तडकभडक र खर्चिलो तीज कार्यक्रम नगर्न प्रशासनको आग्रह

   झापा / देशभर पछिल्लो समय हरितालिका तीज पर्वको नाममा विकृति विसङ्गति बढ्न थालेको छ। आधुनिक समाजमा तीजको महत्त्वलाई जुन रूपले व्याख्या गरिए पनि पौराणिक कालदेखि चलिआएको धार्मिक परम्परा हो।

सृष्टि र समाज चल्नका लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाहपश्चात् आफ्नो श्रीमानको साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनुपर्ने हुन्छ।

यसरी आफू जन्मेको घर परिवारजन, इष्टमित्र र समाज चटक्क छोडी पराई घरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा तीज पर्व मनाउने चलन छ।

तर, अहिले आएर कथित सहर बजारमा साउनको आरम्भसँगै भड्किला तथा उत्ताउला पहिरनसहित दिनहुँ जसो पार्टी प्यालेसमा हुने भोज भतेर, नक्कली नै सही, प्रतिस्पर्धामा महिलाले पहिरने गरगहना, अनावश्यक र अस्वाभाविक शृंगारपटारजस्ता कुराले तीज महिलाको महान् चाड हो भन्ने कुरालाई बिर्साइदिएको पाइन्छ।

हुने खानेहरूलाई त यसले राम्रै गर्ला अथवा नराम्रो गरे यसको फल उनैले भोग्लान्। जसले तीजै नआई तीज मनाउँछन्। तर, हुँदा खाने नेपाली समाजका अन्य महिलालाई भने यो अनावश्यक तडकभडक र देखासिकीले नकारात्मक असर पारेको छ।

यसै मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय झापाले ढिलै भएपनि तीज पर्वको नाममा बढेको विकृति-विसङ्गति रोक्न एक्सन लिने भएको छ।

प्रशासन कार्यालयले तामझाम, तडकभडक र खर्चिलो हुने गरी तीज कार्यक्रमको आयोजना गरे कानुनबमोजिम कारबाही हुने चेतावनी दिएको छ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले एक सूचना जारी गरी प्रचलित कानुनको विपरीत हुने गरी कोही कसैले अनावश्यक तामझाम, तडकभडक र खर्चिलो हुने गरी तीज कार्यक्रमको आयोजना गरे/गराएमा कानुनबमोजिम कारबाही हुने जानकारी दिएका छन्।

सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ र सामाजिक व्यवहार (सुधार) नियमावलीले धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्वहरू मनाउने विषयलाई व्यवस्थित र नियमित गरेको छ।

तसर्थ आफ्नो परम्परा एवं सामाजिक रीतिरिवाजलाई निरन्तरता दिने तथा संवर्द्धन गर्ने बाहेक अन्य कुनै पनि खालका खर्चिला तथा महँगा तीजसँग सम्बन्धित कार्यक्रम सञ्चालन नगर्न/नगराउनु हुन सम्पूर्ण जिल्लाबासीहरूमा प्रजिअ रिजालले अनुरोध गरेका छन्।

उनले पर्व मनाउने सन्दर्भमा अनावश्यक तडकभडक र फजुल खर्च नियन्त्रण गरी असल संस्कारको विकास गर्दै जाने कार्यमा राजनीतिक दल, नागरिक समाज, पेसागत सङ्घ संस्थाहरू, सञ्चारकर्मीहरू र महिला सञ्जाल तथा सम्पूर्ण जिल्लाबासीहरूबाट सहयोगको अपेक्षा गरेका छन्।

आइतबार, १२ भदौ, २०७९, साँझको ०६:५१ बजे

सम्बन्धित खवर