तीन सय घारभन्दा बढी मौरी मरे

झापा/ अज्ञात रोगबाट झापाको शिवसताक्षीमा व्यावसायिक रूपमा पालिएका तीन सय घारभन्दा बढी मौरी मरेका छन् । मौरी मर्नुको कारण भने पत्ता लागेको छैन । कारण पनि पत्ता नलाग्दा किसान थप चिन्तित भएका छन् ।
शिवसताक्षी नगरपालिका–११ मा महिलाले सञ्चालन गरेको सताक्षी महिला मौरीपालन समूहमा आबद्ध किसानका एकै पटक ३३ लाख बढी मौरी मरेका हुन् ।

महिला मात्र आबद्ध सो समूहले लामो समयदेखि व्यावसायिक मौरीपालन व्यवसाय गर्दै अएको छ । जिल्ला तथा जिल्लाबाहिरका विभिन्न वन क्षेत्रमा चरनका लागि राखिएका मौरी मरेका हुन् ।
सोही नपा–११ निवासी देवी दाहालले चरन क्षेत्रबाट ल्याएर घरमा राखिएका ६० घार मौरी एकै पटक मरेको जानकारी दिनुभयो । उहाँको सबैभन्दा बढी घारमा क्षति भएको छ । उहाँको जस्तै सोही स्थानकी धनमाया पाठकले जिल्लाकै चारआली जङ्गल क्षेत्र आसपासमा चरनमा लागिएका ३५ घार मौरी मरेको बताउनुभयो । यस्तै स्थानीय डिकुरादेवी गजुरेलले जिल्लाकै माहुरमाडी जङ्गलमा चरनका लागि लगिएका ४० घार मौरी मरेको जनाइएको छ । यस्तै अन्य सबै किसानका गरी तीन सय घारभन्दा बढी मौरी मरेका छन् ।
चरनका लागि लगिएका मौरी एक समूहदेखि अर्काे समूह ५० देखि ८० किलोमिटर फरकफरक दूरीमा थिए । यसरी विभिन्न छुट्टाछुट्टै स्थानमा भए पनि एकै समयमा मरेकाले किसानलाई अझ बढी अन्योल थपिएको छ । “हामीले मौरीपालन व्यवसाय सुरु गरेको झन्डै २० वर्ष हुन लाग्यो । यो अवधिमा यति धेरै मात्रामा मौरी मरेको यो नै पहिलो घटना हो,” सताक्षी महिला मौरीपालन समूहकी सचिवसमेत रहेकी दाहालले बताउनुभयो ।
वर्षा सुरु भए पनि खेतबारीमा धान रोपाइँ सुरु भएकाले जङ्गल क्षेत्रमा चरनका लागि लाने गरिएको छ । यसै क्रममा किसानले केही घरमा नै केहीले विभिन्न जङ्गलमा चरनका लागि लगेका थिए । अधिकांश मौरी एकै प्रकारले घारभित्र नै मरेका थिए । यसले गर्दा किसानले धान रोपी सकेर खेतमा झार मार्ने विषादी प्रयोग गरेका कारण मरेको हो कि भन्ने किसानको आशङ्का छ ।

किसानले धान रोपेर झार मार्ने विषादी अघिल्ला वर्षमा यो प्रक्रिया नियमित भए पनि मौरी मर्ने गरेका थिएनन् । त्यसकारण यस वर्ष यति धेरै क्षति हुनुको कारण कुनै महामारी वा विषादी हो भन्ने पत्ता लागेको छैन । किसानले मौरी मरेको विषयमा जिल्ला कृषि ज्ञान केन्द्र झापामा अध्ययन अनुसन्धानको माग गरेको भए पनि अहिलेसम्म कारण खुल्न सकेको छैन ।
गत असार २७ देखि ३१ भित्रमा यसरी मौरी मरेर सबै घार खाली भएका छन् । अहिले तिनै खाली घार बटुलेर बसेका किसान अब के गर्ने भन्ने अन्याल रहेको किसानको गुनासो छ । मौरीसहितको एक घारलाई ११ हजार रुपियाँभन्दा बढी मूल्य पर्दछ । एक घारमा झन्डै १० हजारदेखि १५ हजारसम्म मौरी थिए । घटनामा सबै किसानको गरी ३० लाखभन्दा बढी मौरी मरेका छन् ।

तीन सय घार मौरी मर्दा किसानको ३३ लाख बढीको क्षति भएको छ ।
मौरीपालन ब्लक क्षेत्रसमेत घोषणा गरिएको शिवसताक्षी नगरपालिका–११ भित्र मात्र झन्डै तीन सयभन्दा बढी महिला व्यावसायिक रूपमा नै मौरीपालन गर्दै आएका छन् । यहाँ वार्षिक ६० टनभन्दा बढी मह उत्पादन हुने गरेको छ ।

बुधबार, १३ साउन, २०७८, बिहानको ०७:५८ बजे

सम्बन्धित खवर