प्रतिगमन विरुद जुद्न वाइसीएललाई प्रचण्डको निर्दैशन

१२ भाद्र, काठमाडौँ /     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रगितमनको खतरा अझै पनि रहेको बताएका छन् । उनले आफूहरुले जित्नै लागेका बेला प्रतिगमनले घन हान्ने गरेको बताएका छन् । शनिवार वाइसिएल नेपालको राष्ट्रिय सम्मेलनलाई काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र आफूले प्रतिगमन पराजित भयो भनेर लड्डु खाएको तर त्यो लड्डुको स्वाद जान नपाउँदै घनले ड्याम्म हानिएको बताए ।

पुस ५ मा तत्कालीन ओली सरकारले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड र माधवकुमार नेपालले त्यसलाई प्रतिगमन भन्दै सडक आन्दोलन गरेका थिए । सर्वोच्च अदालतले फागुन ११ मा प्रतिनिधिसभा विघटनलाई बदर गर्ने फैसला गरेपछि सो दिन चितवनमा रहेका प्रचण्ड र नेपालले लड्डु खाएका थिए । तर, फागुन २३ मा सर्वोच्च अदालतले तत्कालिन नेकपालाई खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि दुबैजनालाई घनले हाने जस्तै भएको थियो । प्रचण्डले शनिबार सोही सन्दर्भ स्मरण गरेका हुन् ।

शनिबार सम्बोधनका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि पनि प्रचण्डले आक्रोश पोखे । उनले ओली प्रवृति भने ठग प्रवृत्ति भएको बताए । उनले ओलीको चाला ठग्ने रहेको आफूहरुले थाहा नै नपाउँदा तमसुक हेरेर बस्नुपरेको बताए । उनले भने, ‘हामी त जे गर्ने भन्यो त्यो गर्ने हौं, उहाँ त जे गर्छु भन्ने त्यो नगर्ने ठग प्रवृतिको हुनुहुँदो रहेछ । तमसुकमा सही गरियो, त्यहि हेरेर बसियो ।’ आफू तमसुक हेरेर बसेको तर ओलीले प्रधानमन्त्री पद् पड्काएको बताए ।
माओवादी केन्द्र र एमालेबीच एकीकरण हुँदा आलोपालो प्रधानमन्त्री बन्ने कागज गरिए पनि ओलीले त्यसलाई कार्यान्वयन नगरेको विषयलाई प्रचण्डले शनिबार तमसुक हेरेर बसेको बताएका हुन् । ओलीसँगको संगले आफूलाई ज्ञान प्राप्त भएकोसमेत प्रचण्डले बताएका छन् । उनले ओली ठग हुन् भन्ने प्राप्त भएको बताएका हुन् । अहिलेको गठबन्धनका नेताहरुले आफूलाई ओलीसँग मिलेर के पाउनु भयो भनेर प्रश्न गरेको भन्दै आफूले ज्ञान पाएँ भनेर जवाफ दिने गरेको बताए ।

शनिबार, १२ भदौ, २०७८, रातीको ०९:०७ बजे

सम्बन्धित खवर