कहिले शुरू भयो नेपालमा मकै खेती ?

इटालीका अन्वेषक क्रिस्टोफर कोलम्बसले मध्य–अमेरिकाबाट कैयौं वस्तु यूरोप पुर्‍याए। तीमध्ये एक थियो, मकै। त्यसवेला अमेरिकामा धान, गहुँ, जौ थिएन। मध्य–अमेरिकाको सबैजसो ठाउँमा मकै नै खाइन्थ्यो।

———————————————–

नेपालमा प्रमुख खाद्यान्न बालीमा धानपछि मकै पर्छ। हिमाली तथा पहाडी भेकमा मकैको निर्वाहमुखी खेती गरिन्छ भने तराई क्षेत्रमा व्यावसायिक खेती हुँदै आएको छ। कृष्णप्रसाद तिम्सिना र अरूहरू लिखित ‘मेज प्रडक्सन इन मिड हिल्स अफ नेपालः फ्रम फूड टु फिड सेक्युरिटी’ शीर्षकको लेख (सन् २०१६) अनुसार, मध्य–पहाडी भेकमा उत्पादित मकैमध्ये ८६ प्रतिशतभन्दा बढी मानिसले भोजनका निम्ति प्रयोग गर्छन्। तराईमा भने ८० प्रतिशत मकै गाईबस्तु र पक्षीको आहाराका रूपमा प्रयोग हुन्छ।

विगत केही वर्षयता नेपालमा मकैको उत्पादन बढेको देखिन्छ। आर्थिक वर्ष २०७५/७६ मा २६ लाख ४४ हजार मेट्रिक टन उत्पादन भएको थियो भने गत आव २०७६/७७ मा २८ लाख ३५ हजार मेट्रिक टन उत्पादन भएको तथ्यांक छ। तर, यति उत्पादनले नपुगेर वार्षिक सरदर रू.१५ अर्ब बराबरको मकै आयात हुँदो रहेछ। मकैबाट बनेका कर्नफ्लेक्स, कर्नफ्लोर लगायत वस्तु के–कति आयात हुन्छन्, लेखाजोखा छैन।

एसिया, अफ्रिका, यूरोप र अस्ट्रेलिया महादेशका निम्ति मकै नयाँ बाली हो। मेक्सिकोको दक्षिणपूर्वमा अवस्थित द बल्सस रिभर भ्यालीमा यसको उद्विकास भएको मानिन्छ। त्यहाँबाट फैलिँदै नेपालमा मकै खेती कहिले शुरू भयो होला? हाम्रा पुर्खाले यसको बीउ कुन माध्यमबाट फेला पारे र कहिलेदेखि यो हाम्रो मुख्य खाद्यान्न भयो होला?

यो लेखमा मकैको उद्विकास कसरी भयो र नेपालमा कहिले आइपुग्यो भन्नेबारे चर्चा गरिएको छ।

माहिज, मेज हुँदै मकै
इतिहास खोतल्दै जाँदा मकैको खोज १५औं शताब्दीताका यूरोपियनहरूको व्यापार तथा साम्राज्य फैलाउने गतिविधिसँग जोडिएको देखिन्छ। त्यस बखत यूरोपियनहरू विभिन्न देशमा पुगेर महत्त्वपूर्ण वस्तु यूरोप लैजान्थे। त्यस्ता सामग्रीको स्रोत ती देशहरूमा भरपूर रहेको पाए उपनिवेश पनि बनाउँथे।

उनीहरूले दक्षिण एसियाबाट अक्सर मसलाको व्यापार गर्थे। समुद्री मार्ग पत्ता नलागेको त्यो समयमा उनीहरू मध्य–एसियाको इरान, अफगानिस्तान, पाकिस्तान भएर भारत पुग्थे।

