तेह्रथुमको गौखुरी मा वि , जसले प्रदेश प्रमुख खापुङलाई याद गरिरहेको छ

      विराट अनुपम
मोराहाङ (तेह्रथुम) / तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका- ५ मोराहाङको पुछारमा छ गौखुरी धाम । खोरुङ्गा खोला किनारको यो प्रसिद्ध धार्मिक धाम माघेनी मेलाको दिन खुब चर्चामा हुन्छ । माघ १ को माघी नुहाउने र मेला भर्न गौखुरी धार्मिक धाम तेर्‍हथुमभरि नामी छ । यही गौखुरीकै धार्मिक धामको नाममा खोलिएको शैक्षिक धाम हो श्री गौखुरी माध्यमिक विद्यालय । गौखुरीको धार्मिक धाम जस्तै माघ १ को दिनमात्रै नभएर ३६५ दिनै चर्चामा हुने शैक्षिक धाम हो गौखुरी माध्यमिक विद्यालय ।
मेन्छ्यायेम गाँउपालिका- ५ मोराहाङ बजारमै रहेको यो शिक्षालय नेपालको प्रजातन्त्रभन्दा तीन वर्षमात्रै कान्छो हो । भोजपुरको षडानन्दको शिक्षा क्रान्तिको लय संखुवासभाको मादीले समात्यो । मादीसँग आउजाउ राम्रो हुने मोराहाङले मादीको शिक्षा क्रान्तिको लय समात्यो । अनि उभियो गौखुरी स्कुल । कक्षा १ देखि १२ सम्म पठनपाठन गराउने गौखुरी स्कुल तराई र अन्य क्षेत्रका धेरै सुविधासम्पन्न र नामी स्कुलभन्दा जेठो स्कुल हुनुको खास कारण यही हो ।

१८ रोपनी २ पैसा क्षेत्रफलमा फैलिएको विद्यालयको शैक्षिक क्षेत्रफल भने ठूलो छ । २०१० सालमा मोराहाङका शिक्षासेवीहरुले स्थापना भएको विद्यालय मोराहाङको मात्रै थिएन । आसपासका श्रीजुङदेखि पौंठाक गाविस हुँदै संखुवासभाको मंगलबारेसम्मको शिक्षा मुकाम थियो । मोराहाङ अहिले पालिकाको वडा नम्बर ५ र ६ मा खुम्चियो । तर, मोराहाङकै गौखुरी स्कुलको आयतन खुम्चिएको छैन ।
गौखुरी पालिकाको एकमात्रै एसईई सेन्टर हुने स्कुल पनि हो । पालिकाको शैक्षिक नेतृत्व लिने गौखुरीले गाविस हुँदा पनि त्यही स्तरको नेतृत्व लिएको थियो । गौखुरी स्कुलको अर्को मौलिकता भनेको शारीरिक रुपमा सबलमात्रै हैन फरक क्षमताका शिक्षक पनि गौखुरीमा पढाउँछन् । शिक्षक भगिमान खापुङ स्कुलका पुराना दृष्टिविहीन शिक्षक हुन् ।
करिब सात दशक पुरानो गौखुरी स्कुलमा हालसम्म १६ जना प्रधानाध्यापक भए । अहिलेका वर्तमान प्रधानाध्यापक विष्णुकुमार खापुङबाहेकका पूर्वप्रअहरु हुन्- रमेशराज खापुङ, हर्कजङ खापुङ, थानेश्वर खनाल, भैरव ढकाल, परशुराम दाहाल, गोपाल गुरागाईं, किशोर ढुंगाना, महेशकुमार दाहाल, प्रेमप्रकाश ढुंगाना, तोयानाथ भट्टराई, यज्ञराज गौतम, परशुराम खापुङ, सत्यनारायण साहु, नारायणप्रसाद गौतम र विश्वराज खापुङ ।

गौखुरी स्कुलका पन्ध्र पूर्वप्रअमा अधिकांश जीवित छैनन् । जीवित केहीमा सबैभन्दा प्रभावशाली पूर्वप्रअ हुन्- परशुराम खापुङ । हाल प्रदेश नम्बर १ का प्रमुख खापुङ गौखुरीका जानकार छन् । किनभने उनले लगातार आठ वर्ष प्रधानाध्यापक भई गौखुरीको नेतृत्व गरेका थिए । उनले २०३४ देखि २०४२ सम्म गौखुरीको प्रधानाध्यापकीय नेतृत्व गरेका थिए । गौखुरी पनि खापुङको बारेमा जानकार छ किनभने पञ्चायतका जनपक्षीय उम्मेदवारको रुपमा पाएको जीतदेखि राप्रपा हुँदै जसपासम्मको खापुङको राजनीतिक राजमार्गको जरा गौखुरी स्कुल नै हो । यही स्कुलमा जोडिएर निर्माण भएको सामाजिक धरातलले खापुङ तेर्‍हथुमको पहिलो प्रदेश प्रमुख बन्न सफल भए ।

