अंग्रेजीबाट लतारिएको नेपाली भाषा

वसन्त थापा

चिया कालो हुँदैन। यो बरु रातो हुन्छ, सुन्तले हुन्छ, गेरुवा हुन्छ, कलेजी हुन्छ र कागती निचोरेर हालेमा बरु हल्का पहेंलो रंगको देखिन सक्छ। यो ह्वीस्की जस्तो पनि देखिन सक्छ, पेट्रोल जस्तो पनि देखिन सक्छ। तर, कालो किमार्थ हुँदैन।

साँच्चै कालो त दूध नहालेको कफी हुन्छ। तर, अचेलभरि दूध नहालेको चियालाई मानिसहरूले कालो चिया भन्न थालेका छन्। यसो भन्ने कारण के हो भने अंग्रेजीमा दूध नहालेको चियालाई ‘ब्लाक टी’ भन्ने गरिन्छ। पढालेखाहरूले त्यसलाई नेपालीमा कालो चिया भने अनि त्यही सिको गरेर मानिसहरूले कालो चिया भन्न थाले।

दूध नहालेको चियालाई ‘फिक्का चिया’ भन्थ्यौं हामी केटाकेटीमा। अरूले पनि त्यही भन्थे। हो, यसले चिनी नहालेको अर्थ पनि दिन सक्छ, तर आमरूपमा फिक्का भन्नाले दूध नहालेको नै बुझिन्थ्यो। व्यवहारमा आइसकेको ‘फिक्का चिया’ छँदाछँदै त्यसलाई पन्छाएर त्यसको सट्टा ‘कालो चिया’ भन्नु आफ्नो छँदाखाँदाको भाषालाई बिगार्नु हो।

खानाको हकमा पनि यस्तै भएको छ। कुनै रेस्टुराँ वा भोजनालयमा खाना खान गएमा ‘भेज’ कि ‘ननभेज’ भनेर सोधिन्छ। नेपालीले मन फुकाएर खाने मासुभात अचेल बोलीचालीमा ‘ननभेज’ भएको छ। मासु नभएको खाना ‘सादा’ हो। तर, त्यो ‘भेज’ भएको छ।

कुनै सुरोले अंग्रेजीको ‘बफेलो’ शब्दलाई काटेर ‘बफ’ शब्द चलाइदियो, राँगाको मासुको ठाउँमा वा ठूलो खसीको मासुको सट्टा। यद्यपि अंग्रेजीभाषीले यसको माने बुझ्न सक्दैन। किनभने राँगाको मासु भनेर बुझाउने यो सही अंग्रेजी शब्द होइन। तर, त्यसलाई नेपाली जिब्रोले टिपिदियो र अहिले यो आम प्रचलनमा छ।

त्यो त भयो भयो, अब कुखुराको मासु, खसीको मासु वा सुँगुरको मासु पनि कोही भन्दैनन्। तिनको ठाउँ चिकेन, मटन र पोर्कले लिएको छ। दालभात, खाजा, चमेना, कलेवाको कसले कुरा गर्ने ब्रेकफास्ट, लन्च, डिनरलाई छाडेर?

काठमाडौंको पुरानोभन्सारमा एक व्यवसायीले बाहिरबाट बरफमा चिस्याइएको मासु, माछा र अन्य परिकार झिकाएर बेच्न ‘फ्रेस हाउस’ भन्ने पसल खोलेको थियो, केही नभए पनि ५५-६० वर्ष अगाडि। विदेशी ग्राहकलाई लक्षित गरेर खोलिएको त्यस प्रकारको पसलमा सम्भवतः सबैभन्दा पुरानोमध्ये त्यो पर्दछ। कालान्तरमा फ्रेस हाउस भनेकै मासु बेच्ने पसल भन्ने आम बुझाइ हुन गयो। फलतः हिजोआज काठमाडौं बाहिरका सबै शहर बजारमा फ्रेस हाउस नामका मासु बेच्ने पसल पाइन्छन्।

‘श्रीमान्‌को कुटाइबाट श्रीमती घाइते’ वा ‘श्रीमती जागीरे श्रीमान् पसले’ भन्ने जस्ता समाचार बरोबर आइरहन्छन्। श्रीमान्-श्रीमतीको यो जोर शब्द अंग्रेजीको मिस्टर-मिसेजबाट तानिएको हो। मिस्टर-मिसेज शब्दमा आदरार्थी र औपचारिक दुवै भाव मिसिएको छ। त्यसैले अंग्रेजीमा मिस्टर मिसेजसित नाम जोडिएको हुन्छ, जस्तै मिस्टर मिसेज स्मीथ या मिस्टर फलाना वा मिसेज फलाना। तर, हामीकहाँ श्रीमान्–श्रीमतीलाई पतिपत्नीको विकल्प वा पर्यायका रूपमा प्रयोग गर्न थालिएको छ।