१५औं शताब्दीको मध्यतिर मध्य–एसिया, उत्तर अफ्रिका, दक्षिणपूर्व यूरोपमा मुस्लिम शक्ति उदय भयो। जसका कारण यूरोपका व्यापारीको भारत आवतजावत रोकिन पुग्यो। इटालीका अन्वेषक क्रिस्टोफर कोलम्बसले यूरोपबाट समुद्री मार्ग भएर भारत पुग्ने बाटो पत्ता लगाउने योजना बनाए। यसका लागि प्रशस्तै पैसा लाग्थ्यो। उनले पोर्चुगलको राजपरिवारमा बिन्ती चढाए। पोर्चुगाली राजपरिवारले नपत्याएपछि स्पेनको राजपरिवारसँग कुरा राखे। स्पेनी राजाले रुचि देखाए। तर, सबै कुरा मिलाउन करीब एक दशक लाग्यो।

सन् १४९२ मा कोलम्बस भारत पुग्ने छोटो समुद्री मार्ग पत्ता लगाउन स्पेनका तीन वटा मध्यम आकारका पानीजहाजमा ९० जना सहयोगी लिएर निस्किए। कोलम्बसलाई यूरोपबाट पश्चिमतर्फ लाग्दा भारत पुगिने विश्वास थियो। त्यो कुरा सहयोगीहरूले भने पत्याएका थिएनन्।

समुद्री यात्रा निरन्तर दुई महीनासम्म जारी रह्यो। तर, भारत पुग्ने कुनै छेकछन्द देखिएन। यत्तिकै फर्कने कि के गर्ने भन्ने मनस्थितिमा रहँदा एक दिन अर्को जहाजका माझीले समुद्री चराको एक झुन्ड उडिरहेको देखे। कोलम्बसले चरा उडेर गएको दिशातिरै जहाज लैजान आदेश दिए। नभन्दै, एउटा टापुमा पुगे। त्यहाँ मानिसहरू पनि देखिए।

त्यो टापु फेला नपरेको भए त्यो टोलीका सदस्यहरू समुुद्रमा यात्रारत अवस्थामै खानेकुरा लगायत अभावका कारण मर्ने अवस्था थियो। त्यसकारण कोलम्बसले भारत पुगेको भन्दै आफूहरूलाई भगवान्‌ले बचाएको ठाउँको अर्थमा टापुलाई ‘सन साल्वाडोर’ नाम दिए। यद्यपि स्थानीयले त्यो ठाउँलाई ग्वानहानी भन्थे।

कोलम्बसले त्यहाँका मानिसलाई स्पेनी भाषामा ‘लस इन्डिओस’ अर्थात् इन्डियन भने। तर, वास्तवमा त्यो ठाउँ इन्डिया थिएन। त्यो त मेक्सिकोको दक्षिणपूर्व र दक्षिण अमेरिकाको पूर्वोत्तरमा रहेको समुद्री टापु थियो। त्यहाँ ग्वानहानी लगायत सयौं वटा टापुु चेन आकारमा लामबद्ध छन्। त्यसलाई हिजोआज द बहामज वा वेस्ट इन्डिज भनिन्छ।

वेस्ट इन्डिजको पूर्वतर्फ उत्तर एटलान्टिक र पश्चिममा क्यारिबियन महासागर छन्। कोलम्बसले पहिलो यात्रामा क्युवासहित विभिन्न टापु पत्ता लगाए। उनले ती ठाउँबाट केही सुन जम्मा गरेर स्पेनी राजालाई टक्र्याए। राजाले उनलाई नयाँ पत्ता लगाइएको ठाउँको गभर्नर नियुक्त गरे।

स्पेनबाट कोलम्बस भारत पुगेको जानकारीपछि पोर्चुगलले पनि भास्को दा गामालाई भारततर्फ पठायो। तिनी यूरोपबाट सन् १४९८ मा अफ्रिकालाई परिक्रमा गर्दै समुद्री मार्ग भएर भारत पुग्ने पहिलो अन्वेषक बने।