प्रदेश प्रमुख खापुङको आडमा आफ्नो ब्रान्ड बनाउने गौखुरी सपना!
उसो त गौखुरी गाउँपालिकाको सुविधाले भरिएको छ । गौखुरीमा बीएस्सी नर्सिङ गरेकी विद्यालय नर्स सम्झना ढकाल छिन् । विद्यालय नर्स भएका जिल्लाकै थौरै विद्यालयमा एक गौखुरी हो । गौखुरीको भवन आधुनिक छ । नेपालमा स्थानीय सरकार बन्नु अगाडि बनेको कंक्रिट संरचनाको भवनमा विद्यार्थीहरु स्मार्ट बोर्डबाट पढ्छन् । बिजुलीको राम्रो सुविधा छ । सडक पनि पुगेकै छ । सडक किनारमै छ विद्यालय । विद्यार्थी संख्या ३५२ ग्रामीण परिवेशमा सन्तोषजनकै मान्नुपर्छ ।

विद्यालयको आन्तरिक आन्दानी राम्रै छ । मेन्छ्यायेम गाउँपालिकाले वर्षको भाडामात्रै ३ लाख २४ हजार रुपैयाँ तिर्छ । कक्षा ११ र १२ को भर्ना शुल्कको क्रमशः प्रतिव्यक्ति १७०० र ९०० रुपैयाँ आन्तरिक आम्दानी नै हुन् । कक्षा ११ का विद्यार्थीले तिर्ने ३०० रुपैयाँ र कक्षा १२ काले तिर्ने ३५० रुपैयाँ मासिक शुल्क विद्यालयको नियमित आम्दानी हो । यो आम्दानी दिगो र दीर्घकालीन भने छैन ।

‘पालिकाले दिने भाडादेखि विद्यार्थी शुल्कसम्म सबै निजी दरबन्दीका शिक्षकलाई तलब दिँदा सकिन्छ । अहिले आम्दानी र खर्च बराबरी जस्तै छ’, प्रधानाध्यापक खापुङ भन्छन्, ‘पालिकाले आफ्नै भवन बनाएपछि भने आन्तरिक आम्दानी पनि घट्नेछ ।’

राम्रो आन्तरिक आम्दानी र केही सुन्दर पूर्वाधार विकासले मात्रै विद्यालयका सपना पूरा भएका छैनन् । विद्यालयलाई थप बलियो बनाउने नेतृत्व, शिक्षक, कर्मचारी, स्थानीयको चाहना छ । धेरै सुविधा भएर पनि केही सामान्य परियोजना विद्यालयले माग्नुपर्ने अवस्था छ । जस्तै २०७९ असार ८ गते विद्यालयले मेन्छ्यायेम गाउँपालिकासँग विभिन्न पाँच बुँदे शीर्षकमा बजेट माग गरेको छ ।

शीर्षक यस्ता छन्ः
१) माथिल्लोपट्टिका भूकम्प ब्लकहरु मर्मत गर्न
२) विद्यालयबाट प्रवेश गर्ने मूल गेटबाट भवन परिसरसम्म पिच गर्न
३) विद्यालयको पुरानो भवनको यु–सेपभित्रको भूई ढलान गर्न
४) विद्यालयको ८ कोठे भवनको सिरान तला पार्टिसन गर्न
५) अधुरो कम्पाउण्डको घेराबार पूरा गर्न ।