खासमा श्रीमान् भनेको श्रीयुत भने जस्तो हो। यसर्थ श्रीमान् पछाडि व्यक्तिको नामथर जोडिनु स्वाभाविक हुन जान्छ, जस्तै श्रीमान् शर्मा वा श्रीमती शर्मा। तर, अचेलभरि श्रीमान् भनेको पति र श्रीमती भनेको पत्नी भन्ने बुझाइ बन्न गएको छ। ठीकै छ, यस्तै चलन बस्यो। ‘बाइरोडको बाटो’ जस्तो, के पो गर्न सकिन्छ र! हो, श्रीमान् घरको कि अदालतको भन्ने कहिलेकाहीं अन्योल हुन जान्छ, त्यो बेग्लै कुरा हो।

तर, यसको एउटा परिणाम चाहिं के भयो भने लोग्ने-स्वास्नी, जोई-पोइ, पति-पत्नी, दम्पती, बूढा-बूढी जस्ता पहिले मनग्गे चलनचल्तीमा रहेका शब्दहरू ओझेल पर्दै गएका छन्। वास्तवमा लोग्ने वा स्वास्नी बुझाउनलाई जहान भन्ने गरिन्थ्यो जो अचेल अलप झैं भएको छ। अंग्रेजीको प्रताप!

माओवादी द्वन्द्वकालमा अखबारहरूमा ‘स्कर्टिङ’ भन्ने शब्द खुबै पढ्न पाइन्थ्यो। सेनाले वा प्रहरीले ‘स्कर्टिङ’ गरेर बस चलायो वा खाद्यान्न ढुवानी गरायो वा यस्तै प्रकृतिका समाचारहरू हुन्थे। त्यसको शाब्दिक अर्थ कहिल्यै खुलाइएन पनि र त्यसको जरूरत किन पर्‍यो, त्यो पनि थाहा भएन। तर, त्यसको चलन हदैसम्म भयो।

यदि अंग्रेजीको ‘escorting’ भन्न खोजिएको थियो भने त्यसलाई सेना वा प्रहरीको पहरामा, निगरानीमा, सुरक्षामा भनी लेख्न सकिन्थ्यो अथवा अघि-पछि सेना वा प्रहरी लगाएर ल्याएको भन्न सकिन्थ्यो। त्यसरी मूल शब्दको उच्चारण एस्कोर्टिङलाई अशुद्ध पारेर ‘स्कर्टिङ ‘(skirting)’ लेख्नु बिल्कुल जरूरी थिएन। ‘स्कर्टिङ’ को अर्थ त अंग्रेजीमा अर्कै लाग्छ। कुनै बन्द, हडताल वा लामो आन्दोलन होस्, फेरि देखा पर्नेछ ‘स्कर्टिङ’।

खोजतलास वा खोजी भन्नु सट्टा अंग्रेजीको ‘सर्च’ लेखेको पनि पाइन्छ पत्रपत्रिकामा। हराएको वस्तु वा मानिस खोज्ने काम खोजतलास वा खोजी हो। कुनै गैरकानूनी वस्तु फेला पर्छ कि भनेर गरिने खोज खानतलास हो। जस्तो, प्रहरीले कसैको घरमा खानतलासी गर्छ। यी दुइटै अवस्था बुझाउनलाई ‘सर्च’ भन्ने गरेको पाइन्छ, मानौं हामीसित भएका शब्दहरू हराइसके।

कुहिरो, हुस्सु, बादल, वर्षा वा हिउँले गर्दा दृष्टि क्षेत्र सीमित भएको वा राम्रोसित देख्न नसकिने भएको अवस्थालाई बुझाउन अंग्रेजीकै ‘भिजिबिलिटी’ शब्द चलाउने गरेको देखिएको छ। अनि नेपाल बाहिर विभिन्न मुलुकमा पुगेर बसेका नेपालीहरूलाई प्रवासी भनिंदैन, उनीहरूलाई ‘डायोस्पोरा’ भनिन्छ। कुनै अभियोग लागेको व्यक्ति वा बेवारिसे लास चिन्ने काम सनाखत गर्नु हो। चिन्न नसकिएकोलाई सनाखत हुन नसकेको भनिन्छ। तर, त्यसो नभनी ‘पहिचान नखुलेको’ भन्ने गरेको पाइन्छ, जो सरासर अंग्रेजी ‘आइडेन्टिटी’को नक्कल हो।