उता, कोलम्बसले मध्य–अमेरिकाबाट कैयौं वस्तु यूरोप पुर्‍याए। तीमध्ये एक थियो, मकै। त्यसवेला दक्षिण तथा उत्तर अमेरिकामा धान, गहुँ, जौ थिएन। मध्य–अमेरिकाबाट यी अनाज करीब ४ हजार ५०० वर्षअघि उत्तर अमेरिका लगिएका थिए। मध्य–अमेरिकाका सबैजसो ठाउँमा मकै नै खाने गरिन्थ्यो। मकैलाई विशेषतः अमेरिकी समाज विकासको इन्जिन मानिन्छ।

खाद्यबालीमा गहुँ र जौ उब्जनी हुँदै आएको यूरोपमा मकै भित्रिएपछि त्यसले ऊर्जा अर्थात् शक्ति दिलायो। एसिया तथा अफ्रिकालाई भोकमरीबाट बचायो। द बहामजका टापुहरूमा मकैलाई ‘माहिज’ भनिन्थ्यो। यो यूरोपमा ‘मेज’ को नामले चिनियो।

मकैको उद्विकास
वनस्पतिको जी जाति (जीनस) अन्तर्गतको वनस्पति हो, मकै। यसको वैज्ञानिक नाम जी मेज हो। मकै प्रजातिभित्र तीन वटा उप–प्रजाति (जी मेज सब–स्पेसिस मेज, जी मेज सब–स्पेसिस पार्विग्लुमिज र जी मेज सब–स्पेसिस हुइह्वेटेनाङ्गेन्सिस) छन्। तीमध्ये पहिलो उप–प्रजाति मात्र मकै हो। बाँकी दुई उप–प्रजातिलाई थियोसिन्टे भनिन्छ।

थियोसिन्टे मध्य तथा दक्षिण अमेरिकामा पाइन्छ। यसको बोट मकैसँग मिल्दोजुल्दो हुन्छ। यसको काण्ड मसिनो र हाँगा छुट्टिएको हुन्छ। यसमा मकैको भन्दा मसिना ७/८ वटा दाना मात्र फल्छ, जुन घोगा लाग्ने ठाउँमै बाला जस्तो आकृतिमा फल्ने गर्छ।

यसैगरी, मकै जाति अन्तर्गत मकैबाहेक अन्य चार प्रजाति पत्ता लागेका छन् (तालिका हेर्नुहोस्)। ती चार प्रजाति पनि थियोसिन्टे हुन्। यस आधारमा थियोसिन्टे ६ किसिमका छन्।

मकै कसरी उद्विकास भयो भन्ने कुरा वैज्ञानिक समाजमा सयौं वर्षसम्म अन्योल थियो। अमेरिकी जीन वैज्ञानिक जर्ज वेल्स बिडल (सन् १९०३ – १९८९) ले थियोसिन्टे र मकैको तुलनात्मक अध्ययन गरे। उनले थियोसिन्टे र मकैको क्रोमोजोम उत्तिकै संख्यामा र उस्तै आकृतिका हुन्छन् भन्ने थाहा पाए।

त्यसपछि बिडलले थियोसिन्टे र मकैबीच कृत्रिम गर्भाधान गराई तिनका वर्णसंकर (हाइब्रिड) निकाले। ती ठिमाहाबाट स्व–प्रजनन गराई दोस्रो वंश पनि निकाले। गर्भाधानपछि निस्केको पहिलो वंशमा प्रजनन क्षमता भएकाले ती दुई प्रजातिबीच अत्यन्तै निकट सम्बन्ध भएको उनले पत्ता लगाए। त्यसपछि बिडलले सन् १९३९ मा थियोसिन्टे मकैको पूर्वज भएको मान्यता अगाडि सारे। सन् १९५८ मा उनीसहित तीन जनाले जीन सम्बन्धी खोजका लागि नोबेल पुरस्कार पाएका थिए।

