कलशको ८ औँ बार्षीक  साधारणसभा सम्पन्न – ज्येष्ठनागरीक सहित सय जना सम्मानित

 

दमक ६ स्थित कलश बचत तथा ऋण सहकारी संस्थाले आफ्नो ८ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । हिजो दमकको मारवाडी सेवा समितिको हलमा सम्पन्न भएको आठौँ बार्षिक साधारणसभाले ज्येष्ठ शेयर सदस्य तथा उत्कृष्ट कारोबार गर्ने र बाल बचत गर्ने सदस्यहरु सहित सयजनालाइ सम्मान तथा पुरस्कार प्रदान गरेको छ । जिल्ला सहकारी संघका सदस्य प्रेम प्रसाद कोइरालाको प्रमुख आतिथ्य र संस्थाका अध्यक्ष महेश घिमिरेको अध्यक्षतामा सम्पन्न भएको साधारणसभा सो सम्मान तथा पुरस्कार प्रदान गरिएको संस्थाका व्यवस्थापक शेखर बाबु भट्टराईले जानकारी दिए ।

त्यस अवसरमा दमक ६ का वडाध्यक्ष टेकबहादुर थापा, दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल, नवनिर्वा्चित अध्यक्ष गोकुल श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाइँ, राष्ट्रिय सहकारी बैंक दमक शाखाका प्रवन्धक विवेक डाँगी, जिल्ला सहकारी संघका लेखा सदस्य चुडामणी ओझा, सामाजिक व्यक्तित्व विजय प्रसाद बराल लगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका उपाध्यक्ष युवराज खनाल ( सागर)ले स्वागत मन्तव्य राखेको सो सभाको सञ्चालन सचिव पदमप्रसाद न्यौपानेले गरेका थिए ।

संस्थाको शेयर पुँजी पौने २ करोड
साधारणसभामा अध्यक्षको तर्फबाट प्रतिवेदन पेश गर्दै महेश घिमिरेले अघिल्लो आर्थिक बर्षको तुलनामा संस्थाले गत आर्थिक बर्षमा आफ्नो कारोबारमा उल्लेख्य बृद्धि गरेको तथ्याङक सार्वजनिक गर्दै संस्थाको शेयर पुँजी गत बर्षको तुलनामा झण्डै २५ लाख रुपैयाँ बृद्धि भएको र हाल सो सेयर पुँजि करोड ७१ लाख ६६ हजार रुपैयाँ पुगेको जानकारी दिएका थिए । त्यसैगरी आगामी आर्थिक बर्षमा शेयर पुँजी २ करोड २५ लाख पुरयाउने लक्ष्य लिइएको उनले बताए । संस्थाको ऋण लगानीमा समेत अघिल्लो बर्षको तुलनामा गत आर्थिक बर्षमा २ करोड बृद्धि गर्दै १२ करोड रुपैयाँ पुरयाएको प्रतिवेदनमा उल्लेख छ । कलस सहकारीले बचत तथा ऋणका अतिरिक्त सामाजिक तथा व्यवसायिक क्षेत्रमा समेत कारोबार गर्दै आएको छ ।

शनिबार, ११ असोज, २०७६, दिउँसोको १२:५३ बजे

सम्बन्धित खवर