ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमा

काठमाडौंः ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार विहान भएको खेलमा पाराग्वेलाई हराउँदै ब्राजिल सेमिफाइनलमा पुगेको हो । ब्राजिलले पाराग्वेलाई ट्राइबेकरमा पराजित गरेको हो । निर्धा्रित ९० मिनेटको खेलमा दुवै तर्फबाट गोल नहुँदा खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा ब्राजिल ४–३ ले विजयी रहयो । गोलरक्षक एलिसन बेकरले टाइब्रेकरमा उत्कृष्ट प्रदर्शन गरे ।

पाराग्वेका लागि पहिलो पेनाल्टी लिएका गरेका गुस्ताभो गोमेजको प्रहारलाई ब्राजिलका गोलरक्षक एलिसन बेकरले उत्कृष्ट बचाउ गर्दै ब्राजिललाई राम्रो सुरुवात दिलाए । ब्राजिलका लागि विलियनले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । पाराग्वेका लागि मिगुएल अल्मिरोनले दोस्रो प्रहार गोल गर्दा मार्किन्होसले पनि गोल गर्दै ब्राजिलको अग्रता कायम राखे । त्यसपछि पाराग्वेका ब्रुनो भाल्डेज र ब्राजिलका फिलिपे कोउटिन्होले पनि गोल गरे ।

पाराग्वेका लागि चौथो प्रहार गरेका रोड्रीगो रोजास सफल हुँदा ब्राजिलका रोबर्टो फिर्मिनोको प्रहार बाहिरिएको थियो । टाइब्रेकर बराबरीमा आएपछि पाराग्वेका लागि पाँचौ प्रहार गरेका डेर्लिस गोन्जालेजको प्रहार बाहिरियो । त्यसपछि गाब्रियल जेसुसले पेनाल्टीलाई गोलमा परिणत गर्दै ब्राजिलको जित पक्का गरे ।

त्यसअघि निर्धा्रित समयमा ब्राजिलले खेलको सुरुवाती समयमा पाराग्वेको गोलरक्षकलाई परिक्षण गरेपनि अग्रता लिन सकेन । २९ औं मिनेटमा पाराग्वेले गोल गर्ने अवसर प्राप्त गरेपनि गोलरक्षक एलिसन बेकरले उत्कृष्ट बचाउ गरे ।

दोस्रो हाफको ६० औं मिनेटमा पाराग्वे १० खेलाडीमा सिमित भयो । फाबियन बालबुएनाले पेनाल्टी क्षेत्रको ठिक बाहिर रोबर्टो फिर्मिनोलाई लडाएपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायता लिँदै निर्णय लिएका थिए । रेफ्रीले सुरुवातमा ब्राजिललाई पेनाल्टी दिने निर्णय गरेपनि भीएआरको सहायतापछि बालबुएनालाई रातो कार्ड दिँदै ब्राजिललाई फ्रिकिक दिएका थिए ।

पाराग्वे १० खेलाडीमा सिमित भएपछि ब्राजिलले आक्रमणमा खेलाडी थप्दै दबाब बढायो । तर पनि ब्राजिलले गोल गर्न सकेन । ब्राजिलले अब सेमिफाइनलमा अर्जे्न्टिना र भेनेजुएलाको खेलको विजेतासँग खेल्नेछ ।

शुक्रबार, १३ असार, २०७६, बिहानको १०:३६ बजे

सम्बन्धित खवर