नेपाल पक्षबाट को को बन्दैछन् मन्त्री ? हेर्नुहोस् नाम सहित

नेकपा (एकीकृत समाजवादी) पार्टीले देउवा सरकारमा सहभागी हुने मन्त्रीहरुको टुङ्गो लगाएको छ । स्रोतका अनुसार अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट मन्त्री बनाउन नेताहरुको सूची प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन् ।
स्रोतका अनुसार ५ जनाको नाम सिफारिस गरिएको छ । विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले र जीवनराम श्रेष्ठको नाम देउवालाई बुझाइसकेको स्रोतको दावी छ । मन्त्रीका लागि सिफारिसमा परेका एक नेताले भने, ‘कुरा यही हो । शपथ भएपछि निश्चित होला ।’
नेकपा एसबाट खतिवडाले नेतृत्व गर्ने चर्चा छ । तर मन्त्रीहरुको नाम सिफारिस भएको विषयमा आफूलाई औपचारिक जानकारी नआएको खतिवडाले बताए । उनले भने, ‘मैले अध्यक्ष कमरेडसँग कुरा गर्न पाएको छैन ।’ तर उनले नाम सिफारिस भएको विषय अस्वीकार पनि गरेनन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको अढाई महिना भइसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । सत्ता गठबन्धन दलहरुबीच राजनीतिक दलसम्बन्धी अध्यादेशमा किचलो हुँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो ।

प्रधानमन्त्री देउवाले एक दुई दिनभित्रै मन्त्रिपरिषद विस्तार गर्ने कांग्रेस नेता रमेश लेखकले जानकारी दिएका छन् । उता गठबन्धनको अर्को दल नेकपा माओवादी केन्द्रले पनि सोमबारै स्थायी कमिटी बैठक गरेर मन्त्रिपरिषद् विस्तारको पहल गर्ने निर्णय गरेको छ । राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिस्थापन गरेर मन्त्रिपरिषद विस्तार गर्ने तयारी भइरहेको छ ।

मङ्गलबार, १२ असोज, २०७८, बिहानको ०७:२७ बजे

सम्बन्धित खवर