खेल सम्बन्धी समाचार, लेख, टिप्पणी आदिमा त अंग्रेजी शब्दको उपयोग छ्यासछ्यास्ती पाइनु कुनै नौलो कुरा भएन। किनभने प्रायःजसो आधुनिक खेलहरू हामीकहाँ बाहिरबाटै भित्रिएका छन्। हाम्रो आफ्नै भन्नु त शायद डन्डीबियो, गिर तथा बाघचाल मात्रै होलान्। डन्डीबियो पनि भारतमा गुलिडन्डाका नामले खेलिन्छ। त्यस कारण खेलहरूसित सम्बन्धित प्राविधिक शब्दावलीहरू मूलतः अंग्रेजी भाषाका र अन्य विदेशी भाषाका हुनु स्वाभाविक हो। तर, खेलबारेको समाचार र विवरणमा समेत ‘क्लिन स्वीप’ वा ‘वासआउट’ जस्ता शब्दावलीहरू देखा पर्छन्।

‘क्लिन स्वीप’ केवल खेलसित सम्बन्धित शब्दावली होइन। त्यो त कुनै पक्षको जीतको प्रकृति बयान गर्दा उपयोग गरिने अभिव्यञ्जना हो। राजनीतिक चुनावमा पनि उम्मेदवारले ‘क्लिन स्वीप’ गर्छ। त्यस कुरालाई अरू धेरै तरिकाले अभिव्यक्त गर्न सकिन्छ। खेलको जीत-हार वा परिणामबारे वर्णन गर्दा वर्णनकर्ताले कल्पनाशील भएर अनेक शब्दालंकार प्रयोग गर्न सक्छ। तिनलाई जस्ताको तस्तै उठाएर नेपालीमा राख्नु कुनै सिर्जनशीलता होइन। त्यसै गरी ‘वास आउट’ अरू सन्दर्भमा पनि प्रयुक्त हुन्छ। यसले कुनै टीम फितलो प्रदर्शन, नराम्रो हार, कसैको असफल प्रस्तुति भन्ने जताउँछ र यो खेलसंसारको पेवा शब्द होइन।

खेलकुद विषयमा मात्र होइन, सबैतिर अंग्रेजीको बिगबिगी छ। डिस्कोर्स, करिडोर, प्लान्ट, फल्टलाइन, नेटवर्क, डाइभर्सन, होम डेलिभरी, लोडसेडिङ हामीले घरीघरी छापामा देखिरहने शब्द हुन्। आइसोलेसन, क्वारेन्टिनको त कुरै नगरौं।

यी केवल नमूना हुन्। यसको फेहरिस्त निकै लामो बन्न सक्छ। कसै कसैले नेपालीमा लेखिने स्तम्भको शीर्षकधरि अंग्रेजीमा राखेको पनि पाइएको छ। हालसालै मेरो नजरमा ‘गेमचेन्जर’ भन्ने अंग्रेजी शब्द पनि प‍र्‍यो जो एउटा पत्रिकामा छापिएको लेखको शीर्षकमै थियो।

अंग्रेजी जस्तो समृद्ध र गतिशील विश्वभाषासित कदममा कदम मिलाएर हिंड्ने सामर्थ्य हाम्रो भाषामा विकसित भइसकेको छैन। कुनै अंग्रेजी शब्दको ठ्याक्क मिल्ने नेपाली शब्द नहोला वा त्यसको नेपालीकरण गर्न नमिल्ला, जस्तो कोभिड वा कोरोनाकै उदाहरण लिऊँ। तर, त्यसो भन्दैमा जे-जे नयाँ शब्द प्रचलनमा आउँछन्, तिनलाई टपक्क टिपेर जस्ताको तस्तै उतार्नु बहादुरी होइन।

हिजोसम्म ‘रोडसेस’ शब्द नेपाली समाजमा चल्तीमा थियो। विराटनगरमा त एउटा चालू चौबाटो नै ‘रोडसेस चोक’ भनेर चिनिन्छ। ‘सेस’ भनेको कर भन्ने बोध भएपछि त्यसलाई ‘सडक कर’ भन्न थालियो, जुन कर देशका विभिन्न सडकहरूमा अहिले उठाउने गरिन्छ। अधिकृतलाई केही अघिसम्म अफिसर भनिन्थ्यो भने प्रहरीलाई पुलिस र सेनालाई आर्मी वा मिलिटरी। शब्द निर्माण गर्दा हुन्छ र निर्माण गर्नु पनि पर्छ, आफ्नो भाषाको भण्डारलाई भरिपूर्ण बनाउने हो भने। नत्र अर्काको भाषाको भरौटे र लाचार छाया मात्र रहन जान्छौं।

