झापा, मोरङ र सुनसरीका फार्मेसीबाट लागूऔषधको कारोबार

झापा /    झापा, मोरङ र सुनसरीका कतिपय औषधी पसलहरुले लागुऔषध सम्बन्धी कारोबार गरेको खुलेको छ । कमाउ धन्दामा लागेका केही फार्मेशी सञ्चालकहरूको बदमासीको कारण विरामीले सेवन गर्ने औषधीको प्रदेश १ मा चरम दुरूपयोग हुने गरेको पाइएको छ ।

व्यवसायलाई बदमान गर्न लागिपरेका केही फार्मेशी संचालकहरूले औषधीको अनुचित प्रयोग गरि लागूऔषध दुव्र्येसनीहरूलाई बेच्ने गरेको पाइएको हो ।

सुनसरी, उदयपुर, झापा र मोरङमा अधिक यस्तो बद्मासी अधिक हुने गरेको पाइएको छ । औषधी व्यवस्था विभागले पछिल्लो समय जनगुनासो र प्राप्त सूचनाको आधारमा अनुगमन गर्ने क्रममा औषधीको चरम दुरूपयोग गर्ने गरेको फेला पारेको हो ।

औषधी व्यवस्था विभाग विराटनगले बिहीबार सुनसरी धरानका एक फार्मेशी संचालकले औषधीको अनुचित रूपमा दुरूपयोग गरि लागूऔषध बनाएर बिक्री वितरण गरेको आरोपमा पक्राउ गरेको छ । धरान–१८ घोपा क्याम्प अगाडिको बिम्ब फार्मेशीका संचालक नविन राईले औषधीको दुरूपयोग गरि लागूऔषध प्रयोगकर्तालाई बिक्री वितरण गरेको आरोपमा बिभागले पक्राउ गरेको हो ।

धरान ११ सयपत्री चौकस्थितबाट इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरानका २३ वर्षीय मुकेश कार्कीलाई पक्राउ गरेपछि फार्मेशी संचालक राईले औषधीको अनुचित रुपमा दुरूपयोग गर्ने गरेको खुलेको थियो । त्यही भएर विभागको टोलीले उनलाई पक्राउ गरेको हो ।

लागूऔषध प्रयोगकर्ता मुकेशलाई पक्राउ गरेपछि उनले दिएको बयानको आधारमा फार्मेशी सचालक राईलाई पक्राउ गरेको औषधी व्यवस्था विभाग विराटनगरले जनाएको छ । यसअघि केही फार्मेशीहरुले टामाडोललाई लागूऔषध बनाएर बिक्री वितरण गर्दै आएकोमा अहिले ‘अपोट्याब, ईसपाजमो र फोक्सिबो नामको औषधी मिक्स गरि लागूऔषधको रुपमा बिक्री वितरण गर्ने गरेको अनुसन्धानदेखि खुलेको विभागका फार्मेशी निरीक्षक दिपेन्द्र खड्काले जानकारी दिए ।

‘यसअघि ट्रामाडोल औषधी मिक्स गरि लागूऔषध बनाएर बिक्री वितरण हुने गरेको थियो,’ फार्मेशी निरीक्षक खड्काले भने, ‘अहिले नयाँ तथ्य खुल्न आयो । अहिले दुखाइ कम गर्ने ओपोट्याब, ईसपाजमो र फोक्सिबोन क्याप्सुल मिक्स गरि लागूऔषध बनाएर बिक्री वितरण गर्ने गरेको भेटिएको छ ।’ पक्राउ परेकाहरूलाई विभागले औषधी ऐन २०३५ अनुसार कारवाहीको प्रक्रिया अगाडि बढाएको छ ।

यसअघि पनि नेपाल औषधी व्यवसायी संघ उदयपुरका महासचिव विरेन्द्र कुमार झाले होलसेल औषधी पसल खोलेर औषधीको अनुचित प्रयोग गरि लागूऔषध प्रयोगकतालाई औषधी विक्री–वितरण गर्ने गरेको पाइएको थियो । उदयपुरको चौदण्डीगढी–७ मा गोपिकृष्ण मेकिडल हल औषधीको होलसेल पसल खोलेर झाले लागूऔषध प्रयोगकर्तालाई अनुचित रूपमा औषधी विक्री–वितरण गर्ने गरेको विभागले गरेको अनुगमनको क्रममा भेटेको थियो ।

झाले प्रिगाभालिन, ट्रामाडोल र डाइसाइक्लोमाइन नामको औषधी लागूऔषध प्रयोगकर्तालाई विक्री–वितरण गर्ने गरेको फेला परेको औषधी व्यवस्था विभाग विराटनगरका निमित्त कार्यालय प्रमुख सन्जिव शर्मा कट्टेलले जानकारी दिए । यी तीनवटा औषधी मिलाएर लागूऔषधको रूपमा सेवन गर्दछन् । क्यान्सरको समस्या भएकालाई दुखाई कम गर्न प्रयोग गरिने ट्रामाडोलले अरु औषधिसँग मिसाएर सेवन गर्दा लागुऔषधको काम गर्ने उनको भनाइ छ ।

प्रिगाभालिन नशा च्यापिएका बिरामीले प्रयोग गर्दछन् । डाइसाइक्लोमाइन औषधी दुखाइ कम गर्न बिरामीले सेवन गर्ने गरेको विभागले जनाएको छ । तर, कमाउ धन्दामा लागेका संघका महासचिव झाले महंगो मूल्यमा दुव्र्यसनीलाई दिने गरेको भेटिएको विभागका प्रमुख शर्माले जानकारी दिए । झाको पसलदेखि औषधी खरिद गर्ने लागूऔषध दुव्र्येसनीलाई पनि विभागले पक्राउ गरेको थियो ।

दर्जी पक्राउ परेपछि संघका महासचिब झाले औषधीको अनुचित प्रयोग गर्ने गरेको खुलेको हो । लागूऔषध प्रयोगकर्तालाई औषधीको अनुचित प्रयोग गर्दै विक्री गर्ने झाको पसल अर्को निर्णय नभएसम्मको लागि शिलबन्दी र उनलाई औषधी व्यवस्था विभागले औषधी ऐन २०३५ अनुसार कारवाहीको दायरमा ल्याउने निमित्त कार्यालय प्रमुख कट्टेलले जानकारी दिए ।

झाले १५ देखि ३० वर्ष उमेर समूहका युवाहरूलाई महंगो मूल्य लिएर औषधी विक्री–वितरण गरेको विभागले जनाएको छ । यसअघि पनि लागूऔषध प्रयोगकर्तालाई झाले औषधीको अनुचित प्रयोग गर्दै विक्री–वितरण गर्ने गरेको भेटिएको थियो

सोमबार, १४ असार, २०७८, बिहानको ०७:२७ बजे

सम्बन्धित खवर