तिकारीहरू प्रतिक्रान्तिकारी बन्न थालेपछि उनीहरुको वर्ग पनि रुपान्तरण हुँदोरहेछ । शक्ति सन्तुलन हेरफेर अवधिमा अभिजात वर्ग केही पछि हटेजस्तो, मत्थर भएजस्तो हुन सक्छ । शक्ति सञ्चयका समयमा थाकेको, हारेको, परिवर्तनका एजेन्डा स्वीकारेको जस्तो देखिएपनि भद्र आवरणमा लडिरहेकाले समय घर्काउँदै विद्रोहका राप र ताप मलिन पार्दै शिथिल बनाइदिँदै जान्छन् । आशालाई निराशा र आक्रोशमा फेर्न विद्रोही शक्तिका मानवीय कमजोरी छामिँदा रहेछन् । सामाजिक परिवर्तनको मर्म, वजन र सन्देशलाई बिभत्सीकरण गरिन्छ । परिवर्तनका एजेन्डाको मूल चरित्रविरुद्ध धावा बोलिँदा रहेछन् । विचार भन्दा भावनामा खेलिँदा रहेछन् । वर्गीय एजेन्डा बहस विहीन बनाँइदा रहेछन् वा विषयान्तर वा न्यूनीकरण गरिँदै परिवर्तनवादीलाई भ्रष्ट पार्ने खेल खेलिँन पनि पछि नहट्ने जस्तोपनि देखियो । आपसी अविश्वास, भ्रम, र मनोमालिन्य गराएर फुटाउने र सास नगर्ने अभ्यास पनि नभएको भने होइन । चाहे त्यो नेकपाका नाममा होस् चाहे केन्द्रका नाममा । यी यावत विषयलाई अध्यायन गर्दा के पुष्टी भयो भने शान्तिप्रक्रियामा माओवादी दर्शनमा दरिला र ब्यावहारमा निम्छरा जस्ता देखिन पुगे ।

वर्गभन्दा सत्ता र सामूहिकभन्दा निजि चिन्ता

नेता कार्कीले भनेझैँ आर्दशबाट च्यूत गराएर अजेन्डा हकदाबीको नैतिक पुँजी ह्रास गराएपछि जनमानसलाई भ्रमित पार्न सजिलो हुँदोरहेछ । भूतपूर्व विद्रोहीहरु अहंंकार, घमण्ड, निजी विषय र बजार संस्कृतिका दास बन्दा परचक्रीलाई अनुकूलता हुन्छ । आलोचनात्मक चेत निषेध गरिएका कार्यकर्ताले खबरदारी गर्ने, सचेतना जगाउने र नियन्त्रण गर्ने काम गर्नै सक्दैनन् । अहिले त्यही भइरहेको छ ।

कम्युनिष्टहरुको समस्या भनेको नै पुस्तक र उदाहरण भन्दा बाहिर निक्लन नसक्नु हो । त्यसैले सामाजिक यथार्थ र धरातलीय वास्तकिता सम्बोधन हुन नसक्नुका कारण पनि यिनै हुन् । कहीँ पनि बनिबनाएका सिद्धान्तले क्रान्ति वा आमूल परिवर्तनको नेतृत्व गर्न सकेको छैन । चाहे त्यो लेनिनदेखि माओसम्म र गान्धीदेखि नेल्सन मण्डेलासम्म किन नहोस् तिनीहरुले आफ्नो देश, काल, परिस्थितिलाई सम्बोधन गरेर मात्रै आफ्ना एजेण्डामा व्यापक जनमत डोहोर्याउन सकेका थिए । क्रान्तिको सिद्धान्त अत्यन्तै लोकप्रिय, मानव संवेदनालाई छुने र विवेकशील मान्छेका मष्तिस्कलाई डोर्याउने शब्दजाल हो । तर, कयौँ देश र कालमा त्यो आफैँमा गोलचक्करमा घुमिरहेको पनि त्यत्तिकै सत्य हो । समय परिवर्तनशील छ, गतिशील हुन्छ । त्यो निरन्तर अगाडि बढिरहन्छ ।

वर्ग भन्दा सत्ता, र सामूहिक जीवनको भन्दा निजी चिन्ता, वर्गको भन्दा पारिवारिक मोह बढ्नु स्वभाविक जस्तो हुँदै जाँदो रहेछ । यहाँको तितो यथार्थ यही हो । त्यसैले राज्य सत्ताको रुप र चरित्र नै फेर्ने अभियानमा लाग्ने पार्टीहरुले समस्या–बाहिर कति हो, भित्र कति हो भनेर निर्मम समीक्षा गर्दै भावी कार्यनीति तय गर्नुपर्ने हुन्थ्यो । अग्रमनका एजेन्डा भएर मात्र हुँदैन । त्यसलाई जनताकै भाषा र लयमा बुझाउन आवश्यक हुन्छ । त्यसलाई नेतृत्वतहले कति निष्ठापूर्वक आत्मसात गर्छ, त्यति नै मात्रामा परिणाम अपेक्षा गर्न सकिन्छ । आदेश र अपेक्षाले मानसिकता फेरिँदैन । मानसिकता फेरिनत चेत परिवर्तन हुनप¥यो । आदर्शसँगै ब्यवहारिक पक्ष पनि सुधारिँदै लान सक्नुप¥यो । दर्शन र राजनीतिलाई सामाजिकीकरण गर्न सकिएन भने परिवर्तन संस्थागत हुनै सक्दैन । यो माक्सवादी सिद्धान्तले नै बोलिसकेको कुरा हो ।

नयाँ नेतृत्वले खोज्ला त जवाफ ?

एक्काइसौं सताब्दीको राजनीतिक पार्टी भनेको सामाजिक वर्ग, चिन्तन र अभ्यासका प्रतिनिधि र नागरिक समाजको अगुवा नेतृत्व पनि हो । तर यहाँ सिद्धान्तको राजनीतिकि सुविधाको सिद्धान्त भन्ने अन्यौलता कायम नै छ । सुविधाको सिद्धान्त हो भने मार्गदर्शक सिद्धान्त नै फेरिएको भन्ने हिम्मत अब पार्टी, नेता र कार्यकर्तासमेतले गर्नुपर्छ । होइन भने आचरण सुधार्न सक्नुपर्छ ।

परिवर्तनका पक्षधर मानिएका कम्युनिष्ट पार्टीका लिडरसिपहरु यो पटक केही सेलेक्सन र केही इलेक्सनबाट नेतृत्वमा आएका छन् । देशभर नै यी दुई प्रक्रियाबाट नेतृत्व निर्माण भएको छ । बागमती र एक नम्वर प्रदेशको सन्दर्भमा पनि थोरै भएपनि जनवादी प्रक्रियाको अभ्यासबाट नेतृत्व आएको छ । यो सकारात्मक पक्ष हो । नेता राम कार्कीका भाषामा भनिएका चोके नेता र निम्छरो संगठनलाई दरिलो र जनपक्षीय बनाउन देशभर छानिएका र चुनिएका नेतृत्वकोे भूमिका रहनुपछर्, अपेक्षा गरौं ।

[email protected]

सोमबार, १२ पुष, २०७८, बिहानको ११:१८ बजे

सम्बन्धित खवर