बिडल सन् १९७० मा सेवानिवृत्त भए। त्यसपछि उनले मकै र थियोसिन्टेबीच बृहत् अनुसन्धान गरे। यस पटक अध्ययन वंशाणुमा केन्द्रित थियो। धेरैजसो जन्तु तथा वनस्पतिको कोषमा जीनको दुई प्रतिसेट हुन्छ। एक सेट बाबु र अर्को आमातर्फको हुन्छ। प्रजनन प्रक्रियामा भाग लिने कोष (गेमेट) बन्दा चाहिँ एक प्रति जीन सेट मात्र हुन्छ।

बिडलले थियोसिन्टे र मकैको पुनः कृत्रिम गर्भाधान गराई पहिलो वंश उत्पादन गरे। यसबाट बुझ्न सकिन्छ, पहिलो वंशमा थियोसिन्टे र मकैको एक/एक सेट जीन छ। यसपछि पहिलो वंशलाई आपसमा प्राकृतिक अर्थात् स्व–गर्भाधान गराई दोस्रो वंश निकाले।

थियोसिन्टे र मकैबीच एउटा जीन मात्र फरक भए दोस्रो वंशका चार बिरुवामध्ये एउटा मकै, अर्को एउटा थियोसिन्टे जस्तो र बाँकी दुई ठिमाहा जस्ता देखिन्छन्। यदि दुई वटा जीन फरक भए दोस्रो वंशका १६ बिरुवामध्ये एउटा मकै जस्तो, अर्को एउटा थियोसिन्टे जस्तो र बाँकी १४ वटा ठिमाहा जस्ता हुन्छन्। तीन वटा जीन फरक हुँदा पनि यस्तै प्रकृतिको नतिजा आउँछ। तीनभन्दा बढी जीन फरक भए अत्यन्त धेरै बिरुवामा यस्तै परीक्षण गर्नुपर्ने हुन्छ।

बिडलले थियोसिन्टे र मकैबीच तीन वटाभन्दा बढी जीन फरक हुनुपर्ने अनुमान गरे। उनले दोस्रो वंशका ५० हजार बिरुवा उमारे। तिनमा हरेक ५०० वटा बिरुवामा एउटा थियोसिन्टे जस्तो बन्यो, एउटा मकै जस्तो देखियो र अन्य ठिमाहा देखिए। यसले थियोसिन्टे र मकैबीच चार वा पाँच वटा जीन फरक भएको संकेत गर्छ। तिनै जीनले समयक्रममा थियोसिन्टेबाट मकै उद्विकास भएको पुष्टि गर्छन्।

अमेरिकाका वंशाणु विशेषज्ञ जोन डोब्लीले सन् १९८० मा जी मेज सब–स्पेसिस पार्विग्लुमिज पत्ता लगाएका हुन्। डोब्लीले सन् १९९० मा बिडलको मान्यतालाई परीक्षण गर्दा सही देखियो। डोब्लीले पनि थियोसिन्टे र मकैबीच ४/५ वटा जीन फरक रहेको पाए।

डोब्लीले हजारौं वर्षअघि थियोसिन्टेमा ४/५ वटा फरक जीन विकास हुन पुगेकाले तिनीहरू मकैका रूपमा उद्विकास भएको बताएका छन्। उनका अनुसार, जी मेज सब–स्पेसिस पार्विग्लुमिज भनिने थियोसिन्टेबाट मकै उद्विकास भएको हो। हिजोआज करीब नौ हजार वर्षअघि थियोसिन्टेबाट मकै उद्विकास भएको मानिन्छ। जीवाश्म अध्ययनले पनि मकै करीब ७/८ हजार वर्षअघि उद्विकास भएको पुष्टि गरेको छ। मकै उद्विकास हुँदा घोगाको आकार अहिलेको भन्दा एकतिहाइ जत्रो मात्र थियो। घोगाको आकार चाहिँ रोप्न थालेपछि वृद्धि हुँदै गएको हो।