अंग्रेजीको ठाडो नक्कलबाट अचेलभरि चलनचल्तीमा आएको अर्काे शब्द हो ‘लय’। उदाहरणका लागि ‘पुरानो लयमा फर्कंदै’ जस्ता शब्दावली मनग्गे देख्न पाइन्छ पत्रपत्रिकामा। यो अंग्रेजीको ‘रिद्‌म (rhythm)’ बाट तानिएको हो भनेर बुझ्नलाई धेरै दिमाग खटाइराख्न पर्दैन। तर, ‘रिद्‌म’ लाई लय भनेर लेख्नेहरूले के बुझ्नपर्छ भने, ‘रिद्‌म’ को वास्तविक अर्थ ताल हो, लय होइन।

संगीतको मोटामोटी ज्ञान राख्नेहरूले पनि भन्न सक्छन्- ताल, सुर र लय संगीतका तीन आधारभूत कुराहरू हुन्। ताल ‘रिद्‌म’ हो, सुर ‘स्केल’ र लय भनेको ‘ट्युन’ हुन्छ, अंग्रेजीमा ‘रिद्‌म’ होइन। त्यसैले हामी भन्छौं- लय हालेर गायो, लय हालेर कविता वाचन ग‍र्‍यो। तर, यहाँ हामी देख्छौं, ताललाई लय बनाइएको छ। नक्कलको परिणाम!
अंग्रेजीले पूरै धकेलेर विस्थापित गरिदिएको चलनचल्तीमा रहेका पहिलेका लवजहरूमा एउटा शब्दको चाहिं मलाई विशेष माया लाग्छ। त्यो हो, संगमरमर। हामी पर्‍यौं ‘संगमरमर सा तराशा हुवा बदन’ भन्ने गजल पढ्ने पुस्ताका। अहिलेका पुस्ताले त संगमरमर भनेको के हो भनेर सोध्नेछन्। उनीहरूले केवल ‘मार्बल’ भनेर जानेका छन्। हामीले जानेको ताजमहल संगमरमरले बनेको हो। अहिलेका पुस्ता भन्छन्, मार्बलले बनेको हो ताजमहल। ‘बूढा मरै, भाषा सरै’ भनेको यही होला।

नेपाली शब्द हुँदै नभएको अवस्थामा अंग्रेजी शब्दको उपयोग गर्नु एउटा कुरा हो। तर, नेपाली शब्द हुँदाहुँदै जानाजान अंग्रेजी शब्द चलाउनु भने अर्काे कुरा हो। कुनै एउटा गैससले एकताका चलाउने गरेको रेडियो कार्यक्रममा ‘टोल फ्री’ फोन गर्नोस् भन्ने सन्देश आउँथ्यो। नेपालीमा त टोल मानवबस्तीको एउटा एकाइ हो। त्यसैले त्यसरी ‘टोल फ्री’ भनेको पटक्कै चित्त नबुझेर यस पंक्तिकारले फोनैमा शिकायत गर्दै त्यसको साटो ‘निःशुल्क’, ‘पैसा नलाग्ने’, ‘पैसा तिर्नु नपर्ने’ वा ‘सित्तैमा’ भन्न सकिन्छ भनेर सुझाएको थियो। नतीजा राम्रै भयो, त्यस्तो सन्देश प्रसार हुन छाड्यो।

यस प्रकार शब्दहरूलाई विस्थापित गर्नु बाहेक अंग्रेजीले नेपालीको वाक्य गठन र संरचनामा समेत धक्का दिएर हामीलाई लतारिरहेको छ। भाषाविज्ञ शरच्चन्द्र वस्ती त्यसको उदाहरण दिंदै ‘म धन्यवाद दिन चाहन्छु’ भन्ने वाक्यलाई प्रस्तुत गर्छन्। उनी भन्छन्- यो अंग्रेजीको अभिव्यक्ति ‘आइ उड लाइक टु थ्यांक’ को सोझो र ठाडो अनुकरण हो। भन्नुपर्ने त ‘म धन्यवाद दिन्छु’ हो।