गाउँपालिकाको नेतृत्वदायी विद्यालयले गाउँ कार्यपालिकासँगै भएर राखेर यी पाँचबुँदे माग बजेटमा राम्रोसँग समेटिएनन् । अझ रोचक कुरा त अहिले दोहोरिएका गाउँपालिका अध्यक्ष यादवबहादुर खापुङ नै विद्यालय व्यवस्थापन समिति अध्यक्ष भइसकेका भएर पनि विद्यालयले चाहे जस्तो बजेट पाएन । गाउँपालिकाले विद्यालयमा गर्नसक्ने जति नगरेको प्रधानाध्यापक खापुङ बताउँछन् । उनी भन्छन्, ‘गाँउपालिकाले गर्नुपर्ने सहयोग गरेको छैन । गरेको छैन भन्दा पनि पाँच नम्बर वडाले चार लाख दिएको छ । त्यत्तिले सबै काम पुग्दैन ।’
वडा नम्बर ५ का अध्यक्ष दोजराज गौतम पनि पूर्वशिक्षक नै हुन् । तर, उनी गौखुरीका पूर्वशिक्षक हैनन् । उनले हाल्दिएको चार लाखले विद्यालयका तत्कालीन आवश्यकताहरु पूरा हुने छाँटकाँट छैन ।
विद्यालयका शिक्षकहरुका अरु विद्यालय सुधार र विद्यार्थी बढोस् जस्ता चाहना पनि छन् । एक शिक्षकले नेपालप्रेससँग विद्यार्थीलाई राम्रो रकमको छात्रवृत्तिदेखि लामो दूरीका शैक्षिक भ्रमणको चाँजोपाँजो हुने फण्ड आवश्यक भएको सुनाए । अर्का शिक्षकले एसईई दिने विद्यार्थीलाई सहयोग हुने गणित, विज्ञान, अंग्रेजीका अतिरिक्त कक्षा आवश्यक भएको सुनाए ।

गौखुरीलाई हरेक इन्डिकेटरमा प्रदेश १ को कम्तिमा पहाडी क्षेत्रको उत्कृष्ठ विद्यालय बनाउने काम आवश्यक भएको शिक्षकहरुको चाहना छ । त्यसको लागी आवश्यक आर्थिक र पूर्वाधार व्यवस्थापनमा उनीहरुको आशा र भरोसा परशुराम खापुङसँग छ । विद्यालयलाई नजिकैबाट बुझेका, विद्यालय भएकै वडा ५ का माङसारुपका स्थानीय र विद्यालयमा आठ वर्ष नेतृत्व गरेका अहिलेसम्मकै सबैभन्दा प्रभावशाली पूर्वप्रधानाध्यापक भएकाले विद्यालयको यस्तो अपेक्षा देखिन्छ ।

२०७८ कात्तिक २२ मा मन्त्रिपरिषदको बैठकको सिफारिसअनुसार २०७८ कात्तिक २३ गते मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेर प्रदेश प्रमुख भएका थिए परशुराम खापुङ । विद्यालयमा ३ लाख २० हजार रकमको बजेट प्रदेशबाट आएपछि सिमेन्ट ब्लकको काममा खापुङकै योगदान छ । परशुराम खापुङ प्रदेश प्रमुख बनेपछि स्थानीय चुनाव अगाडि मोराहाङ आएपछिको मागले त्यो बजेट आएको थियो । विद्यालयले तत्कालको पूर्वाधार विकासका कामलाई ६० लाख हाराहारी बजेटले पुग्ने प्रधानाध्यापक खापुङ बताउँछन् ।

उनी भन्छन्, ‘६० लाख हाराहारी बजेट आए सबै अत्यावश्यक कामहरु सकिन्थ्यो ।’
अर्बौं बजेट चलाउने प्रदेश सरकारका प्रमुख र संघीय सरकारको गठबन्धनका पनि प्रभावशाली व्यक्ति भएकाले खापुङको ब्राण्डको सदुपयोगले विद्यालयको ब्राण्ड सुधार्ने गौखुरी सपना छ । यो सपना विद्यालय नेतृत्वदेखि पूर्वविद्यार्थीहरुसम्मको छ ।

गौखुरीमै १२ सम्म पढेका मोराहाङका इन्द्र भट्टराई भन्छन्, ‘गौखुरीले परशुराम खापुङ जस्तो सत्ता र शक्तिमा भएको मान्छे पाउन सात दशक लाग्यो । त्यस्तै स्थानमा पुग्ने अर्को विद्यालयसँग जोडिएको मान्छे पाउन अब धेरै दशक कुनुपर्ने हुनसक्छ । त्यसैले परशुराम खापुङले आफू सत्ता र शक्तिमा भएकै समयमा गौखुरीलाई प्रदेश १ कै नमुना विद्यालय बनाउन आवश्यक लगानी र पूर्वाधारमा सहयोग गर्नुपर्छ ।’
  नेपाल प्रेसबाट साभार

 

बिहिबार, १२ साउन, २०७९, दिउँसोको ०३:३२ बजे

सम्बन्धित खवर