थियोसिन्टेबाट मकैसम्मको सम्भावित विकासक्रम । तस्वीर स्रोत: जे.ए.एस हर्नान्डेज (सन् २००९)
डोब्ली अहिले पनि मकैबारे थप अनुसन्धान गरिरहेका छन्। उनले दाबी गरे अनुसार, थियोसिन्टेको हाँगा बनाउने एउटा जीन मकैमा लगाउँदा मकैमा पनि हाँगा बन्छ। यस्तै, मकैको घोगा बनाउने एउटा जीन थियोसिन्टेमा लगाउँदा त्यसमा मकै जस्तै घोगा लाग्ने उनको भनाइ छ। यसको अर्थ, मकैलाई थियोसिन्टे र थियोसिन्टेलाई मकै बनाउन सकिँदो रहेछ।

नेपालमा मकै खैती
औद्योगिक उत्पादनमा मकैलाई ‘इन्डियन कर्न’ भनिन्छ। केही धार्मिक ग्रन्थमा भारतमा यूरोपभन्दा अगावै मकै पाइन्थ्यो भनेर लेखिएको पाइन्छ। तर, तिनलाई प्रमाणित गर्ने वैज्ञानिक आधार छैनन्। अहिलेको अवस्थाबाट हेर्दा भारत हुँदै नेपालमा मकै भित्रिएको अनुमान गर्न सकिन्छ।

नेपालमा मकै खेती कहिले शुरू भयो त? सन् १७९३ मा काठमाडौं आएका बेलायतको इस्ट इन्डिया कम्पनीका प्रतिनिधि विलियम कर्कप्याट्रिकले नेपालको विभिन्न पाटा समेटेर लेखेको ‘एन एकाउन्ट अफ द किङड्म अफ नेपाउल’ (सन् १८११) पुस्तकमा यसबारे केही चर्चा गरेका छन्। पुस्तकमा नेपालमा मकै (इन्डियन कर्न), कोदो, घैया (सुक्खा जमीनमा रोपिने धान), तोरी, जौ, गहुँ, कपास, फापर रोप्ने गरिएको उल्लेख छ। यस आधारमा नेपालमा आजभन्दा २२८ वर्षअघि मकैको खेती हुने गरेको बुझिन्छ। नेपालमा मकै भित्रिएको २५०–३०० वर्ष जति भएको अनुमान गर्न सकिन्छ।

हामीकहाँ मकै खेती अन्य देशका तुलनामा सयौं वर्ष पुरानै प्रविधिमा हुँदै आएको छ। नेपालमा प्रतिहेक्टर १.८ देखि २.० मेट्रिक टन मकै उत्पादन हुन्छ। जब कि चीनमा सन् १९७१ ताका नै २.४ टन्स उत्पादन हुन्थ्यो। चीनमा सन् २०२० मा प्रतिहेक्टर ६.३२ टन्स उत्पादन भएको थियो र निकट भविष्मै प्रतिहेक्टर ८ टन्स उत्पादन गर्ने लक्ष्य राखिएको छ। अमेरिकामा भने प्रतिहेक्टर १० टन उत्पादन हुने गरेको छ।

हामीकहाँ हिमाली भेगमा मकै खेतीबाट स्थानीयले अपेक्षित लाभ लिन सकेका छैनन्। हिमाली क्षेत्रमा न मकैको आधुनिक बीउ पुग्छ, न त मल र प्रविधि नै। पाकेको मकै पनि भालुले खाइदिन्छ। भालुले विनाश गरेको अन्नबालीको क्षतिपूर्ति दिने सरकारी नीति छैन। बचेको मकै पिस्ने मिल पनि छैन। त्यहाँका किसानको अवस्था एक हिसाबले क्रिस्टोफर कोलम्बस मध्य–अमेरिका पुग्दाताकाको जस्तो छ।

 हिमाल खवरमा कमल मादेनको लेख छ ।

सोमबार, १४ असार, २०७८, दिउँसोको १२:४५ बजे

सम्बन्धित खवर