त्यसै गरी अंग्रेजी प्रभावका कारण ‘प्रयोग’को प्रयोग पनि नेपालीमा हदै दर्जाको हुँदै गएको छ। यो प्रयोग आएको हो- अंग्रेजीको ‘युज’ (use) बाट। हामीले बुझ्यौं- ‘युज’ भनेको प्रयोग गर्नु हो भनेर। त्यसैले भन्छौं, ‘मास्कको प्रयोग गर्नुहोस्’। ‘युज नेक्स्ट डोर’लाई हामीले ‘अर्काे ढोका प्रयोग गर्नुहोस्’ भन्ने बुझ्यौं। ‘अर्काे ढोकाबाट आउनुहोस्’ भन्न जानेनौं।

यसको मतलब अब हामीले ‘कुन कलमले लेख्नुहुन्छ’, ‘कुन मसी चलाउनुहुन्छ’, ‘कुन चामल खानुहुन्छ’ भन्नु भएन। ‘कुन कलम, कुन मसी, कुन चामल प्रयोग गर्नुहुन्छ’ भन्ने भयौं। यो हाँसोलाग्दो वाक्य संरचना हो र हाम्रो मौलिक होइन। तर, हामी हाँस्दैनौं र गम्भीर भएर भन्छौं- ‘मास्क प्रयोग गर्नुहोस्’। हामी भन्दैनौं- ‘मास्क लगाउनुहोस्’।

नेपाली भाषामा प्राविधिक र वैज्ञानिक विषयका शब्दहरूको कमी होला वा पारिभाषिक एकल शब्दको अभाव होला र चलनचल्तीमा आइसकेका अंग्रेजी शब्दहरूको विकल्प पनि नहोला, तर त्यसो भन्दैमा हामीले हरेक कुराका लागि अंग्रेजीमै आश्रित हुनुपर्ने अवस्था पनि छैन।

कतिपय मानिस खोजिपस्न अल्छी मानेर अंग्रेजी शब्द नै नेपालीमा घुसाइदिन्छन्। कोही अंग्रेजी भाषामा आफ्नो दखल देखाउन पनि त्यसो गर्छन्। अंग्रेजी शब्दलाई दायाँबायाँ केही नसोची छर्ने काम मूलतः दुई थरीबाट भइरहेछ- एउटा मीडिया (विद्युतीय र छापा दुवै) र पढालेखा बौद्धिक वर्गबाट जो अंग्रेजीमा सोचेर नेपालीमा लेख्ने गर्छन्। उनीहरूको बोलाइमा आधासरो अंग्रेजी मिसिएकै पाइन्छ र त्यसैको प्रतिविम्ब लेखाइमा पनि झल्किन्छ। यसो गर्दा दुवै थरीले आफूले लेखेको कुराको सम्प्रेषणीयता कस्तो हुन्छ र त्यसले नेपाली भाषालाई कति हानि पु‍र्‍याइरहेको हुन्छ, त्यो बिर्सेका हुन्छन्।

अंग्रेजी विशाल शब्दभण्डार र विकासक्रमको लामो इतिहास भएको समृद्ध भाषा हो। विश्वमै यसको दबदबा छ। यसैले यसको आकर्षणमा पर्नु र यसबाट प्रभावित हुनु अस्वाभाविक होइन। तर, आफ्नो मौलिकता र निजी सत्व भन्ने कुरा पनि केही हुन्छ। हरेक भाषाको आफ्नै वैशिष्ट्य हुन्छ, सौन्दर्य र शौष्ठव हुन्छ। आफ्नै स्वरूप, ध्वनि र सुगन्ध हुन्छ। हाम्रो भाषामा पनि छ। त्यस मौलिक स्वरूपलाई यही रीतले बिटुल्याउँदै जाने हो भने यो आँग्ल-नेपालीमा परिणत हुन बेर लाग्नेछैन। अंग्रेजीले हामीलाई लतारेको भन्दा पनि हामी आफैं लतारिने प्रवृत्ति प्रदर्शित गरिरहेछौं, उसको प्रभाव र शान देखेर।

यस्तै प्रवृत्तिलाई हो महापण्डित राहुल सांकृत्यायनले ‘दिमागी गुलामी’ भनेर इंगित गरेका। यस्तो मानसिक दासतालाई शिरोपर गरेर हामी लत्रिरहने कि आफ्नो निजत्वको संवर्द्धन गर्ने, त्यो हाम्रै हातमा छ।

हिमालबाट

शनिबार, १२ भदौ, २०७८, बिहानको ०९:४० बजे

सम्बन्धित खवर