निरन्तर बर्षका कारण पूर्वाञ्चल गोल्डकप स्थगित –  कार्तिक २ देखी ९ सम्म पुन संचालन गरिने

बिर्तामोड । खराब मौसमका कारण झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने भनिएकोे अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्रा्ष्ट्रिय गोल्डकप स्थगित छ । यही असोज ११ गतेदेखि १८ गतेसम्म गोल्डकप हुने मिति तय गरेर खेल तालिका सार्वजनिक गरिएको थियो । निरन्तरको वर्षाका कारण खेल मैदानमा पानी र हिलो जमेर खेलतालिका नै प्रभाबित भएपछि निर्धारित समयमा गोल्डकपका खेलहरु सञ्चालन गर्न असमर्थ रहेको भन्दै आयोजक जायोन स्पोर्टस् क्लबले बिहीबार रंगशालामै पत्रकार सम्मेलन गरेर स्थगित भएको जनाएको हो ।

आयोजक क्लबका प्रवक्ता अविनाश राईले गोल्डकपको सम्पूर्ण तयारी गरिसकेछि खराब मौसमकै कारण प्रतियोगिता स्थगन गर्नु परेको बताए । मैदानको अवलोकनपछि खेल प्राविधिकहरुको निचोड र मौसमविद्को पूर्वानुमानलाई मध्यनजर गरी खेल स्थगित गरिएको जानकारी दिँदै प्रवक्ता राईले खेल सञ्चालनका लागि कात्तिक २ गतेदेखि ९ गतेसम्म अर्को मिति तय गरिएको पनि बताए । उनका अनुसार अर्को मितिका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)लाई पत्राचार गरिएको छ । कात्तिक २ गतेदेखि अर्को मिति तय भएको खण्डमा थ्री स्टार क्लब बंगलादेश जाने भएकाले मनाङ मस्र्याङदी क्लब वा सशस्त्र प्रहरी बलको एपीएफ टीम मैदानमा उतार्ने तयारी गरिएको पनि उनले बताए ।प्राविधिकहरुका अनुसार मैदानमा पानी जमेकाले खेल सञ्चालन गर्दा हिलो हुने, खेलाडी लड्न गइ चोटपटक लाग्ने सम्भावना बढी भएकाले पनि खेल स्थगित गरिएको उनको भनाइ थियो । प्रतियोगिताको तयारी पूर्ण अवस्थामा भएर पनि खेल स्थगित गर्नुपर्दा दुःख लागेको उनले सुनाए । तर, कात्तिकमा खेल सञ्चालन गर्दा पनि दर्शक नघट्ने उनले दाबी गरेका छन् । तिहार अगाडि नै सक्नेगरी लक्ष्य लिइएको उनले बताए । प्रतियोगिताको फाइनल खेल काग तिहारको दिन पर्नेछ ।आयोजक क्लबका अध्यक्ष भक्त खवासले सबैको विश्वास जितेर तयारी सकिएको अवस्थामा खेल मौसमका कारण रोकिँदा नमज्जा लागेको बताए । अब अर्को मितिमा खेल हुने भएपछि केही आर्थिक क्षति व्यहोरेर भए पनि फेरि तयारी जुट्ने उनको भनाइ छ ।असोज ११ गतेदेखि हुने भनिएको गोल्डकपमा यसअघि चार वटा ए डिभिजन क्लब, मोफसलका दुई र भारतका दुई टिमले सहभागिता जनाउने खेल तालिका सार्वजनिक गरिएको थियो । जसमा झापा ११ एफसी, नेपाल पुलिस क्लब, भारतको सिक्किम आक्रामक एफसी, असामको मोलवे फुटबल क्लब, संकटा क्लब, विभागीय टोली त्रिभुवन आर्मी, थ्री स्टार क्लब र गोर्खा ब्वाइज रुपन्देही रहेका थिए ।गोल्डकप विजेता टोलीले १२ लाख ५० हजार पाउँदा उपविजेताले नगद ६ लाख २५ हजार पाउनेछ । प्रत्येक खेलको म्यान अफ दी म्याचले १० हजार नगद पाउँदा फाइनल खेलको म्यान अफ दी म्याच खेलाडीले २५ हजार पाउने आयोजकका प्रवक्ता राईले बताए । उनका अनुसार विधागततर्फ ७ वटा पुरस्कारको व्यवस्था गरिएको छ । उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, सर्वा्धिक गोलकर्ता र उदीयमान खेलाडीले जनही १५र१५ हजार पाउने यसअघि नै घोषणा गरिएको थियो ।

शनिबार, ११ असोज, २०७६, दिउँसोको ०२:२० बजे

सम्बन्धित खवर